राजनीति


‘नयाँ’को लहरमा सांसद बाजी मारेका नरेन्द्र: जसले मनोनयनअघि मात्रै छाडेका थिए प्रचण्डको साथ

नारायणकाजीलाई ३३ हजार ५५२ मतान्तरले हराए, एमाले र कांग्रेसको जमानत नै जफत गराए
‘नयाँ’को लहरमा सांसद बाजी मारेका नरेन्द्र: जसले मनोनयनअघि मात्रै छाडेका थिए प्रचण्डको साथ

जनार्दन पोखरेल
फागुन २५, २०८२ सोमबार १६:०, काठमाडौँ

सर्लाही ३ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई प्रतिनिधिसभा निर्वाचनमा फराकिलो मतान्तले पराजित गरेपछि नरेन्द्र साह कलवार यतिबेला चर्चामा छन्।

मनोनयनको अघिल्लो दिन मात्रै पुष्पकमल दाहाल (प्रचण्ड)को साथ छाडेर रास्वपातिर लागेका  साहलाई मधेसमा चलेको ‘बालेन लहर’ले दोस्रोपटक सांसदको कुर्सीमा पुर्‍याएको छ।

‘नयाँलाई हेर्ने’ लहरमा सांसद बनेका कलवार तिनै पात्र हुन्, जो २०७० यताका हरेक निर्वाचनमा उम्मेदवार बन्दै आएका छन्। ०७० मै समानुपातिक सांसद बनिसकेका साहलाई ०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले सर्लाही ३ बाटै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको थियो।

तर, त्यतिबेला उनी नेकपा एमालेका हरि उप्रेतीसँग थोरै मतान्तरले पराजित बने।

उतिबेला उप्रेती ३२ हजार ९३८ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा साहले ३२ हजार १६८ मत मात्रै ल्याएका थिए। 

तर यसपटकको निर्वाचनमा तिनै साहले आफ्ना पूर्वसहकर्मी श्रेष्ठसँगै अघिल्लो निर्वाचनका प्रतिस्पर्धी उप्रेतीलाई पनि नराम्ररी पराजित गरेका छन्।

साह ४६ हजार ८९० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी पूर्व गृहमन्त्रीसमेत रहेका नेकपाका नेता श्रेष्ठले १३ हजार ३३८ मत मात्रै पाएका छन्। उनीहरूबीचको मतान्तर नै ३३ हजार ५५२ छ।

यो चुनावमा पूर्वरक्षामन्त्रीसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य उप्रेतीले त आफ्नो जमानतसमेत जोगाउन सकेनन्।

उप्रेतीले जम्मा ५ हजार ७७६ मतमात्रै पाए। यो लज्जाजनक पराजयसँगै उप्रेतीको तेस्रोपटक सांसद बन्ने प्रयासमा ब्रेक लागेको छ। यहाँ तेस्रो स्थानमा रहेका कांग्रेसका विनोद कुमार खनालले जम्मा ६ हजार ६२४ मत मात्रै ल्याएका छन्। 

देशव्यापी चलेको रास्वपाको लहरमा चुनाव जितेका नरेन्द्र साह पेसाले क्यासिनो व्यवसायी हुन्। उल्लेखनीय कुरा के छ भने, ‘नयाँलाई हेर्ने’ लहरमा चुनाव जितेका साहले २०७० देखिका सबै चुनाव लड्दै आएका छन्।

०७० को दोस्रो संविधान सभा निर्वाचनमा साह महिन्द्र राय यादव (हाल नेपाली कम्युनिस्ट पार्टीका नेता) नेतृत्वको तत्कालीन तराई-मधेस समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेका थिए।

०७४ को निर्वाचनमा सर्लाही ३ मा वाम गठबन्धन (एमाले-माओवादी) बाट रामेश्वर राय २२ हजार ३ सय ६७ मतसहित विजयी हुँदा कलबार स्वतन्त्र उम्मेदवार थिए। तर, त्यतिबेला उनी करिब १२ हजार मत ल्याएर तेस्रो स्थानमै सीमित रहे। 

स्वतन्त्र उम्मेदवार बनेर चुनाव नजितिने देखेपछि साह ०७९ को निर्वाचनको मनोनयनभन्दा ११ दिनअघि मात्रै तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

त्यतिबेला पार्टी प्रवेश गर्नासाथ प्रचण्डले उनैलाई टिकट दिए। तर, साह ७७० मतान्तरले उप्रेतीसँग पराजित बने। निर्वाचनमा तेस्रो पटक उम्मेदवार बन्दा उनी निकटतम प्रतिस्पर्धी (दोस्रो) बने।

उनै साह यसपटक पनि सर्लाही ३ मा नेकपाबाटै उम्मेदवार बन्न चाहन्थे। तर, नेकपाले यसपटक सर्लाही ३ मा आफ्नै पार्टीका वरिष्ठ नेता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो। त्यसपछि प्रचण्ड र नेकपासँग चिडिएका साह रातारात रास्वपाका नेताको सम्पर्कमा पुगेका थिए।

राजनीतिक रुपमा साह यस्ता अस्थिर पात्र हुन्, जसले हरेक चुनावको बेला दल परिवर्तन गर्ने गरेका छन्।

०७४ को निर्वाचनकै बेला उनले तत्कालीन माओवादी केन्द्रबाट टिकटको अपेक्षा गरेका थिए। तर, त्यतिबेला माओवादीले रामेश्वर यादवलाई टिकट दियो। तर, साह उम्मेदवार बन्नबाट रोकिएनन्।

२०७४ र ०७९ मा प्रत्यक्ष चुनाव लडेको अनुभव, बलियो आर्थिक पक्ष र यसपटक देशैभरि चलेको ‘बालेन र रास्वपा’ लहरले उनलाई  चौथो प्रयासमा दाेस्रोपटक सांसदको कुर्सीमा पुर्‍याएको छ।

तर नेतृत्वलाई मोटो रकम बुझाएर मात्रै उनले यसपटक रास्वपाबाट टिकट पाएको आरोप उनीमाथि लागेको छ।

साहले टिकट पाएकै दिन रास्वपाका मधेस प्रदेश कमिटी सदस्य डा.इन्द्रजित महतोले नै पार्टी नेतृत्वले नरेन्द्र साहलाई प्रतिनिधिसभाको टिकट बेचेको आरोप लगाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad