सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको बिधि, पद्धति एवं निर्णयको पालना र कार्यान्वयन गरे नेकपामा अहिले देखिएको संकट समाधान हुने बताएका छन्।
‘यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ, पार्टीको बिधि, पध्दति एवं निर्णयको पालना र कार्यान्वयन,’ पार्टी सचिवालय सदस्य समेत रहेको श्रेष्ठले भनेका छन्।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुबीच गम्भीर विवाद भई पार्टी विभाजनको संघारमा पुगेको भनी नेताहरुबाटै सार्वजनिक वक्तव्य आइरहेका बेला श्रेष्ठले सो धारणा व्यक्त गरेका हुन्।
‘ब्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिदैन र कसैको हित गर्दैन। देश, जनता, श्रमजीवी बर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं,’ उनले भनेका छन्, ‘जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्तिहरुको चाहना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौ।’
महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाम्रो पार्टी एकता भएको हुँदा त्यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन नसक्ने उनको जिकिर छ।
पार्टीको बैठक बसेर र सबै पक्षहरुका बारेमा खुला छलफल उनले आग्रह गरेका छन्।
‘पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः बिचार, सिध्दान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालनसम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुनसक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन,’ उनले भनेका छन्।
प्रतिक्रिया