ad ad

राजनीति


भारत-चीन विवादः सिमानामा तैनाथ सेना र हतियार कसको बढी शक्तिशाली?

भारत-चीन विवादः सिमानामा तैनाथ सेना र हतियार कसको बढी शक्तिशाली?

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार १२:२६,

चीनको रक्षा बजेट भारतको भन्दा तीन गुणा बढी छ। चीनले २ खर्ब ६१ अर्ब अमेरिकी डलर रक्षा बजेट छुट्याएको छ भने भारतको ७१ अर्ब अमेरिकी डलर छ।

भारतसँगको सीमानजिक चीनले करिब २ लाख ३० हजार सैनिक खटाएको छ। यी सैनिकले मुख्यगरी तिब्बत र सिन्जियाङलाई मध्यनजर गर्दै भारतसँगको सीमाको निगरानी राख्छन्।

रुससँगको सम्भावित द्वन्द्वको खतरा सामना गर्ने सैनिक पनि यिनै हुन्।

उता पाकिस्तान र कस्मिरमा निरन्तर लड्दै आएकाले भारतीय सेनासँग हिमाली वातावरणको पर्याप्त अनुभव छ।

चीनसँगको सीमामा तैनाथ २ लाख २५ हजार भारतीय सेनाको एउटै उद्देश्य होः चिनियाँ खतराबाट राष्ट्रिय हितको सुरक्षा गर्ने।

यसैवर्षको जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच हिंस्रक झडप भयो। विवादित गलवान उपत्यकाको स्वामित्वको विषयमा भएको झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो।

चिनियाँ पक्षले भने आफ्नो सेनामा भएको हताहतीबारे कुनै जानकारी दिएको छैन। भारतीय पक्षले आफ्नोभन्दा दोब्बर सेना चीनले गुमाएको दाबी गरेका छ। जसलाई चीनले अस्वीकार गरेको छ।

अहिले जाडो याम सुरु हुन लागेको छ। यद्यपि भारत र चीनका सेनाले लद्दाखको सीमानजिकका क्षेत्रबाट पछाडि हट्ने मनसाय बनाएका छैनन्।

जाडो याममा लद्दाखको सीमामा तापक्रम माइनस ४० डिग्री सेल्सियससम्म पुग्छ। जाडो सुरु हुनासाथ यहाँ बाक्लो हिउँले सडक पुर्छ। यो क्षेत्र ६ महिनाका लागि ठप्प हुन्छ।

बाँच्न नै मुस्किल हुने भएकाले हिउँदमा दुई देशका सेनाबीच धक्का–मुक्की नहुने अपेक्षा गरिएको थियो। तर यसपटक भने दुवै देशका सेनाले जाडोको तयारी गरिरहेका छन्।

उनीहरुले हिउँदभरीलाई पुग्ने खाद्यान्न र गोलीगठ्ठा विवादित क्षेत्र नजिक पुर्‍याएका छन्। सिमानामा चीन र भारतमध्ये कसको शक्ति बढी छ त?

सेना
चीनसँग भारतको सीमा नजिक २ लाखदेखि २ लाख ३० हजार स्थल सैनिक छन् भने भारतसँग चीनको सीमानजिक २ लाख २५ हजार।

तिब्बत मिलिट्री डिस्ट्रिक्टमा ४० हजार चिनियाँ सेना छन् भने सिन्जियाङ मिलिट्री डिस्ट्रिक्ट र वेस्टर्न थिएटर कमान्डमा क्रमश ७० हजार र ९० देखि १ लाख २० हजार चिनियाँ सेना छन्।

भारतको नर्दन आर्मी कमान्डमा ३४ हजार सैनिक तैनाथ छन्। यस्तै सेन्ट्रल कमान्डमा १५ हजार ५ सय र इस्टर्न कमान्डमा १ लाख ७५ हजार भारतीय सेना छन्।

आणविक शक्ति
भारतसँगको सीमा नजिक चीनसँग १२० ब्यालिस्टिक क्षेप्यास्त्र छ। चीनसँग यहाँ डीएफ २१ ब्यालिस्टिक क्षेप्यास्त्र ९६ वटा छ। यो क्षेप्यास्त्रले २ हजार १५० किलोमिटर टाढासम्म पुगेर मार हान्नसक्छ।

यस्तै चीनसँग डीएफ ३१ र डीएफ ३१ए क्षेप्यास्त्रहरु १२–१२ वटा छन्। डीएफ ३१ क्षेप्यास्त्रले ७ हजार किलोमिटर टाढासम्म पुगेर आक्रमण गर्नसक्छ। डीएफ ३१ ए झनै शक्तिशाली क्षेप्यास्त्र हो। यसले ११ हजार किलोमिटर टाढासम्मको दुश्मनलाई आक्रमण गर्नसक्छ।

भारतसँग भने चीनसँगको सीमामा ८६ वटा ब्यालिस्टिक क्षेप्यास्त्र छ। यस्तै भारतसँग यहाँ ५१ वटा बम वर्षक विमान छन्।

