परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिनमै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन्। प्रेस संगठन नेपाल, रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले अबको हप्ता १० दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका हुन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य मूल्यांकनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्नुहुनेछ। यसको तयारी भइरहेको छ।’
लामो समय पार्टीमा देखिएको विवाद अन्त्य भएको जनाउँदै उनले पार्टी भित्रको सन्तुलन मिलाउन र सरकारको कामलाई थप प्रभावकारी गराउन पनि मन्त्रिमण्डल पुनर्गठन हुन लागेको बताए।
मन्त्री ज्ञवालीले संघसँगै प्रदेशका मन्त्रीहरु पनि फेरबदल हुने जनाए।
‘अब प्रदेशका मन्त्रिमण्डल समेत पुनर्गठन हुनेछन। मुख्यमन्त्री नफेरिए पनि प्रदेश मन्त्री फेरिनुहुनेछ। यसले प्रदेश सरकारको कामको स्पीडलाई थप बलियो बनाउनेछ’, मन्त्री ज्ञवालीले भने।
कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूभाग भारतसंगको कुटनीतिक पहलमा फिर्ता गर्ने प्रयास जारी रहेको बताए।
‘कुटनीतिक पहल भइरहेको छ। प्रधानमन्त्रीज्यूले यस विषयमा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्नुभएको छ। यस्तै अन्य उच्च स्तरमा पनि छलफलको प्रारम्भ भएको छ। छिट्टै हाम्रो भूमि फिर्ता हुने मलाई विश्वास छ’, उनले भने।
त्यस्तै, मन्त्री ज्ञवालीले नेपाल विद्युत् प्राधीकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई पुनः नियुक्त गर्न कानुनअनुसार नमिल्ने बताए। घिसिङको कामप्रति सरकार सन्तुष्ट रहे पनि पुनः नियुक्त गर्न कानुनी अड्चन रहेको उनले स्पष्ट पारे। नियुक्ति गर्नै परेमा नयाँ कानुनअनुसार गरिने तर यसबारेमा सरकारले छलफल गरिरहेको उनले बताए।
कुलमानको नियुक्तिमा उर्जामन्त्री वर्षमान पुन र प्रधानमन्त्रीबीच असन्तुष्टि बढेको भनी बाहिर आएका समाचारहरुमा सत्यता नभएको उनले जनाए।
प्रतिक्रिया