नेकपा (एमाले) को आगामी साता काठमाडौँमा आयोजना हुने ११औँ महाधिवेशनमा विष्णु पौडेल वरिष्ठ उपाध्यक्ष चयन हुने देखिएको छ। त्यसका लागि एमालेले विधानमा फेरि वरिष्ठ उपाध्यक्ष पद राख्ने तयारी गरेको छ।
समानान्तर प्यानल नै बनाएर केपी शर्मा ओलीलाई टक्कर दिने तयारीमा रहेका विद्या भण्डारी– ईश्वर पोखरेल समूहसँग निरन्तर संवादमा रहेका पौडेल केही दिनअघि मात्रै ओलीको पक्षमा खुलेका थिए। एमाले भित्रको शक्ति सन्तुलनमा निर्णायक मानिएका पौडेल, पृथ्वीसुब्बा गुरुङ पनि खुलेपछि ओली पक्ष विद्या–ईश्वर पक्षभन्दा निकै बलियो भएको मानिएको छ।
आफ्नो पक्षका र केही असन्तुष्ट नेताहरूको समेत व्यवस्थापन गर्नु पर्ने भएकाले अध्यक्ष ओलीले विधान संशोधनको तयारी गरेका हुन्। मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन भएपछि भोलिपल्ट २८ गते काठमाडौँको भृकुटी मण्डपमा सुरु हुने बन्दसत्रको सुरुवातमै विधान संशोधन गर्ने तयारी छ।
एमालेका एक उच्च नेताका अनुसार केन्द्रीय सदस्यहरूको संख्या दुई सय ५१ बाट बढाएर फेरि तीन सय एक पुर्याउने विषयमा सहमति जुटिसकेको छ। त्यस्तै, पोलिटब्यूरो सदस्यहरूको संख्या ९९ बाट बढाएर एक सय एक र स्थायी कमिटी सदस्यको संख्या ४५ बाट घटाएर ४१ बनाउने तयारी छ। गत भदौ २०-२२ गतेसम्म ललितपुरमा भएको दोस्रो विधान महाधिवेशनले विधान संशोधन गर्दै स्थायी कमिटी नराख्ने र १५ सदस्यीय सचिवालय बनाउने निर्णय पारित गरेको थियो।
ती नेताका अनुसार विधान संशोधन गरेर एमालेका पदाधिकारीको संख्या पहिलेकै १९ कायम गर्ने तयारी छ। त्यसो गर्दा अहिले ओलीले पदाधिकारी थप गर्नेबारे दुई विकल्पमा छलफल गरिरहेका छन्।
पहिलो विकल्प, वरिष्ठसहित दुई उपाध्यक्ष थप गरेर अहिलेको तीनबाट उपाध्यक्षको संख्या पाँच पुर्याउने। र, दुई सचिव थपेर सचिवको संख्या नौ पुर्याउने।
वरिष्ठ उपाध्यक्ष पद राख्न ओली आफै चाहिँ त्यत्ति सकारात्मक छैनन्। तर धेरै नेताहरूको सुझाव वरिष्ठ उपाध्यक्ष राख्नुपर्छ भन्ने रहेकाले ओली त्यसमा सकारात्मक हुँदै गएको उनलाई भक्तपुरको गुन्डुमा भेटेर फर्किने नेताहरूको भनाइ छ।
वरिष्ठ उपाध्यक्ष पद फेरि सिर्जना गर्दा ओली पक्षबाट त्यसको एक मात्र उम्मेदवार विष्णु पौडेल हुन्। पौडेलले पनि आफूले अध्यक्षमा ओलीलाई समर्थन गर्ने र महासचिवको दाबेदार आफु नरहेकाले अन्य पदमा उठ्ने सार्वजनिक रुपमा बताइसकेका छन्।
वरिष्ठ उपाध्यक्ष पद नराख्दा रामबहादुर थापा वरिष्ठताका आधारमा नम्बर एक उपाध्यक्ष हुनेछन्, उनी माओवादीबाट एमालेमा आएका हुनाले यो कुरा एमालेका धेरै नेताहरूलाई स्वाभाविक लागेको छैन। त्यसैले पौडेललाई ‘राइट म्यान, राइट पोजिसन’ का रुपमा व्यवस्थापन गर्न र ओली पछिको वरियतामा राख्न वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने तयारी छ।
वरिष्ठसहित दुई जना उपाध्यक्ष थप्दा अहिलेका पौडेल, थापा, गुरु बरालपछि दुई जना थपिने छन्। शंकर पोखरेल नै महासचिव बन्ने अवस्थमा महासचिवका दाबेदार प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ उपाध्यक्षमा थपिने सम्भावना छ।
अहिलेका तीनमध्ये दुई जना उपमहासचिव ज्ञवाली र गुरुङ उपाध्यक्षमा जाँदा त्यो ठाउँमा अहिले सचिव रहेका रघुवीर महासेठ र लेखराज भट्ट आउने सम्भावना छ।
दोस्रो विकल्प, १५ जना पदाधिकारीबाट १९ जना बनाउँदा चार जना सचिव मात्र थप्ने अर्काे विकल्पमा पनि छलफल भइरहेको छ।
खासगरी एमालेका महासचिव शंकर पोखरेल लगायतले यो विकल्पमा जोड दिइरहेका छन्। यो विकल्पमा जाँदा सचिवको संख्या सातबाट बढेर ११ पुग्छ, तर उपाध्यक्ष तीन जना मात्रै रहन्छन् जुन स्वाभाविक देखिँदैन भन्ने अर्कोेथरिको तर्क छ।
पदाधिकारीको पहिलो विकल्पमा जाँदा नौ र दोस्रोमा जाँदा ११ सचिव हुनेछन्। अहिले सात जना सचिवमध्ये चार जना पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र लेखराज भट्ट ओलीतिर छन्। जसमध्ये भट्ट र महासेठ दुई जना उपमहासचिव बन्न गए भने अर्याल र विश्वकर्मा बाँकी रहन्छन्।
त्यसो हुँदा ११ जना सचिवको व्यवस्था हुँदा ओलीले नौ जना नयाँ अनुहार ल्याउन पाउने छन् भने नौ जनाको व्यवस्था हुँदा सात जना नयाँ आउनेछन्।
तर, ओली पक्षबाटै अहिले सचिवका धेरै दाबेदार छन्। भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, काशीनाथ अधिकारी, खगराज अधिकारी, गोरख बोगटी, यामलाल कँडेल लगायत दर्जन बढीले सचिव बन्न लबिइङ गरिरहेका छन्।
Shares

प्रतिक्रिया