भारतसँग विवादमा रहेका जम्मु, कस्मिर र गुजरातको जुनागढ क्षेत्र समेत समेटेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार आफ्नो मुलुकको नयाँ नक्सा जारी गरेका हुन्।
भारतले जम्मु र कस्मिरको विशेषाधिकार समाप्त गरेको पहिलो वर्षगाँठको पूर्वसन्ध्यामा पाकिस्तानले सो क्षेत्रलाई आफ्नो नक्सामा समेटेको हो।
पाकिस्तानले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले पाकिस्तानी कार्यको विरोध गरेको छ। आफ्नो भूमिलाई पाकिस्तानले नक्सामा समेटेर हास्यास्पद दाबी गरेको र यो नक्सा वैधानिक रुपमा कहिल्यै मान्य नहुने भारतले बताएको छ।
भारतको विदेश मन्त्रालयले भनेको छ,‘हामीले प्रधानमन्त्री इमरान खानले जारी गरेको पाकिस्तानको कथित ‘राजनीतिक नक्शा’ हेर्यौं। यसले भारतीय गुजरात राज्य र हाम्रो केन्द्र शासित प्रदेश जम्मु–कस्मिर र लद्दाखका क्षेत्रहरूमा दाबी राखेको छ, यो राजनीतिक बेइमानीको अभ्यास हो। यी हास्यास्पद दाबीहरूको न कानूनी वैधता छ न अन्तर्राष्ट्रिय विश्वसनीयता। वास्तवमा यो नयाँ प्रयासले पाकिस्तानको क्षेत्रीय विस्तारको उद्देश्यलाई प्रस्ट पारेको छ जसलाई सीमापार आतंकवादले साथ दिएको छ।’
मंगलबार राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले भनेका थिए ‘यो पाकिस्तानको लागि सबैभन्दा ऐतिहासिक दिन हो।’ उनले नयाँ नक्सा पाकिस्तानको आधिकारिक नक्सा बन्ने बताएका थिए।
जम्मु–कस्मिरको इतिहास
सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भइसकेपछि जम्मु–कस्मिर कुन देशसँग मिल्ने भनेर छलफल भएको थियो। कस्मिरका राजालाई भारत र पाकिस्तानमध्ये एउटा छान्नुपर्ने अवस्था थियो। अन्ततः उनले भारतलाई छाने तर विश्वमा नयाँ बनेको यी देशबीच त्यसबेला दुई वर्ष लगातार युद्ध भयो।
युद्धविराम गर्ने सहमति भएपछि पनि पाकिस्तानले मुस्लिम बाहुन कस्मिरबाट आफ्नो सेना फर्काउन अस्वीकार ग¥यो। त्यसपछि कस्मिर दुई भागमा विभाजित भयो। सन् १९५० को दशकमा भारत र पाकिस्तानबीच चर्को मतभेद रह्यो।
चीनले त्यसको फाइदा उठाउँदै पूर्वी कास्मिरमा विस्तारै–विस्तारै नियन्त्रण लियो। अहिले यो क्षेत्रलाई अक्साई चीन भनिन्छ।
भारत र पाकिस्तानबीच दोस्रो युद्ध सन् १९६५ मा भएको थियो। सन् १९८० र १९९० को बीचका भारतीय शासनविरुद्ध कस्मिरमा वृहत विरोध प्रदर्शन भए।
Prime Minister @ImranKhanPTI unveiled the political map of Pakistan at an event earlier today. pic.twitter.com/6Iqj9YzX4K
— Prime Minister's Office, Pakistan (@PakPMO) August 4, 2020
त्यसपछि कस्मिरमा पाकिस्तान समर्थित चरमपंथी समूहको प्रभाव बढ्यो। सन् १९९९ मा भारतले पाकिस्तान समर्थित सैन्य शक्तिविरुद्ध लडाइँ लड्यो। त्यतिबेला दुवै देशले आफूलाई परमाणु शक्ति घोषित गरिसकेको थिए। त्यसयता कस्मिरमा हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
सन् १९५० को दशकमा संयुक्त राष्ट्रसंघले कस्मिरको जनताको विचार बुझ्नका लागि त्यहाँ जनमत संग्रह गर्नुपर्ने धारणा राखेको थियो। भारतले सुरुमा यो विचारलाई समर्थन गरेको थियो।
जनमत संग्रहकै कारण जम्मु–कस्मिर भारतबाट स्वतन्त्र हुने खतरा रहेको भन्दै पछि भारत अघि बढेन। पाकिस्तान यसमा सहमत छैन। पाकिस्तान कस्मिरको अत्यधिक जनसंख्या भारतीय शासनविरुद्ध रहेको ठान्छ।
‘उनीहरु कि स्वतन्त्र हुन चाहान्छन् कि पाकिस्तानसँग मिल्न चाहान्छन्’, पाकिस्तानले भन्दै आएको छ। कस्मिरका ६० प्रतिशत जनसंख्या मुस्लिम समुदायको छ। यो मात्र भारतको एउटा त्यस्तो क्षेत्र हो जहाँ मुस्लिम धर्मवालम्बी धेरै छन्।
पहिले आफू नियन्त्रित जम्मु–कस्मिरलाई भारतले विशेषाधिकार प्रदान गर्दै आएको थियो। तर गतवर्ष मात्र भारतले संविधानको धारा ३७० हटाएर यतिबेला जम्मु–कस्मिरलाई केन्द्र शासित बनाएको छ।
जम्मु–कस्मिरमा जनमत संग्रहको पक्षमा रहेको पाकिस्तानले यतिबेला भारत प्रशासित जम्मु–कस्मिर सहितको नक्शा सार्वजनिक गरेको छ।
हाल भारत र पाकिस्तानबीचको भू–राजनीतिक विवाद झनै चर्को बन्ने देखिएको छ।
प्रतिक्रिया