बुधबार दिउँसोबाट नेपाली कांग्रेसका दुई जना सभापति भएका छन्। शेरबहादुर देउवा यसअघि नै सभापति थिए भने भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनबाट गगन थापा पनि सभापतिमा निर्वाचित हुँदैछन्। विशेष महाधिवेशनबाट थापालाई सर्वसम्मत सभापति चयन गर्ने पक्का छ।
त्यसअघि मंगलबार भृकुटीमण्डपको विशेष महाधिवेशनबाट देउवा नेतृत्वको कार्यसमिति नै भंग भयो। कार्यसमिति भंग गरेर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन आयोगमा पत्र पनि पठाए। उनीहरूको पत्रमा यसअघिको कार्यसमिति भंग भएको र नयाँ कार्य समिति चयनका लागि विशेष महाधिवेशनबाट निर्वाचन प्रक्रिया अगाडि बढिसकेको जानकारी गराएका थिए।
तर बुधबार बिहानै देउवा र दुई महामन्त्री निर्णायक वार्तामा बसे। महामन्त्रीको माग नै देउवाले पद छाड्नु पर्ने भन्ने थियो। सँगै आगामी निर्वाचनमा उनको भूमिका पनि खोस्ने प्रस्ताव महामन्त्रीद्वयले गरे।
आफ्नै अधिकार कटौती गर्ने प्रस्ताव देउवाले मानेनन्। तर छलफल रोकिएको थिएन। दिउँसो विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई लिखित रूपमा आफ्ना पक्षका ८ बुँदे प्रस्ताव पठाए।
लगत्तै ती मध्ये ५ वटा बुँदामा सहमत भएपनि तीन वटा बुँदामा सहमत हुन नसकिने जवाफसहित यसपछि के गर्ने ८ मिनेट भित्रमा जवाफ दिनु भन्दै विश्वप्रकाशलाई अल्टिमेटम दिए। त्यसको जवाफमा विश्वप्रकाशले पनि ‘सरि दाइ’ भनेर जवाफ पठाएपछि वार्ता टुंगियो।
त्यसपछि सानेपामा सभापति देउवा र दुवै महामन्त्रीबिना सुरु भएको केन्द्रीय समितिको बैठकले महामन्त्री थापा र शर्मासँगै सहमहामन्त्री फरमुल्हा मन्सुरलाई पनि कारबाही गर्ने निर्णय गर्यो।
भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहिभागीहरुलाई फर्किन अपिल गर्यो। तर भृकुटीमण्डपले सानेपाको आदेश टेरेन, बरु छुट्टै नेतृत्व चयनलाई गति दियो। जुन यसअघिबाटै प्रक्रियामा थियो।
सानेपा बैठकले कारबाही गर्ने अधिकार गुमाइसकेको बताउँदै विश्वप्रकाशले सभापति र भावी प्रधानमन्त्रीका रूपमा गगन थापालाई प्रस्ताव गरे। हलले ताली पिटेर स्वागत गर्यो।
पुरै कार्यसमिति भृकुटीमण्डपबाट घोषणाको तयारी छ। उता सानेपा बैठकले भने दुई महामन्त्री र सहमहामन्त्री मन्सुरलाई कारबाही गरेको जानकारी निर्वाचन आयोगमा पठाएको छ। भृकुटीमण्डप महाधिवेशनले नेतृत्व चयन गरेपछि आयोगमा पठाउने छ। त्यसपछि आयोगले कुन कांग्रेसलाई वैधानिकता दिने भन्ने निर्णय गर्नेछ।
अहिलेसम्म दुवै पक्षका दाबी आआफ्ना छन्। सानेपा बैठकमा सहभागीहरू विशेष महाधिवेशनलाई अवैधानिक भन्दै बहुमत केन्द्रीय समितिबाट कारबाही गरेकाले गगन विश्वलाई हटाएर कांग्रेसका आधिकारिकता आफूसँग राख्न खोजिरहेका छन्।
तर गगन–विश्व पक्षको भने बहुमत महाधिवेशन प्रतिनिधिले चुनेकै समिति आधिकारिक हुने भन्दै आयोगमा दाबी गरिरहेका छन्। अब आयोगले विशेष महाधिवेशनलाई वैधता ठान्छ कि ठान्दैन भन्ने कुराले कुन पक्ष सर्वोच्च पुग्ने भन्ने पनि टुंगो लाग्नेछ।
भृकुटीमण्डपमा रहेका केन्द्रीय सदस्य उदय शमशेर जबराले विघटन भइसकेको केन्द्रीय समितिले गरेको कारबाहीको कुनै अर्थ नहुने बताए। उनले गगन थापाले महामन्त्री छाडेर सभापतिमा उम्मेदवारी दर्ता गराइसकेकाले अब उनलाई महामन्त्री भन्दै गरिएको कारबाहीको कुनै अर्थ नरहने बताए।
देउवा पक्षका केन्द्रीय सदस्य नैनसिंह महरले भने केन्द्रीय समितिका बहुमत पदाधिकारी र केन्द्रीय सदस्यहरूको हस्ताक्षर र समर्थन आफूहरूसँगै सुरक्षित रहेको भन्दै आफ्नै निर्णय आधिकारिक हुने दाबी गर्छन्।
संविधानविद् चन्द्रकान्त ज्ञवालीले नेपाली कांग्रेसको विधान अनुसार ४० प्रतिशतले विशेष महाधिवेशन माग गर्न सक्ने भएपनि ५४ प्रतिशतले माग गरेकाले विशेष महाधिवेशन वैधानिक रहेको दाबी गर्छन्।
यसअघि ५४ प्रतिशतसहित विशेष महाधिवेशन बोलाउन माग गरिए पनि देउवा पक्षले विशेष महाधिवेशन नबोलाई नियमित महाधिवेशन नै पुसमा तोकेको थियो। तर उक्त अवधिमा पनि नियमित महाधिवेशन हुन सकेन।
संस्थापन पक्षले नबोलाएपछि कुनै पनि केन्द्रीय प्रतिनिधिले बोलाउन सक्ने विधानमै उल्लेख भएकाले अहिले महामन्त्री थापा र विश्वप्रकाशले बोलाएका थिए। विशेष महाधिवेशनले पहिलेको केन्द्रीय समिति भंग गरिसकेको छ।
विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि ३० दिनभित्र आफ्नो दलको नाम, चुनाव चिन्ह र दलको झन्डा बारे आयोगमा जानकारी गराउन पर्ने व्यवस्था छ। त्यसरी गगन थापा नेतृत्वले जानकारी गराएपछि आयोगले विवादको टुंगो लगाउनु पर्नेछ। यस्तै विशेष महाधिवेशनबाट चुनिने नेतृत्वले विवरण अद्यावधिक गरिपाऊँ भन्दै निवेदन पनि दिन सक्छ।
तर आयोगले यो निर्णय गरिसकेपछि निर्णयमा चित्त नबुझ्ने पक्ष रिट लिएर सर्वोच्च जान सक्ने ज्ञवालीले बताए। त्यसपछि सर्वोच्च अदालतले संवैधानिक र कानुनी परीक्षण गर्ने र अन्तिम फैसला गर्नेछ।
फैसला आउन समय लाग्ने भएकाले कांग्रेसभित्रको झगडाले फागुन २१ को निर्वाचन समेत प्रभावित हुने सम्भावना बढेको छ।
Shares

प्रतिक्रिया