ad ad

राजनीति


इण्डो–प्यासिफिक तथा दक्षिण एसियामा स्थायित्वका लागि भन्दै अमेरिकाले भारतलाई बेच्यो रणनीतिक सामग्री

इण्डो–प्यासिफिक तथा दक्षिण एसियामा स्थायित्वका लागि भन्दै अमेरिकाले भारतलाई बेच्यो रणनीतिक सामग्री

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ७:३,

अमेरिकाको रक्षा मन्त्रालयले भारतलाई ९ करोड अमेरिकी डलर बराबरको रणनीतिक प्रयोजनका लागि आवश्यक सुरक्षा सामग्री बिक्रीका लागि स्वीकृति दिएको छ।

भारतको सी–१३०जे सुपर हर्कुलस एयरक्राफ्टका लागि आवश्यक उपकरण, स्पेयर पार्टस् र अन्य सामग्री किन्नका लागि अमेरिकाको पेन्टागनले स्वीकृति दिएको हो।

अमेरिकाको डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले त्यहाँको कंग्रेसलाई अमेरिका र भारतबीचको रणनीतिक सम्बन्ध अझ सुदृढ बनाउन र आफ्नो एक प्रमुख रक्षा साझेदारको सुरक्षामा सुधार गर्नका लागि सो कदम चालिएको जानकारी दिएको छ।

इन्डो–प्यासिफिक र दक्षिण एसिया क्षेत्रमा स्थायित्व, शान्ति र आर्थिक प्रगतिका लागि भारत एउटा महत्वपूर्ण शक्ति रहिरहने भएका कारण त्यस्तो रक्षा साझेदारसँगको सम्बन्ध सुधार गर्न याे काराेबार गरिएको समेत सो एजेन्सीले कंग्रेसलाई जानकारी दिएको छ।

राडार वार्निङ रिसिभर सिपसेट, काउन्टरमेजर डिसपेन्सर सिस्टम सिपसेट, नाइट भिजन बाइनाकुलर, नाइट भिजन गोगल, जीपीएस र इलेक्ट्रोनिक वारफेयर लगायतका सामग्री भारतले अमेरिकासँग खरिद गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भारतले अमेरिकासँग उपकरण सहायता, संयुक्त मिसन योजना प्रणाली, क्रिप्टोग्राफिक डिभाइस स्पेयर्स तथा लोडर्स, सफ्टवेयर सपोर्ट, पब्लिकेशन र प्राबिधिक डकुमेन्टेसन, सुरक्षाकर्मी तालिम तथा तालिम सामग्री, कन्ट्रयाक्टर इन्जिनियरिङ, प्राबिधिक सहायता र अन्य सम्बन्धित कार्यक्रमिक सहायता समेत खोजेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ।

यो खरिदसँगै भारतले पहिले नै किनेको एयरक्राफ्ट अझ प्रभावकारी रुपमा सञ्चालन गर्दै भारतको हवाइ, स्थल तथा समुद्री सेनालाई आफ्ना कारवाही सञ्चालन गर्न थप सहज हुने बताइएको छ।

यो खरिदसँगै अब भारतलाई थप सैन्य आवश्यकता धान्न गार्‍हो नपर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

अमेरिकाको हतियार निर्यात नियन्त्रण ऐनबमोजिम यस्ता कारोबार गर्दा जानकारी गराउनु पर्ने अनिवार्य प्रावधानअनुसार सो एजेन्सीले कंग्रेसलाई जानकारी दिएको हो।

यो प्रस्तावित बिक्रिबारे त्यहाँका सांसदहरुले ३० दिनभित्र समीक्षा गर्नेछन्।

अमेरिकाले सी–१३०७ सुपर हर्कुलस एयरक्राफ्ट बेचेका १७ देशमध्ये भारत एक हो। भारतीय एयर फोर्सले अहिले पाँचवटा सी–१३०७ हरु सञ्चालन गर्छ। भारतले त्यस्तै थप ६ वटा सी–१३०७ सुपर हर्कुलस एयरक्राफ्ट अर्डर गरिसकेको एनडीटीभीले जनाएकाे छ।

याे पनि: 
अमेरिकाद्वारा भारत, जापान र अष्ट्रेलियासँगको इन्डो–प्यासिफिक रक्षा सम्बन्धलाई नाटोजस्तै सशक्त गठबन्धन बनाउन प्रस्ताव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .