मधेस प्रदेशको चुनावी यात्रामा रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कांग्रेस सभापति गगनकुमार थापा उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर ४ मा नजाने भएका छन्।
मंगलबार सप्तरीबाट मधेस प्रदेशका जिल्लामा चुनावी अभियान सुरु गरेका बालेन गएराति बर्दिबासमा आएर बास बसेका छन्।
हिजो सप्तरी, सिराहा, धनुषा र महोत्तरीका विभिन्न ठाउँमा पुगेर रास्वपाको पक्षमा मत मागेका बालेन बुधबार बिहानदेखि सर्लाहीसहित बाँकी मधेसका जिल्लाको यात्रामा निस्कँदैछन्।
सर्लाही ४ मा रास्वपाले पूर्वकांग्रेस नेता डा.अमरेश सिंहलाई उम्मेदवार बनाएको छ। सर्लाही ४ बाट तीनपटक लगातार चुनाव जितेका सिंह गगनको उम्मेदवारीले दबाबमा छन्।
सिंहले आफ्नो क्षेत्रमा बालेनलाई ल्याएर रास्वपाको पक्षमा माहोल बनाउने प्रयास गरिरहेका छन्।
सिंहले गएराति सामाजिक सञ्जालमा बालेन बुधबार आफू उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर ४ का विभिन्न ठाउँमा आउने भन्दै कार्यक्रम तालिका नै सार्वजनिक गरेका थिए।

तर, आज बालेन सर्लाही आए पनि अमरेश सिंह उम्मेदवार रहेको क्षेत्रमा जाने तालिका नरहेको रास्वपा सर्लाहीका सभापति सरोज बानियाँले जानकारी दिए।
गगन थापा र अमरेश सिंहबीच प्रतिस्पर्धा हुन लागेको सर्लाही ४ को भूगोल बरहथवाबाट दक्षिणतर्फ नेपाल-भारत सीमासम्मै पर्छ।
‘बालेन सर्लाही १ र ३ नम्बर क्षेत्रमा मात्रै आज पुग्नुहुन्छ। बरहथवाबाट तल (दक्षिणतिर) जाने कार्यक्रम राखिएको छैन,’ केहीबेरअघि बानियाँले नेपालखबरसँग भने, ‘दोस्रो चरणमा सभापति रवि लामिछाने र बालेनलाई सँगै ल्याएर सर्लाहीका सबै क्षेत्रमा कार्यक्रम गर्ने हो कि भन्ने कुराकानी पनि चल्दैछ। त्यतिबेला चाहिँ सर्लाही ४ सहितका क्षेत्रमा आमासभा नै हुनसक्छ।’
बालेनको सचिवालयले गएराति जारी गरेको आजको कार्यक्रम सेड्युलमा पनि सर्लाही २ र ४ नम्बर क्षेत्रमा पुग्ने कार्यक्रम राखेको छैन।
उनी आज सर्लाहीको लालबन्दी, हरिवन र बरहथवा जाने तालिका मात्रै बालेनको सचिवालयले सार्वजनिक गरेको छ। अमरेश सिंहले बालेनको सचिवालयसँग समन्वय नगरि आफूखुसी आफ्नो क्षेत्रमा कार्यक्रम बनाएको हुनसक्ने रास्वपाका एक नेताले बताए।

बालेन आफू उम्मेदवार रहेको झापा ५ का कार्यक्रम छाडेर हिजाेदेखि मधेसका जिल्ला प्रवेश गरेका हुन्।
उनी पुगेका ठाउँमा समर्थकले अबिर र पुष्पगुच्छाले स्वागत गर्ने गरेका छन्। तर, बालेनले कतै सार्वजनिक समारोहमा बोलेका छैनन्।
रास्वपा कार्यकर्ता तथा समर्थकले उनको गाडीमा अबिर र पुष्पगुच्छा फाल्दै स्वागत गर्ने गरेका छन्। चुनावी अभियानमा रहेका बालेनले स्थानीय बासिन्दासँग कुराकानी पनि गरेका छैनन्। उनी घण्टी बजाउँदै र हात हल्लाउँदै रास्वपाको पक्षमा मत मात्रै मागिरहेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा ५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
ओली र बालेन दुवैले यतिबेला आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर मतदाता रिझाउने प्रयास गरिरहेका छन्।
Shares

प्रतिक्रिया