ad ad

राजनीति


माधव नेपाल पक्षले बाेलायाे राष्ट्रिय भेला

माधव नेपाल पक्षले बाेलायाे राष्ट्रिय भेला

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार १५:१४,

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा माधवकुमार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल पक्षले चैत ४ गतेका लागि पार्टीकाे राष्ट्रिय भेला बोलाएकाे छ।

त्यसमा केन्द्रीय सदस्य, सांसद, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी, जनसंगठनका पदाधिकारी र जनसंगठनका जिल्ला अध्यक्षहरु सहभागी हुने नेता बेदुराम भुसालले नेपालखबरसँग बताए।

‘केपी ओलीले विघटन गर्नुभयो, हामी पुनर्गठन गर्छौं,’ उनले भने।

ओलीले नेपाल पक्षलाई बाइपास गरेर नेताहरुलाई जिम्मेवारीविहीन बनाएपछि शुक्रबार आकस्मिक रुपमा सो पक्षका स्थायी समिति सदस्यहरुको बैठक बसेको थियो।

सो बैठकले भोलि शनिबार केन्द्रीय सदस्यहरुको बैठक राखेको छ।

महाधिवेशन हुन नसकेको अवस्थामा महाधिवेशनले गर्ने महत्वपूर्ण निर्णयहरु त्यसअघि नै गर्नुपरेमा राष्ट्रिय भेलाको आयोजना गरिन्छ।

प्रधानमन्त्री ओलीले आफू पक्षमा रहेका सांसदहरुविरुद्ध पनि केही कदम चाले के गर्ने भन्ने बारेमा पनि नेपाल पक्षले छलफल सुरु गरिसकेको छ।

सांसदहरुमध्ये प्रत्यक्ष निर्वाचितलाई कारवाही गरे पनि उनीहरु स्वतन्त्र सांसदको हैसियतमा संसदमा रहिरहन सक्छन्। तर, आफ्नो पक्षका समानुपातिक सांसदलाई ओलीले हटाउन खोजे सामूहिक राजीनामा दिने समेत तयारी भएको स्रोतले जनाएको छ।

बालुवाटारनिकट एक नेताका अनुसार अध्यक्ष ओलीले केहि नेताहरुलाई आफूले माधव नेपालबिना नै पार्टी चलाउने संकेत गरेका थिए।

उनले शुक्रबार त्यस्तै कदम चालेका छन्।

वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायत उनीहरु पक्षका कुनै पनि नेताहरुलाई जानकारी नदिई राखिएको आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठकबाट उनले २३ जना माओवादी नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन्।

शुक्रबार नै त्यसलगत्तै बसेको पूर्वमाओवादी नेतासहितको बैठकबाट नेपाल–खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसिएको हो।

२०७१ साल असारमा भएको नवौं महाधिवेशनमा ओली र नेपाल अध्यक्षका प्रत्याशी थिए। ओलीसँग नेपाल करिव ५० मतले पराजित भए। तर, सो महाधिवेशमनमा नेपाल पक्षले तीन उपाध्यक्ष, एक उपमहासचिव र तीन सचिवसहित पदाधिकारीमा स्पष्ट बहुमत जितेको थियो।

स्थायी समितिमा नेपाल पक्ष र ओली पक्षको समान ११-११ जनाले जितेका थिए।

केन्द्रीय समितिमा भने ओली पक्ष केही बलियो अवस्थामा थियो।

माओवादी केन्द्रसँग एकीकरण गरेर नेकपा बनाएपछि नेपाल पार्टीको तेस्रो वरियतामा थिए। तर, २०७६ भदौमा नेपालको वरियता समेत घटुवा गरेपछि ओली र नेपालको सम्बन्ध चिसिँदै गएको हो।

त्यसपछि २०७७ बैशाख ८ गते दल विभाजन खुकुला पार्नेगरी अध्यादेश ल्याएपछि ओली र नेपालमात्र होइन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि ओलीसँग झस्किएका हुन्।

त्यसपछि नेकपामा ओलीविरुद्ध नेपाल र प्रचण्ड समूह कसिलो बन्दै गएको हो।

प्रचण्ड, नेपाल, खनाल र गौतम लगायतका प्रभावशाली नेताहरु एकैठाउँमा उभिएपछि सबैतिर अल्पमतमा परेका प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा नै विघटन गरे। सो कदमले नेकपा व्यवहारिकरुपमा विभाजित भयो।

प्रचण्ड र नेपालले संसद विघटनविरुद्ध सडक संघर्ष नै गरे। फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने कदम बदर गरिदिएको थियो।

तर फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाममाथि परेको रिटमाथि फैसला गर्दै ऋषि कट्टेललाई आधिकारिकता दिएपछि एमाले र माओवादी केन्द्र नै अस्तित्वमा आएका छन्।

व्यहारिकरुपमा छुट्टिइसकेका ओली र नेपाल पक्ष एमाले ब्युँताउने अदालतको निर्णयका कारण एकैठाउँमा पुगेका थिए।

दुवै पार्टी ब्युँतिएपछि नेपाल पक्षका नेताहरुले तत्कालै आफूहरु एमालेमै फर्किने घोषणा गरेका थिए।

तर शुक्रबार ओलीले चालेको ‘एक्स्ट्रिम’ कदमबाट ठूलो झट्का खेपेका नेपाल पक्षले पनि आफूहरु सोहिअनुसार कदमका लागि तयार रहेको नेपालनिकट एक नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .