राजनीति


अल्जाइमरका गम्भीर बिरामी छन् पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका रामशरण महत

अल्जाइमरका गम्भीर बिरामी छन् पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका रामशरण महत

पूर्वअर्थमन्त्री डा. रामशरण महत।


नेपालखबर
मंसिर २१, २०८२ आइतबार २२:३८, काठमाडौँ

अल्जाइमरका कारण केही वर्षदेखि गम्भीर स्वास्थ्य समस्या झेलिरहेका पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। 

अख्तियारले आइतबार विशेष अदालतमा दर्ता गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दामा डा. महतलाई पनि प्रतिवादी बनाएको छ। २०७१ सालमा अर्थमन्त्री हुँदा महतले आयोजना कार्यान्वयन गर्न कारबाही अगाडि बढाउन नेपाल सरकार मन्त्रिपरिषद्‌को स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने निर्णय गरे गराएको अख्तियारको दाबी छ। 

पटकपटक अर्थमन्त्री भएका महत पछिल्लो चार वर्षयता भने सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। उनी केही वर्षदेखि सम्झना कमजोर हुने, मान्छे नचिन्ने, बिर्सनेजस्ता अल्जाइमर समस्याबाट पीडित छन्। 

डा. महतका नजिकका कांग्रेस नेताहरूका अनुसार, उनी अल्जाइमरबाट पीडित छन्। यो समस्या गहिरिँदै गएको छ। पछिल्लो समय त भेट्न गएका मानिसलाई पनि डा. महतले नचिन्ने गरेको कांग्रेस नेताहरू बताउँछन्। कहिलेकाहीँ परिवारकै सदस्यलाई समेत चिन्न छोडेका छन्।

उनलाई २०४६ सालपछि देशलाई खुला अर्थतन्त्रतर्फ डोर्‍याएको श्रेय दिने गरिन्छ। उनी २०४८ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए। त्यतिबेला उनले निजीकरणमा जोड दिएका थिए। 

त्यसपछि डा. महत २०५१ सालमा अर्थमन्त्री बनेका थिए। त्यसयता ६ पटक अर्थमन्त्री बनिसकेका छन्। त्यस्तै, उनी एक पटक परराष्ट्रमन्त्री भएका थिए। 

अर्थमन्त्रीका रुपमा उनले आर्थिक सुधारका काम गरेका थिए। देशलाई खुला र उदार अर्थतन्त्रको युगमा प्रवेश गराउन महत्त्वपूर्ण भूमिका खेलेको भनेर उनको प्रशंसा गरिँदै आएको छ। 

सन् २०१६ मा बेलायतको ‘द फाइनान्सियल टाइम’को सह-प्रकाशन ‘दि बैंकर म्यागेजिन’ले उत्कृष्ट अर्थमन्त्रीको रूपमा डा. महतलाई पुरस्कृत गरेको थियो। 

नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेका ७५ वर्षीय महत पछिल्लो समय भने स्वास्थ्य समस्यका कारण राजनीतिबाट टाढा छन्। काठमाडौंको मन्डिखाटारको पिपलबोटस्थित घरमै स्वास्थ्य लाभ गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad