भारतीय विदेशमन्त्री एस जयशंकरले भारत–चीन तनावको समाधान कूटनीतिमै फेला पर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीसँग लामो समयदेखि आफू परिचित रहेको बताउँदै उनीसँग यसबारे वार्ता गर्ने जानकारी पनि जयशंकरले दिए।
आगामी साता सांघाई कोअपरेसन अर्गनाइजेसनका विदेशमन्त्रीबीच मस्कोमा बैठक हुँदैछ।
‘यो परिस्थितिको समाधान कूटनीतिमै फेला पर्छ भन्नेमा म पूर्ण रुपमा विश्वस्त छु,’ जयशंकरले आफ्नो पुस्तक सार्वजनिक भएको उपलक्ष्मा अब्जरर्भर रिसर्च फाउन्डेसनले बिहीबार गरेको भर्चुअल कार्यक्रममा भने, ‘र, म पूर्ण जिम्मेवारीका साथ यो कुरा भनिरहेको छु।’
उनले भारत र चीनबीचको सम्बन्ध गम्भीर मोडमा रहेको बताए। उनले सीमामा हुने जुनसुकै घटनाले पनि द्विपक्षीय सम्बन्धलाई प्रभावित पार्ने बताए।
जयशंकरको ‘द इन्डिया वेः स्ट्राटेजिज् फर एन अनसर्टेन वर्ल्ड’ नामक पुस्तक सार्वजनिक भएको छ।
जुन १५ मा लद्दाखमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएपछि भारत र चीनबीच तिक्तता बढेको छ। अगस्ट अन्तिम र यो महिनाको सुरुमा सो क्षेत्रमा पुन तनाव बढेको छ। दुई मुलुकबीच सैन्य वार्ता जारी रहेपनि त्यसबाट समाधान निस्किन सकेको छैन। एजेन्सी
प्रतिक्रिया