पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने भएको छ।
भ्रष्टाचार विरुद्धको अनुसन्धान गर्ने सरकारी निकायले उनका विरुद्धमा भ्रष्टाचारसम्बन्धी फेरि अर्को मुद्दा दर्ता गर्ने तयारी गरेको अधिकारीहरुले जानकारी दिएका छन्।
प्रधानमन्त्री इमरान खानले भ्रष्टाचारसम्बन्धी अरु घटना सार्वजनिक हुन लागेको अभिव्यक्ति दिएको केही दिनपछि यस्तो समाचार आएको हो।
पूर्व प्रधानमन्त्री ७० वर्षीय नवाज सरिफ पाकिस्तान मुस्लिम लिग (नवाज)को तर्फबाट प्रधानमन्त्री भएकै बेला यसअघि सन् २०१७ बाट सर्वोच्च अदालतको आदेशमा अपदस्त भएका हुन।
अदालतले उनले ठूलो अनियमितता गरेको ठहर गर्दै उनलाई पदमा बसिरहन नमिल्ने ठहर गरेपछि अपदस्त गरिएको थियो।
त्यसदेखि नियन्त्रणमा रहेका नवाज गम्भीर अवस्थामा अस्वस्थ भएकाले केही महिना अगाडि उपचारका लागि बेलायतको राजधानी लन्डनमा रहेका छ। यसअघि उनकी श्रीमतीको पनि उपचारकै क्रममा बेलायतमै निधन भएको थियो।
राष्ट्रिय उत्तरदायी विभागले नवाजसँगै उनका पूर्व निजी सचिव फवाद हसन फवाद, पूर्व संघीय मन्त्री अशन इक्बाल, पूर्व विदेश सचिव एजाज चौधरी र पूर्व गुप्तचर विभाग प्रमुख अफ्ताब सुल्तान विरुद्ध पनि मुद्दा चलाउन लागिएको डन पत्रिकाले लेखेको छ।
सेवा निवृत्त न्यायाधीश जाभेद इक्बालको अध्यक्षतामा बसेको विभागको बिहीबारको बोर्ड बैठकले ११ जना विरुद्ध मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो।
उनीहरुमाथि विदेशी अतिथिको सवारीमा प्रयोग गर्ने गरी खरिद गरिएका ७३ ओटा सवारी साधन खरिदमा अनियमितता गरेको आरोप छ। तर ती सवारी साधन व्यक्तिगत प्रयोगमा लगाएका र करिब १९ करोड ५२ लाख पाकिस्तानी रुपैयाँ अनियमितता गरेको बोर्डको भनाई छ। रासस/पिटिआई
प्रतिक्रिया