भारतले हिमाली सीमा क्षेत्रमा आश्चर्यजनक रुपमा चीनविरुद्ध आक्रमण गर्न सक्ने भन्दै चिनियाँ सेनाका एक पूर्व सैनिक जनरलले सतर्क रहन चेतावनी दिएका छन्।
भारत र चीनबीच लद्दाख सीमा क्षेत्रमा तीन मिहनादेखि निरन्तर युद्धको तयारी भइरहेको अवस्थामा चिनियाँ जनुमुक्ति सेना (पीएलए) का पूर्व लेफ्टिनेन्ट जनरल वाङ होङगेङले प्रतिरक्षा सम्बन्धि चिनियाँ सामाजिक सञ्जाल ली जियानमा प्रकाशित लेखमा यस्तो चेतावनी दिएका हुन्।
‘भारतले लद्दाखको सीमा क्षेत्रमा सैनिक संख्या थपेर एक लाखभन्दा बढी तैनाथ गरिसकेको छ’, पीएलएका पूर्व लेफ्टिनेन्ट जनरल वाङ होङगेङले भनेका छन्, ‘केही घण्टामै भारतीय सेना सजिलै चीन प्रवेश गर्न सक्छन्।’
‘वास्तविक नियन्त्रण रेखा (एलएसी) मा आफ्नो सुरक्षा व्यवस्था गर्न भारतका लागि ५० हजार सैनिक मात्र आवश्यक पर्छ। तर भारतले चिसो सुरु हुनुअघि आफ्ना नियमित सेना फिर्ता गर्नुको साटो एक लाख सैनिक थपेको छ’, साउथ चाइना मर्निङ पोस्टले वाङको भनाइ उधृत गरेको छ, ‘भारतले थपेका दुई वा तीन गुणा बढी सैनिकलाई एलएसी अर्थात चीनको सीमाबाट ५० किलोमिटर नजिकै तैनाथ गरिएको छ, जो केही घण्टामा सजिलै चीन प्रवेश गर्न सक्छन्।’
वाङ चीनको नान्जिङ सैनिक क्षेत्रका पूर्व उपकमाण्डर हुन्, जुन अहिले पूर्वी कमाण्ड अन्तर्गत रहेको छ।
उनले लडाइँको खतरा बढेको भन्दै ताइवान क्षेत्रको घटना र अमेरिकी राष्ट्रपति चुनावको माहोलले भारतका लागि चीनविरुद्ध ‘केही ठूलो गर्ने’ मौक दिने तर्क गरेका छन्। मध्य नोभेम्बरअघि सीमा क्षेत्रबाट चिनियाँ सेना फिर्ता हुन नहुने सुझाव उनले दिएका छन्।
भारत र चीनका सैनिक कमाण्डरबीच छैटौं चरणको वार्ता भएको अर्को दिन वाङको यस्तो भनाइ आएको हो।
Shares
प्रतिक्रिया