ad ad

राजनीति


सरकार भन्छ- लामो दूरीका यातायात र विद्यालय खुल्ने परिस्थिति बनिसकेको छैन

सरकार भन्छ- लामो दूरीका यातायात र विद्यालय खुल्ने परिस्थिति बनिसकेको छैन

नेपालखबर
साउन २२, २०७७ बिहिबार ११:१८,

सरकारले अहिलेको परिस्थितिमा लामो दूरीका यातायात, विद्यालय र हवाई उडान खुल्ने सम्भावना तत्काल नबनेको जनाएको छ।

मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले लामो दुरीका यातायात र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु, विद्यालय खुल्ने अवस्था बनिनसकेको बताए।

सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको थियो। तर अर्थमन्त्री खतिवडाले पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबारे पुनर्विचार गर्ने जनाउ दिए।

‘हामी सबै जनाको सल्लाह अनुसार निर्णय गर्नेछौं। कतिपयले सँधै बन्द गर्दा आर्थिक अवस्था डामाडोल हुने भएकाले खोल्नुपर्ने सुझाव दिनुभएको छ भने कतिपयले तत्काल खोल्न नहुने बताउनुभएको छ’ खतिवडाले भने, ‘यसबारे सीसीएमसीको बैठक बसेर उपयुक्त निर्णय गर्नेछ र मन्त्रिपरिषदमा पेश गर्नेछ।’ 

मन्त्री खतिवडाले विदेशबाट आउनेहरुको हकमा अलपत्र परेका र उद्दार गर्नुपर्नेलाई ल्याउने तर तत्काल नआएपनि हुनेलाई केही समय धैर्य गर्न र परिस्थिति अति सहज हुँदासम्म पर्खन आग्रह पनि गरे।

सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न कडाई गर्ने र आर्थिक गतिविधि सञ्चालन गर्न खुकुलो गर्ने गरी बिचको बाटो अपनाउने मन्त्री खतिवडाले बताए।

‘लकडाउन मात्रै समस्याको समाधान होइन। सरकारले जहाँ जोखिम देख्दैन त्यहाँ खुकुलो हुन्छ र जहाँ जोखिम बढ्छ त्यहाँ कडा गर्दै जानेछ’ मन्त्री खतिवडाले भने, ‘देशव्यापी लकडाउनबारे अहिले सरकारले सोचेको छैन। आवश्यक परेको ठाउँमा स्थानीय प्रशासनले यो कदम चाल्नेछ।’

उनले कोरोना संक्रमण उच्च जनघनत्व भएका क्षेत्रमा बढी फैलिएकोले सरकारले थप सजगता अपनाएको र तयारी गरिरहेको बताए।

उनले भने, ‘प्रधानमन्त्रीको उपस्थितिमा भएको बैठकमा स्वास्थ्य र आर्थिक क्षेत्रका विज्ञहरुले सरकारले गर्नुपर्ने कामबारे सुझाव दिएका छन। हामी त्यस अनुसार अघि बढ्नेछौं।’

उनले स्वास्थ्य सुरक्षा अपनाउने, भिडभाड नगर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, लगायतका सजगता अपनाउन र केही दिन अति आवश्यक छैन भने सार्वजनिक सेवा नलिन आह्वान पनि गरे।

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

m1.JPG

m2.JPG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .