ad ad

राजनीति


प्रचण्ड–नेपाललाई पदको लोभी भन्ने ओलीले आफ्नो पद जोगाउन देशलाई बर्बाद पारे : रावल

प्रचण्ड–नेपाललाई पदको लोभी भन्ने ओलीले आफ्नो पद जोगाउन देशलाई बर्बाद पारे : रावल

नेपालखबर
पुस १४, २०७७ मंगलबार १२:३२,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सपना कुल्चेको बताएका छन्।

प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता रावलले संसद विघटन गरेर लोकतन्त्र र कम्युनिस्ट आन्दोलनमा ओलीले बुट बजारेको बताए।

‘संविधानमाथि ‘कू’ गरेर निर्वाचन घोषणा गर्न जनताले मत दिएका हैनन् तर प्रधानमन्त्रीले जनमतको कदर गर्न सकेनन्’, उनले भने, ‘यसले जनताको सपनामा बुट बजारिएको छ। यस्तालाई जनताले गाउँ–गाउँबाट लखेट्ने छन्।’

नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका रावलले संविधानको कुनै पनि धारामा प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकार नभएकाले प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको दावी गरे।

‘स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश पनि ल्याउँदिन, प्रतिनिधि सभा विघटन पनि हुँदैन भएका थिए,’ नेता रावलले भने, ‘तर, एकाएक प्रतिनिधि सभा विघटन भयो।’ पुस ५ गतेको दिन नेपाली राजनीतिक इतिहासमा कालो दिनका रुपमा चिनिएको नेता रावलले बताए।

नेता रावलले अरुलाई पदको लोभी भएको आरोप लगाउँदै प्रधानमन्त्रीले आफ्नो पद बचाउन देशलाई बर्बाद बनाएको बताए। ‘प्रचण्ड र माधव नेपाललाई पदको लोभी भन्ने ओलीले आफ्नो पद बचाउन देशलाई बर्बाद पारे’, उनले भने, ‘उनीभन्दा लोभी अरु को हुन सक्छ।’ अहिलेको लडाइँ सर्वसत्तावादविरुद्ध भएको उनको भनाइ थियो।

अहिलेको सरकार जनताप्रति उत्तरदायी नरहेको बताउँदै नेता रावलले यस विषयमा नेकपाले गहन रुपमा छलफल गरेर अगाडि बढ्ने बताए।

नेता रावलले नेपालको नयाँ नक्सा पार्टीले निर्णय गरेर निर्देशन दिएपछिमात्रै आएको दावी गरे। ‘पार्टी र चौतर्फी रुपमा दबाब आएपछि मात्रै बाध्य भएर सरकारले नक्सा ल्याएको हो’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .