ad ad

राजनीति


संविधानले राष्ट्रिय एकता र सुरक्षा स्थापित गरेको छः प्रधानमन्त्री ओली

संविधानले राष्ट्रिय एकता र सुरक्षा स्थापित गरेको छः प्रधानमन्त्री ओली

नेपालखबर
असोज २, २०७७ शुक्रबार ७:३३,

प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षअघि जारी भएको संविधानले नेपालको राष्ट्रिय एकता र सुरक्षा स्थापित गरेको बताएका छन्।

‘जनताका प्रतिनिधिले बनाएको यो संविधानले एक राष्ट्र र नेपाली जाती अर्थात हामी नेपाली भन्ने कुरा स्थापित गरेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘संविधान बनाउने बेला जाती, भाषा, भूगोलका आधारमा देशलाई चिरा पार्ने कोशिस भएपनि यो संविधानले ती कुरा अस्वीकार गरी राष्ट्रिय एकता स्थापित गरेको छ।’

संविधान दिवसको अघिल्लो दिन शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संविधान सम्बन्धी ‘अ ट्रिटिज अन द कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक बिमोचन सहमारोहमा ओलीले संविधानलाई राष्ट्रिय एकताको दस्तावेजको रुपमा अथ्र्याए।

‘यो संविधानले गणतन्त्र, लोकतन्त्र र आवधिक निर्वाचनको ग्यारेन्टी त गरेको छ नै, सबैभन्दा महत्वपूर्ण कुरा यसले राष्ट्रिय एकता स्थापित गरेको छ, हालै भएको संविधान संशोधनको क्रममा देखिएको एकताले त्यसको पुष्टि गरेको छ’, प्रधानमन्त्री ओलीले भने।

समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रको सुरक्षा र मानिसको सुरक्षालाई पनि जैविक पक्षका रुपमा व्याख्या गरे।

‘सम्वृद्धिले मात्रै राष्ट्रको र मानवको आवश्यकता पूरा गर्न सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘संविधानले राष्ट्रको सार्वभौमसत्ताको रक्षा गर्ने दिशा समातेको हुनुपर्छ, जनताको सुरक्षा गर्ने सामथ्र्य बोकेको हुनुपर्छ, त्यस हिसावले यो संविधान उत्कृष्ट छ।’

संविधान कार्यान्वयन गर्ने चरणमा रहेकाले अहिले पनि एक किसिमको संक्रमणकाल रहेपनि नेपाली जनता र राजनीतिक पार्टीहरू परिवर्तनका उपलब्धी सुरक्षित गर्न र सम्वृद्ध गर्न सक्षम रहेको ओलीले बताए।

दुई वर्षअघि साउथ एसिया ट्रष्ट र काठमाडौं विश्वविद्यालयको आयोजनामा भएको अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र र बहसलाई समेटेर कानुनविद विपीन अधिकारी, पत्रकार कनकमणि दिक्षीतले तयार गरेको पुस्तक प्रधानमन्त्री ओलीले समारोहमा सार्वजनिक गरे।

समारोहमा नेपाली कांग्रेसका नेता रामशरण महतले गणतन्त्र, बहुदलीय प्रतिस्पर्धा, स्वतन्त्र प्रेस र समाजवादसम्म पुग्ने लक्ष्य राखिएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट संविधान रहेको बताए।

‘मौलिक अधिकारका कुराहरू हामीले जसरी संविधानमा समावेश गरेका छौं, त्यसले अरु देशको संविधानको तुलनामा हाम्रो संविधान विशेष छ भन्ने स्थापित गरेको छ’, महतले भने, ‘स्थानीय निकायलाई अधिकार दिने कुरामा जर्मनी विश्वमै अगाडि छ भनिन्छ, हामीले जर्मनीभन्दा पनि बढी अधिकार स्थानीय तहलाई दिएका छौं।’

कार्यक्रम सञ्चालन गर्दै पत्रकार कनकमणि दीक्षितले हाम्रो संविधानको बारेमा बहस हुनुपर्छ भनेर सन् २०१८ मा काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको र त्यसबेला भएको बहस अहिले पुस्तकका रुपमा आएको बताए।

‘यो पुस्तक लोकतन्त्रका योद्धाहरूप्रति समर्पित छ, अब हामी संविधानको भावना बोकेर अगाडि बढ्नु पर्छ भन्ने यसको मर्म हो’, दीक्षितले भने, ‘हाम्रो संविधानले पाँच वर्षमा स्थायित्व पाएको छ, आवश्यकता अनुसार संशोधन पनि हुँदै जाला।’

पुस्तकका सम्पादक विपीन अधिकारीले अंग्रेजी भाषामा प्रकाशित यो पुस्तकमा सम्मेलनका दस्तावेज जस्ताको तस्तै राखिएको र बहसको निचोड प्रस्तुत गरिएको बताए।

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .