भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ।
भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो।
भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं- यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’
हालैका दिनमा पूर्वी लद्दाखको पेङग्वाङको त्सो तालनजिक भारत र चीनका सैनिकबीच पटकटपटक हवाई फायरिङ भइसकेका छन्।
भारत र चीनबीच छैटौं चरणको वार्तामा दुई देशको सीमामा धेरै सैनिक नपठाउने सहमति भएको छ।
तर भारतीय अधिकारीले सीमामा आफ्नो शक्ति बलियो बनाएर राख्ने बताएका छन्। ती भारतीय सैनिक अधिकारीले भने, ‘हाम्रो अडान स्पष्ट छ- पहिले चीन अगाडि बढेको हो, अब उसैले पछि हट्नुपर्छ।’
भारत र चीनका सैनिकबीच गत जुन १५ मा लद्दाखकाे गलवान उपत्यकामा झडप भएको थियो। त्यसमा २० भारतीय सैनिक मारिएका थिए।
तर चीनतर्फ के कति क्षति भयो अहिलेसम्म उसले केही जानकारी दिएको छैन। भारतीय सञ्चारमाध्यमले भने चीनका सैनिक पनि मारिएको दाबी गरेका थिए।
प्रतिक्रिया