ad ad

राजनीति


दक्षिण कोरियाली राष्ट्रपतिले गरे कोरिया युद्ध अन्त्यको आह्वान

दक्षिण कोरियाली राष्ट्रपतिले गरे कोरिया युद्ध अन्त्यको आह्वान

नेपालखबर
असोज ७, २०७७ बुधबार १०:२७,

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले सन् १९५० मा सुरु भएको कोरियाली युद्ध औपचारिक रुपमा अन्त्य गर्न आह्वान गरेका छन्।

संयुक्त राष्ट्रसंघको ७५ औँ महासभामा पठाएको एक भिडियो सन्देशमा मुनले सो प्रस्ताव राखेका हुन्।

सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यसँगै कोरियाली प्रायद्वीपलाई उपनिवेश बनाएको जापानले आत्मसमर्पण गर्‍यो। त्यसपछि अस्थायी प्रबन्धका रुपमा कोरियाको उत्तरी भागमा सोभियत सैनिक र दक्षिणी भागमा अमेरिकी सेनाको नियन्त्रण कायम गरियो।

तर, सहमतिविपरीत दुवैतर्फ आआफ्नै सरकार गठन गरियो। त्यसको पाँच वर्षपछि १९५० मा उत्तरले दक्षिणमाथि आक्रमण गर्‍यो। जुन १९५३ को युद्धविरामसँगै युद्ध सकियो तर, त्यसको औपचारिक अन्त्यको घोषणा गरिएको छैन।

त्यसयता अमेरिकी सेना दक्षिण कोरियामा बस्दै आएको छ। यसबीचमा दुई मुलुकबीच अनेकौँ पटक सानातिना झडप भएपनि युद्ध भने भएको छैन। सन् २००६ मा उत्तर कोरियाले आणविक हतियार बनाएको थियो।

‘यो वर्ष कोरियाली युद्ध सुरु भएको ७० वर्ष पुग्यो। कोरियाली प्रायद्वीपमा छाइरहेको यो दुखान्तलाई अन्त्य गर्ने समय आइपुगेको छ,’ मुनले भनेका छन्, ‘यो युद्ध पूर्ण रुपमा र सबैको भलाइका लागि अन्त्य हुनै पर्छ। मलाई आशा छ, मेलमिलाप र समृद्धिको नयाँ युगमा अघि बढ्न हामीलाई राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नेछ।’

सन् २०१८ मा उत्तर कोरियाली नेता किम जोङ उनले मुन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गरेपछि कोरियामा स्थायी शान्तिको आशा उत्पन्न भएको थियो। तर, त्यसयता प्योङयाङ र वासिङ्टनबीच असमझदारी बढ्दै गएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .