ad ad

राजनीति


रसियन राजदूत भन्छन् : रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाललाई छिट्टै दिन तयार छौं

रसियन राजदूत भन्छन् : रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाललाई छिट्टै दिन तयार छौं

नेपालखबर
भदौ २, २०७७ मंगलबार ११:५२,

नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाललाई प्राथमिकताका साथ दिन तयार रहेको बताएका छन्।

राजदूत नोभिकभले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग मंगलबार भएको शिष्टाचार भेटवार्ताका क्रममा सो धारणा व्यक्त गरेका हुन्।

उनले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने बताएका थिए।

‘रसियाले तयार पारेको भ्याक्सिन नोभेम्वरमा विश्वबजारमा आउनेछ। नेपाललाई प्रथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ,’ राजदूत नोभिकभले अध्यक्ष तिमिल्सिनासँग भने।

उनले नेपालको पर्यटन प्रबर्द्धन तथा रसियन पर्यटकको संख्या बृद्धि गर्न काठमाडौं–मस्को नियमित हवाई उडान सुरु गर्न सकिने धारणा राखेको थिए।

उनले रुसले काठमाडौंमा मेट्रो रेल बनाउन पनि सहयोग गर्न तयार रहेको समेत बताए।

‘दुई देशको इच्छाशक्ति भयो भने साझेदारीका थुप्रै क्षेत्र छन्,’ उनले भने, ‘नेपाल सरकारले काठमाडौंमा मेट्रो रेल बिस्तारको योजना ल्याएको छ, यसमा रसिया सरकार आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार छ।’

राजदूत नोभिकभले रसियाको रक्षा तथा परराष्ट्रमन्त्री र संसदीय नेतृत्वको नेपाल भ्रमणका लागि आफ्नो तर्फबाट पहल गर्ने समेत जानकारी गराएका थिए।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा मंगलबार भएको भेटमा दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो।

‘अध्यक्ष तिमिल्सिनाले दुई मुलुकको हित प्रबद्र्धन हुने गरी द्विपक्षीय र बहुपक्षीय तहमा साझेदारी आवश्यक रहेको बताउँदै नेपालमा विशेषगरी उर्जा, कृषि, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा व्यापार र लगानीको पर्याप्त सम्भावना रहेको बताउनुभयो,’ अध्यक्षको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

तिमिल्सिनाले रुसद्वारा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास समेत व्यक्त गरेका थिए।

‘विश्वका विभिन्न मुलुकहरू कोरोना भाइरसको भ्याक्सिनको खोजिमा लागिरहेका छन्,’ तिमिल्सिनाले भने, ‘हालै रुसमा यसको सफल परीक्षण भएको समाचार सुन्न पाउँदा खुसी लागेको छ।’

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले रुसमा रहेका नेपाली समुदायको यस कठिन परिस्थितमा पनि ख्याल राखेकोमा रसियन सरकारलाई धन्यवाद व्यक्त गरेका थिए।

कुराकानीका क्रममा तिमिल्सिनाले रसियाले चिकित्सा, इन्जिनियरिङ, औद्योगिक जस्ता क्षेत्रहरूमा सीपयुक्त जनशक्ति विकासमा पुर्‍याउँदै आएको सहयोग तथा यी क्षेत्रहरूमा दिँदै आएको छात्रवृत्तिले नेपाली विद्यार्थीहरू लाभान्वित भएको पनि स्मरण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .