सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वमा गम्भीर संकट उत्पन्न भएको बताएका छन्।
उनले आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न सबै नेता, कार्यकर्ता तथा सदस्यहरुसँग अनुरोध गरेका छन्।
यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।
राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको स्मरण गरेका छन्।
‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो,’ अर्थमन्त्री पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ। यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ।’
नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने उनको भनाइ छ।
‘तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु,’ पौडेलले भनेका छन्।
Shares
प्रतिक्रिया