ad ad

राजनीति


नेपालकाे नयाँ नक्सासहित बेलायतका नेपालीले मोदीलाई पठाए विराेधपत्र

नेपालकाे नयाँ नक्सासहित बेलायतका नेपालीले मोदीलाई पठाए विराेधपत्र

प्रजय शुक्ल
जेठ १०, २०७७ शनिबार १:३०,

बेलायतमा रहेका चार नेपाली राजनीतिक दलका निकट संगठनले संयुक्त रूपमा नेपालको नयाँ नक्सासहित भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ध्यानाकर्षण पत्र पठाएका छन्।

भारतले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण गरेको विरोधमा एकताबद्ध हुँदै उनीहरूले हुलाकमार्फत बेलायतस्थित भारतीय हाई कमिसनमा विरोधपत्र पठाएका हुन्।

सत्तारूढ नेकपानिकट प्रवासी नेपाली एकता मञ्च, कांग्रेसनिकट जनसम्पर्क समिति यूके, जनता समाजवादी पार्टीनिकट नेपाली समाज यूके र राप्रपानिकट प्रवासी नेपाली एकता समाज यूकेले संयुक्त रूपमा नेपाली भूभाग अतिक्रमणविरुद्ध भारतीय प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराएका हुन्।

भारतले नेपालको भूमि अतिक्रमण गरी सडक बनाएर नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि प्रहार गरेको उनीहरूले जनाएका छन्।

नेपाल सरकारले हालै जारी गरेको नयाँ नक्सासहित एक ठाउँमा भेला भएर ती संगठनले भारतीय अतिक्रमणको चर्को विरोध गरे। नेपालको भूमि प्राप्त गर्न ठोस कूटनीतिक पहल हुनुपर्नेमा जोड दिँदै उनीहरू भारतमा विरोधपत्र पठाउन लन्डनको रेनर्स लेनस्थित पोस्ट अफिस पुगेका थिए ।

प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले सीमा अतिक्रमणको विरोधमा विश्वका सबै नेपाली एकजुट हुनुपर्ने बताए। उनले प्रमाणका आधारमा नेपालको अतिक्रमित भूमि भारतले फिर्ता गर्नुपर्ने कुरामा जोड दिँदै राष्टियताको आन्दोलनमा सबै नेपालीलाई एकठाउँ उभिन आह्वान गरे।

यस्तै जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङले राष्ट्रियताको मुद्दामा विपक्षी दलसमेत सरकारसँगै उभिनुपर्नेमा जोड दिँदै बेलायतमा आफूहरु एक रहेको बताए।

समाजवादी पार्टीनिकट नेपाली समाज यूकेका अध्यक्ष रिटायर्ड लेफटिनेन्ट चन्द्र गुरुङले नेपालका राजनीतिक दल र नेता राष्ट्रिय मुद्दामा एक भएर अघि बढ्न आह्वान गरे।

त्यस्तै राप्रपा निकट प्रवासी नेपाली एकता समाजका अध्यक्ष रोशन सापकोटाले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक वार्ताबाटै समाधानको लागि प्रयास गरिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .