प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि आफूनिकट रहेका नेता खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन्।
सँधै महत्वपूर्ण रहने गृह मन्त्रालयको आकर्षण यसपटक झनै बढेको थियो।
सरकारले कात्तिक र मंसिरमा चुनाव गर्ने घोषणा गरेको छ। यदि आगामी राजनीति त्यहि कोर्समा गएको खण्डमा गृहमन्त्रीको महत्व अझ बढी हुनेछ। जसका कारण अब बन्ने गृहमन्त्रीबारे थप चासो भएको हो। प्रतिनिधि सभा विघटनबारेको मुद्दा अदालतमा विचाराधीन रहेका कारण त्यसको निश्चित भने छैन।
प्रधानमन्त्री ओलीनिकट रहेका नेताहरुबीच सो मन्त्रालयको नेतृत्व हात पार्न केही दिनदेखि तीव्र प्रतिस्पर्धा सुरु भएको थियो।
ओलीनिकट रहेका दुई युवा नेताहरु गोकुल बाँस्कोटा र महेश बस्नेत पनि त्यो प्रतिस्पर्धामा थिए।
पछिल्लो समय खगराज अधिकारी पनि अघि सारिए।
ओलीका विश्वासपात्र बस्नेत र बाँस्कोटा दुवैले गृहमै जान जोड गरेका थिए। तर दुईमध्ये एकजनालाई गृहमन्त्री बनाउँदा एकले अर्कोलाई स्वीकार्ने स्थिति नबनेपछि ओलीले दुवैका लागि स्वीकार्य हुने अधिकारीलाई अघि बढाएका हुन्।
अधिकारी लामो समयदेखि प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन्।
२०२९ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका अधिकारी २०३७ सालमा भएको अनेरास्ववियुको छैठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए।
पञ्चायतभर वामदेव गौतमनिकट रहेका उनी बहुदलीय व्यवस्था आएपछि माधवकुमार नेपालसँग नजिक बने। त्यतिबेला गौतम गण्डकीका इन्चार्ज हुन्।
तर गण्डकी अञ्चलमा नेपालले अधिकारीलाई भन्दा तुलबहादुर गुरुङलाई प्राथमिकता दिन थालेपछि अधिकारी विस्तारै ओलीनिकट हुँदै गएका हुन्।
‘गण्डकीको स्थानीय प्रतिस्पर्धाकै कारण अधिकारी नेपालसँग टाढिएर ओलीनिकट भएका हुन्,’ एक एमाले नेताले भने।
२०५१ को मध्यावधि निर्वाचन र २०५६ को आमनिर्वाचनमा अधिकारी कास्की १ बाट निर्वाचित भएका थिए।
२०७४ सालमा कास्की १ बाट पुननिर्वाचित भए। सुशील कोइराला नेतृत्वको सरकारमा २०७० फागुनदेखि २०७२ असोजसम्म स्वास्थ्यमन्त्री बनेका थिए।
अहिले पार्टी समितिहरु र संसदमा पनि ओली गुटको देशभरमै सबैभन्दा बलियो उपस्थिति गण्डकी प्रदेशमा रहेको छ।
त्यसो हुनुमा कास्कीका अधिकारी, लमजुङका पृथ्वीसुब्बा गुरुङ र पर्वतका गणेश तिमिल्सिनाको मुख्य भूमिका रहेको मानिन्छ।
उनी एमालेका पोलिटब्युरो सदस्य हुन्।
Shares
प्रतिक्रिया