नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भारतीय जनता पार्टीका नेताको भेटप्रति आपत्ति जनाएका छन्।
उनले आफ्नै पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई समेत जानकारी नदिई विदेशी नेतासँग भेट गर्नु आपत्तिजनक भएको दाबी गरेका छन्।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपाल पक्षका नेता रावलले आइतबार सामाजिक सञ्जालमार्फत् सो आपत्ति व्यक्त गरेका हुन्।
‘आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिई भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले वालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना हो। देश,पार्टी र पदको गरिमाको रक्षा होस्,’ पूर्व गृह तथा रक्षामन्त्री समेत रहेका रावलले भनेका छन्।
प्रधानमन्त्री एवं पार्टी केपी शर्मा ओलीले पार्टी तथा सरकार सञ्चालन राम्रोसँग नगरेको भनी प्रचण्ड-नेपाल पक्षले उनको राजीनामा माग गरेको छ।
यसैबीच नेपाल भ्रमणमा आएका भाजपाका विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवालेले गत बिहीबार प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए।
त्यसपछि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मधेसी दलका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो लगायतसँग भेट गरेका थिए।
उनी नेकपा महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निमन्त्रणामा नेपाल आएका हुन्।
यो पनि :
भारतीय जनता पार्टीका नेता चौथाइवाले नेपाल भ्रमणमा, प्रधानमन्त्री ओलीसँग भेट
Shares
प्रतिक्रिया