नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकले पार्टी विभाजनलाई इतिहासकै एउटा दुखद मोडको संज्ञा दिएका छन्। शेरबहादुर देउवा पक्षबाट वार्ता टोलीका सदस्य समेत रहेका लेखकले चाहेर पनि यो विभाजनलाई जोगाउन नसकेको बताए।
‘नेपाली कांग्रेस आज जुन अप्रिय स्थितिमा पुगेको छ, यो वास्तवमा दुखदायी अवस्था हो,’ नेपालखबर ‘तत्कालै’मा आइपुगेका लेखकले भने, ‘जे भयो, राम्रो भएन। नेपाली कांग्रेस विभाजित भएको अवस्थामा पुगेको छ। यो दुखद हो, अप्रिय हो। हामीले यसलाई रोक्न चाहँदाचाहँदै पनि सकेनौँ।’
हामीले लेखकलाई सोध्यौँ– ‘शेरबहादुर देउवाको पक्षबाट वार्ता टोलीको मुख्य सदस्य भएर काम गरेको नाताले यो असफलतामा तपाईं र संस्थापन पक्षको दम्भ कति जिम्मेवार छ?’
जवाफमा उनले ‘दम्भ’का कारण पार्टी फुटेको भन्ने आरोपलाई अस्वीकार गर्दै आफूले यस्तो परिणामको भविष्यवाणी पहिले नै गरेको दाबी गरे।
‘मैले तीन महिनापहिला जब यो विशेष महाधिवेशनको विषय नेपाली कांग्रेसमा प्रवेश गर्यो, त्यसको प्रारम्भिक दिनमै के भनेको थिएँ भने नेपाली कांग्रेस यदि विशेष महाधिवेशनमा गयो भने पार्टी विभाजन हुन्छ। किनभने यो महाधिवेशन बेमेलको हुनेवाला छ।’

पार्टीभित्र गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले उठाएको ‘पुस्तान्तरण’ र नेतृत्व परिवर्तनको मागका सम्बन्धमा पनि लेखकले स्पष्ट पारे। सभापति देउवा नेतृत्व छोड्न तयार रहेको तर प्रक्रियागत ढिलाइ भएको उनको तर्क छ।
‘शेरबहादुर देउवाले म अब यो पार्टीको नेता भइरहन्छु, सभापति रहिरहन्छु, म छाड्दै छाड्दिनँ भन्नुभएको हो र? होइन नि त। उहाँले त यो विशेष महाधिवेशन आउनुभन्दा पहिला नै ‘अब यो मेरो अन्तिम कार्यकाल हो। यसपछि म नेपाली कांग्रेसको सभापति बन्दिनँ’ भन्नुभएकै थियो।’
भृकुटीमण्डपमा विशेष महाधिवेशनको नेतृत्व गरिरहेका गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरसँग वार्ता टोलीमा हुँदा सहमतिका लागि प्रयास गरे पनि प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गर्ने विषयमा कुरा मिल्न नसकेको उनले खुलाए।
‘निर्वाचनमा जानुभन्दा पहिले नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुपर्छ भनेर उहाँहरुले दिनुभएको हो, त्यो सत्य हो,’ उनले भने, ‘त्यसमा कुनै व्यक्तिको, कुनै नेताको नाम थिएन। तर त्यो कुराका लागि पनि त पार्टीभित्र छलफलको समय चाहियो, पार्टीभित्र सहमति त हुनुपर्यो नि। ह्वाट्सएपमा लेखेर पठाएर यो मान्छौ कि मान्दैनौ भनेर सम्भव हुन्छ? सम्भव भएन नि।’

कांग्रेसको यो विवादले समग्र लोकतान्त्रिक पद्धतिमै असर पर्ने लेखकको बुझाइ छ। अब कुन पक्ष आधिकारिक कांग्रेस हो भन्ने विवाद निर्वाचन आयोगले सल्ट्याउने बताउँदै उनले भने, ‘यो झट्ट हेर्दा कांग्रेसभित्रको मात्रै समस्या देखिँदै छ, तर कांग्रेस यो देशको सबैभन्दा ठूलो जिम्मेवार पनि लोकतान्त्रिक पनि पार्टी भएको हुनाले यो समस्या कांग्रेसको मात्रै समस्या होइन। कांग्रेस यो देशको लोकतान्त्रिक पद्धतिसँग जोडिन्छ, यो विषय देशको संविधानसँग जोडिन्छ, राष्ट्रका महत्वपूर्ण सबै आयामहरुसँग जोडिने कुरा भएको हुनाले यसलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ।’
लेखकले पार्टी विभाजनलाई रोक्न नसक्नुमा समयको अभाव, प्राविधिक जटिलता र विशेष महाधिवेशन पक्षधरको हतारोलाई मुख्य कारण मानेका छन्। अबको वैधानिक बाटो निर्वाचन आयोगको निर्णयमा भर पर्ने उनको संकेत छ।
बाँकी के–के भने त उनले? हेर्नुस् उनीसँग गरिएको भिडिओ कुराकानी नेपालखबर ‘तत्कालै’ :
फोटो/भिडिओः विशाल कार्की

प्रतिक्रिया