नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गृहजिल्ला चितवन जाने तयारीमा रहेका छन्।
‘बाढीपहिरो, कोरोना महामारी लगायत क्षेत्रका जनताको अवस्था बुझ्नका लागि अध्यक्ष प्रचण्ड गृहजिल्ला चितवन जाने कार्यक्रम रहेको छ’, अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले भनिन्।
पार्टीको स्थायी समिति बैठक एक साताका लागि स्थगित गरी बाढीपहिरो पीडितको उद्धारमा जुट्न पार्टी पंक्तिलाई आह्वान गरेको भेलिपल्ट प्रचण्ड आफू पनि चितवन जान लागेका हुन्।
हिजो शुक्रबारका लागि आयोजना गरिएको स्थायी समिति बैठक पाचौं पटक एक साताका लागि स्थगित भएको थियो। प्रधानमन्त्री केपी ओलीको राजीनामाको विषयलाई लिएर नेकपामा बढेको विवादमा अहिले युद्धविराम भएजस्तो देखिए पनि सहमति भएको छैन। यही टकरावका बीच लगातार बैठक स्थगित हुँदै आएको छ।
अध्यक्षद्वय ओली र प्रचण्डबीच भइरहेका एक्लाएक्लै वार्ता पनि केही दिनयता हुन सकेको छैन।
हिजो नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै बाढीपहिरो पीडितको उद्धार तथा कोरोना महामारीविरुद्ध परिचालन हुन आह्वान गरेका थिए।
प्रतिक्रिया