भारतसँग पृथ्वी तेस्रो नामक क्षेप्यास्त्र ३२ वटा छ। जसले ७५० किलोमिटरसम्म पुगेर आक्रमण गर्नसक्छ। सिमानामा भारतसँग अग्नि तेस्रो, अग्नि दोस्रो, अग्नि पहिलो नामक क्षेप्यास्त्रहरु पनि छन्। जसको संख्या क्रमशः १६, ८ र २० छ। अग्नि तेस्रोले ३ हजार दुई सय किलोमिटरसम्म पुगेर आक्रमण गर्नसक्छ भने अग्नि दोस्रो र अग्नि पहिलोले क्रमशः १ हजार ९९५ र १ हजार २ सय कलोमिटरसम्म पुगेर मार हान्न सक्छन्।

क्षेप्यास्त्रलाई मध्यनजर गर्दा चीन शक्तिशाली देखिन्छ। चीनका क्षेप्यास्त्रहरुले भारतका भन्दा धेरै टाढाको दुरी पार गरेर आक्रमण गर्नसक्छन्।

हवाई शक्ति
भारतसँगको सीमानजिक चीनले २०९ वटा युद्धक विमान तैनाथ गरेको छ।

यहाँ चीनका ३२ वटा जे–८एफ, २४ वटा जेएच–७ए फाइटर, ६४ जे–११ ए फाइटर, ५ वटा एसयू–२७ यूबीके, ३२ जे–७ आइआइएम फाइटर, ४४ डब्यूडी–१ के मानवरहित विमान र आठ इए–०३ मानवरहित विमान तैनाथ छन्।

उता चीनसँगको सीमा नजिक भारतले २ सय १२ वटा युद्धक तैनाथ गरेको छ।

भारतले ३७ वटा मिग–२१, ३४ वटा मिग–२७ फाइटर, ४२ वटा मिग–२९ विमान, १४ जागुवार आइएस फाइटर विमान, ८५ वटा एसयू–३० एमकेआई फाइटर विमान चीननजिकै तैनाथ गरेको छ।

पछिल्लो समय भारत र चीन दुवैले अत्याधुनिक हतियार प्रणाली विवादित क्षेत्रनजिकै तैनाथ गरेको दाबी गरेका छन्। भारतले फ्रान्सबाट खरिद गरेको राफेल विमान पनि चीनसँगको सीमामा खटाउने बताएको छ।

airfields-map-india-china.jpg
सीमानजिक भारत र चीनका हवाई अड्डा

चिनियाँ सैन्य सहायताको वर्चस्व
चीनले तिब्बत स्वायत्त क्षेत्रभर ठूलो पूर्वाधार विकास गरेको छ। समग्रमा सीमा क्षेत्रमा चिनियाँ सैन्य सहायताको वर्चस्व देखिन्छ।

चीनमा राम्रो सडक सञ्जाल, रेल सेवा छ। यहाँ संचारको राम्रो सुविधा विकास गरिएको छ। भारतमा भने एक उपत्यकादेखि अर्कोमा पुग्न र सञ्चार गर्न समस्या छ।

उच्च स्थानमा भएकाले सिमानाको पश्चिमी क्षेत्रमा रहेको पठारमा चिनियाँ जनमुक्ति सेनालाई भारतीय सेनाभन्दा बढी फाइदा पुग्छ।

चिनियाँ सेनालाई यहाँ भारतीय गतिविधि निगरानी गर्न सजिलो हुनेछ। साथै क्षेप्यास्त्र र अन्य हतियार आक्रमण गर्न चीनलाई सहज हुनेछ।

हवाई क्षेत्रमा भारतलाई सुविधा
चिनियाँ जनमुक्ति सेनाका मुख्य रणनीतिक हवाई बेसहरु निकै उचाइमा छन्।

प्रतिकूल मौसमले चिनियाँ हवाई सेनाको अवस्था कमजोर बनाउँछ। साथै यसले सीमामा हवाई सेनाको आक्रमक क्षमता ५० प्रतिशतसम्म कम गर्छ।

चिनियाँ युद्धक विमानले क्षमताअनुसार हतियार बोक्न नसक्ने, हावाको घनत्व कम भएको हुनाले यहाँ चिनियाँ युद्धक विमानजस्तै एसयू–२७ र जे–११ ले पुरै इन्धन र हतियारसहित उड्न नसक्ने अवस्था हुन्छ।

तर भारतीय सेनाका रणनीतिक हवाई बेसहरु तेजपुर, कालिकुन्ड, चाबुआ, हसिमारा लगायतका क्षेत्रमा छन्। भारतले चीनको जस्तो मौसमको प्रतिकूलता बेहोर्नु पर्दैन।

(साउथ चाइना मर्निङ पोस्टबाट। अनुवाद: सविन राई)

यो पनि:

यी हुन् चीनका सबैभन्दा शक्तिशाली हतियार

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .