नेपाली कांग्रेस बाराका महासमिति सदस्य एवं तरुण विभागका सदस्य ४५ वर्षीय मेदनी महतो धानुक (मदन मण्डल) को मृत्यु भएको छ।
धानुकलाई उपचारका लागि आज काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशाला गरिएको परीक्षण धानुकको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो।
बारा जिल्ला आदर्श कोटवाल गाउँपालिका वडा नं. ५ निवासी स्वर्गीय धानुकले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा उनले पु¥याएको सक्रिय भूमिकाको स्मरण गर्दै सभापति देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रतिक्रिया