राजनीति


भारतबाट किनमेलमा सय रुपैयाँको सीमा मधेसका नागरिकमाथि ज्यादती: जसपा नेपाल

भारतबाट किनमेलमा सय रुपैयाँको सीमा मधेसका नागरिकमाथि ज्यादती: जसपा नेपाल

नेपालखबर
बैशाख ५, २०८३ शनिबार १८:३१, काठमाडौँ

भारतबाट सय रुपैयाँभन्दा बढीको सामानमा ल्याउँदा भन्सार महसुल लगाउने सरकारी निर्णयको जसपा नेपालले विरोध गरेको छ। 

शनिबार जसपा नेपालका संरक्षक महन्थ ठाकुरले प्रेस विज्ञप्ति जारी गरी नागरिकमाथि ज्यादती गरिएको जनाइएको छ। ‘वर्तमान नेपाल सरकारले तराई-मधेसको सीमानासँग जोडिएको सीमामा सय रुपैयाँसम्मको सामान मात्र भन्सार नतिरी ल्याउन पाइने प्रावधानबाट उत्पन्न ज्यादतीप्रति जसपा नेपाल घोर विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 

अहिले सरकारले भारतबाट खरिद गरेर ल्याइने दैनिक उपभोग्य सामानमा कडाइ गरेको छ। सीमा क्षेत्रका बासिन्दाले समेत सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि दैनिक उपभोग्य सामानमा भन्सार महसुल लाग्ने गरेको थिएन। 

तराई-मधेससँग सीमा क्षेत्रका बासिन्दा दैनिक उपभोग्य सामान भारतीय बजारबाटै खरिद गर्दै आएका छन्। नेपालतिर सहज आपूर्ति नहुने र भारतमा सस्तो हुने भएकाले सीमा क्षेत्रका बासिन्दा भारतीय बजारबाटै किनमेल गर्दै आएका छन्। यसरी सरसामान किनेर ल्याउँदै भारतीय पक्षले भने कुनै रोकटोक लगाउने गरेको छैन। 

अहिले नेपाल सरकारले ल्याएको नीति सीमानामा आवतजावत गर्ने नागरिकलाई लक्षित गरि लगाइएको जसपा नेपालले ठहर छ। यसमा पुनर्विचार गर्न जसपा नेपालले सरकारलाई आग्रह गरेको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘मधेस र भारत सडकमार्गबाट आवत जावत गर्ने व्यक्तिहरूलाई मात्र लक्षित गरिएको यो अदुरदर्शी कदममाथि पुनर्विचार गरियोस्।’

यस प्रकारको कदमले नागरिकलाई कठिनाइ हुने र सामाजिक, धार्मिक सम्बन्धनमा समेत खटास आउने ठाकुरले उल्लेख गरेका छन्। यो नियम खारेज गरेर पहिलेकै अवस्थामा ल्याउन उनले माग गरेका छन्। 

‘नागरिकको दिनानुदिनको जीवन यापनसँग सम्बन्धित किनमेलमा लागाइएको सय रुपैयाँको सीमा लगायत अन्य सामाजिक सांस्कृतिक, धार्मिक सम्बन्धमा खटास र नागरिकको दैनिक जीवनमा असर पर्ने कानुनी व्यवस्थाहरू याथशिघ्र खारेज गरी पुनः पहिलेको झै रीतिथिति कायम राख्न नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 

जसपा नेपालका संरक्षक ठाकुरले नेपाल र भारतको सम्बन्धको पनि स्मरण गराएका छन्। तराई-मधेस क्षेत्रमा परापूर्वकालदेखि नै आर्थिक, सांस्कृतिक, सामाजिक एवं धार्मिक रुपले भारतसँग जोडिएको तथा अन्तर सम्बन्धित रहेको उनले उल्लेख गरेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad