ad ad

राजनीति


सचिव टेकनारायण पाण्डेमार्फत केशव दुलालले यसरी मिलाउँथे ‘सेटिङ’ (संवादसहित)

सचिव टेकनारायण पाण्डेमार्फत केशव दुलालले यसरी मिलाउँथे ‘सेटिङ’ (संवादसहित)

उजिर कार्की
जेठ १०, २०८० बुधबार २१:३८, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणका दुई अभियुक्त सचिव टेकनारायण पाण्डे र केशव दुलालबीच लामो संवाद भएको खुलेको छ। प्रहरी अनुसन्धानका क्रममा टेकनारायण पाण्डे र केशव दुलालको मोबाइल परीक्षण गर्दा उक्त संवाद भेटिएको हो। 

उनीहरुविरुद्ध बुधबार अदालतमा अभियोग दर्ता गर्दा ती संवाद पनि प्रमाण्का रुपमा बुझाइएको छ। अभियोग पत्रमा उल्लेख भएअनुसार वाट्सएप र भाइबरमा यस्तो कुराकानी हुने गरेको थियो। 

नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने र सो बापत प्राप्त भएको रकम बाँडफाँट समेत गर्ने गरेको खुलेको छ। 

सरकारी तबरबाट भएका निर्णय एवं कुराकानीहरुको जानकारी लिनेदिने बारेमा पनि संवादहरु भएको प्रमाण फेला परेको छ। संवादमा भुटानी शरणार्थी छुट दर्ता गरी शिविरबाहिरका नेपालीहरुलाई अमेरिका पठाइदिने व्यवस्था गर्ने, मन्त्री बालकृष्ण खाँणलाई भेट्ने, आर्थिक व्यवस्थापन गर्ने, पैसा बुझाउने र यस सम्बन्धमा विभिन्न मानिसहरुले गरेका नकारात्मक टिप्पणीहरुको जानकारी लिनेदिने समेतका सूचनाहरु आदानप्रदान भएको देखिन्छ।

बालकृष्ण पन्थीको प्रतिवेदन मन्त्रिपरिषदमा प्रस्ताव नै नगरी सचिव पाण्डेले २०७८ असोज १४ गते सचिवस्तरीय निर्णयबाट जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाई छुट भएका शरणार्थीहरुको विवरणलाई पुनः प्रमाणीकरण गरी पेस गर्ने समेतको कार्यादेश दिएका थिए। 

समितिले कुनै काम नै नगरेको अवस्थामा २०७९ जेठ २७ गते मन्त्रिस्तरको निर्णयबाट पुनः २ महिना म्याद थप भएको थियो। नेपाली नागरिकहरुलाई भुटानीको रुपमा घुसाउनका लागि छुटेका शरणार्थीहरुको नाम समावेश गर्ने समेतको कार्यादेश थप गरिएको थियो। 

सो समितिले काम नगरेको अवस्थामा काम छिटो सम्पन्न गर्न बारम्बार झापा जिल्लाका सहायक प्रजिअलाई दबाब दिएको, सोही काम गराउन मन्त्रालयका आफू मातहतका कर्मचारीहरुलाई सहायक प्रजिअबाट चाँडो काम गराउन दबाब दिएको र बालकृष्ण पन्थीले दिएको प्रतिवेदन मन्त्रिपरिषदबाट फिर्ता भई आएपछि अध्ययनको लागि भनी सम्बन्धित शाखाबाट माग गरी लामो समयसम्म आफैँले राखेको खुलेको छ।

नेपाली नागरिकहरुलाई भुटानी शरणार्थीहरु हुन् भनी व्यहोरा थपघट गरी नक्कली प्रतिवेदन गृह मन्त्रालयमै तयार गरेर राख्ने कार्य गरेको, गृह मन्त्रालयको परम्परा विपरीत आफैँले यूएनएचसीआरका प्रतिनिधिहरुलाई बोलाई दर्ता हुन छुटेका भुटानी शरणार्थीहरुको सन्दर्भमा बैठक गराउने गरेको गृह मन्त्रालयका कर्मचारीहरुले खुलाएका छन्। टेकनारायणले यसका लागि पटकपटक बिचौलिया केशव दुलालसँग कुरा गरेको समेत प्रमाण फेला परेको छ। 

यस्तो छ केशव दुलाल र टेकनारायण पाण्डेको संवादः 

१८ अप्रिल २०२२
केशव दुलाल– सर पन्थी सरले कस्तो राय दिनु भयो?

टेकनारायण– डिटेल कुरा भो, अब यूएनएचसीआरसँग मिटिङ छ। अनि थप काम हुन्छ।

केशव– छुट भएको हकमा कसरी गर्ने हजुर?

टेकनारायण– मिलाउँछन्।

केशव– क्याम्पमा नभएकाको हकमा? 

टेकनारायण– ठिक छ, मिलाउने हो।

केशव– सर, आउट अफ क्याम्प रिफ्युजी क्यान्डिडेटलाई एप्लिकेसन कहाँ दिन लगाउने हजुर? 

टेकनारायण– छलफल हुँदै छ।

३१ मे २०२२ 
केशव– प्रमोद शर्मा मन्त्रीसँग नजिक छन हजुर, टेकनाथ रिजाललाई हाम्रो डिसिजनबिना हुन्न भन्दै थिए रे। 

टेकनारायण– प्रमोद चिन्छु, मन्त्रीज्यूको सामान रेडी भएन?

केशव– भोलि रेडी हुन्छजस्तो छ हजुर।

टेकनारायण– मन्त्रीज्युलाई म भेट गराउँछु। 

केशव– भोलि फाइनान्सियल एरेन्ज भएपछि हजुर मार्फत भेट्ने हो हजुर। 

टेकनारायण– हस्। 

२ जुन २०२२ 
केशव– सर नमस्ते, मन्त्रीज्यूसँग कति बजे टाइम भयो हजुर? 

टेकनारायण– मन्त्रीज्यूको गिफ्ट ल्याएनौ? 

केशव– ओके, गेटमा हजुर तल भन्दिनु न। 

टेकनारायण– मन्त्रालय गेट हो?

केशव– हजुर।

टेकनारायण– ल भन्या छु, गिफ्ट माथि लिएर आउनू, गिफ्ट कहाँ छ, सँगै लिएर आउनू। 

बयानका क्रममा केशवले टेकनारायण पाण्डेलाई नगदै एक करोड २४ लाख ५० हजार उनको कार्यकक्षमा नगदै दिएको भनी बताएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .