कतारको दोहामा आजदेखि अफगान सरकार र तालिबानबीच शान्ति वार्ता शुरु हुन लागेको छ। सो वार्ताको मध्यस्थताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ पनि कतार पुगेका छन्।
उनी शुक्रबार नै कतार पुगेका हुन्। उनले अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता सबैभन्दा लामो युद्ध अन्त्य गर्ने अमेरिकाको एउटा पहल भएको बताएका छन्।
हाल दोहामा रहेका अफगानिस्तान सरकारको शान्ति वार्ता टोली र तालिबानहरुको शान्ति वार्ता टोलीसँग उनले छुट्टाछुट्टै भेटवार्ता गर्न लागेको दोहामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान सरकार र त्यहाँको मुख्य विद्रोही समूह तालिबानसँग हुन गइरहेको शान्ति वार्ताको मध्यस्थता गर्नका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओ कतारको दोहा जाने जानकारी शुक्रबार प्रदान गरेका थिए।
गएको फेब्रुअरी महिनामा तालिबान र संयुक्तराज्य अमेरिका बीचमा कतारको राजधानी दोहामा भएको सम्झौत पछि अफगान सरकार र तालिबान समूहबीच वार्ताको तयारी शुरु हुन लागेको हो। रासस/एएनआई
Shares
प्रतिक्रिया