‘कोरोना भाइरस घातक छैन’ भन्ने लेखेपछि फेसबुक र ट्विटरले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पोस्ट हटाइदिएका छन्।
आफैं कोरोना संक्रमित भई तीन दिनसम्म अस्पताल बसेका उनी भर्खरै सरकारी निवास ह्वाइट हाउस फर्केका छन्।
तर उनले फेसबुकमा लेखेका छन्, ‘अमेरिकाले फ्लुसँग बाँच्न सिकिसकेको छ, अहिले कोरोनासँग बाँच्न सिकिरहेका छौं, धेरैजसो मानिसलाई यो निकै कम मात्र घातक छ।’
यही कुरा ट्रम्पले ट्विटरमा पनि लेखेका थिए। जसलाई ट्विटरले नदेखिने बनाइदिएको छ। साथै ‘यो भ्रामक र हानिकारक सन्देश’ भनेर चेतावनी पनि दिइएको छ। जुन चेतावनी क्लिक गरेपछि मात्रै उनको त्यो ट्विट देख्न सकिनेछ।
फेसबुकका नीति सञ्चार प्रबन्धक एन्डी स्टोनले भने, ‘हामी कोभिड–१९ को गम्भीरताबारे गलत जानकारी हटाइदिन्छौं र हामीले यो (ट्रम्पको) पोस्ट पनि हटाइदिएका छौं।’
फेसबुकले यसअघि पनि राष्ट्रपतिको पोस्ट हटाएको छ भने ट्विटरले पनि उनका थुप्रै पोस्ट डिलिट गर्ने वा चेतावनी दिनेजस्ता कार्बाही गरिसकेको छ। बीबीसी
प्रतिक्रिया