प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहस सकिएको छ।
एमिकस क्युरीका रुपमा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिएसँगै बहस सकिएको हो।
इजलासले सहभागी अधिवक्ताहरुलाई सोमबारसम्ममा बहस नोट उपलब्ध गराउन भनेको छ। त्यसपछि यो मुद्दा हेर्दाहेर्दैमा रहने र जुनसकै बेला फैसला हुनसक्ने छ।
पक्ष र विपक्षका कानुन व्यवसायीको बहस सकिएपछि चार दिन एमिकस क्युरीमा रहेका नेपाल बार एसोसियसन र सर्वोच्च अदालत बार एसोसियसनका ५ वरिष्ठ अधिवक्ताले राय दिएका हुन्।
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि सुनुवाइ सुरु भएको थियो। सुरुका १३ दिन रिट निवेदक पक्षका ७२ कानुन व्यवसायीले बहस गरेका थिए। त्यसको जवाफमा प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता, सरकारी वकिल र निजी कानुन व्यवसायी गरी ४८ जनाले ९ दिन बहस गरेका थिए।
त्यसको जवाफमा फेरि २ दिन रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस गरे। यस्तै सभामुख पक्षका तीन कानुन व्यवसायीले पनि बहस गरेका थिए।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन्।
प्रधानमन्त्री केपी ओलीको सिफासिमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्। उक्त विघटनविरुद्ध १३ वटा रिट परेका थिए।
रिट निवेदकले संसद् विघटन असंवैधानिक भन्दै पुनर्स्थापनाको माग गरेका छन्। तर प्रधानमन्त्री पक्षले भने संसदीय व्यवस्थामा प्रधानमन्त्रीले विघटन गर्न सक्ने भन्दै रिट निवेदन खारेज हुनुपर्ने बताउँदै आएका छन्।
एमिकस क्युरीमा रहेका बहुमत अधिवक्ताको राय पनि संसद् पुनर्स्थापनाकै पक्षमा छ। एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक संग्रौला रहेका थिए। यीमध्ये मैनालीले मात्रै संसद विघटनको पक्षमा राय दिएका हुन्।
Shares
प्रतिक्रिया