ad ad

राजनीति


शरणार्थी मुद्दा : आफ्ना वकिलले बहस सुरु गरेपछि बौरिए ओइलाएका अभियुक्त

न्यायाधीशले सोधे- प्रतिवादी र जाहेरवाला दुवै जान खोज्ने, आखिर के रहेछ अमेरिकामा?
शरणार्थी मुद्दा : आफ्ना वकिलले बहस सुरु गरेपछि बौरिए ओइलाएका अभियुक्त

उजिर कार्की
जेठ २४, २०८० बुधबार २१:१२, काठमाडौँ

जिल्ला अदालत काठमाडौंमा तीन दिन आफैँविरुद्धको बहस सुनेपछि ओइलाएका नक्कली शरणार्थी प्रकरणका अभियुक्तको प्रतिरक्षा सुरु भएको छ। आफ्ना वकिलको बहस सुरु भएसँगै इजलासमा प्रतिवादीहरु उत्साहित देखिएका छन्। 

सधैँभन्दा बुधबार इजलासको माहौल नै छुट्टै थियो। उनीहरुको उत्साह हेर्दा लाग्थ्यो, उनीहरु उनीहरु अब छुट्दैछन्। जाहेरवालाको तर्फबाट सरकारी वकिलको बहसमा जस्तो न्यायाधीश प्रेमप्रसाद न्यौपानेले प्रतिवादीको वकिललाई प्रतिप्रश्न गरेका छैनन्। 

उनी अभियुक्तका वकिलले पेस गरेका नजिरहरु टिप्छन्, उनीहरुको दाबीमा चित्त बुझेजसरी मुन्टो हल्लाउँछन्। उनले सरकारी वकिलले बहस गर्दा पटकपटक प्रतिप्रश्न गरेका थिए। 

तर तीन दिन एकोहोरो आफूविरुद्धको बहस सुनेका अभियुक्तहरुले न्यायाधीशबाट प्रतिप्रश्न सुनेनन्। आफ्ना वकिलले निर्दोष दाबी गरेको सुन्न पाएर उत्साहित भए। 

बिहान ११ बजे पहिलो नम्बरमा प्रतिवादी बनाइएका केशव दुलालका तर्फबाट प्रतिरक्षा सुरु भयो। अधिवक्ता विकास भट्टराई इजलासमा उभिए। 

भट्टराईले दुलाल आफैँ पीडित भएको दाबी इजलासमा गरे। प्रहरीले यो ठगी प्रकरणको सुरुदेखि नै दुलाल संलग्न रहेको अनुसन्धान प्रतिवेदन बुझाएको छ। अभियोग पत्रमा पनि यही उल्लेख छ। 

भट्टराईले भने, ‘केशव दुलालले आफैँ शरणार्थी बनेर अमेरिका जान २५ लाख बुझाएका छन्। उनी त पीडित हुन्, उनको ठग्ने मनसाय छैन। जबरजस्ती व्याख्या गरेर कसुरदार बनाउन मिल्दैन।’

अधिवक्ता भट्टराईले यसो भनिरहँदा इजलासको पछाडि रहेका दुलाल अर्का वकिलको कान फुक्न अगाडि पुगे। दुलालको तर्फबाट बहस गर्न ६ जना अधिवक्ता खडा थिए। 

आफ्ना अधिवक्ताले के भन्छन् भन्नेमा दुलाल चनाखो देखिन्थे। उता अधिवक्ता भट्टराई दुलाल पुरै चोखो रहेको र साधारण तारेखमा छाड्न माग गरिरहेका थिए। 

अन्तमा उनले भने, ‘इजलासलाई लाग्छ भने साधारण धरौटी लिएर छाडियोस्।’

त्यसपछि बहस गर्न थाले विकास थापाले। उनी पनि दुलालकै तर्फबाट उपस्थित थिए। अभियोग पत्रमाथि गम्भीर प्रश्न उठाउँदै उनले सुरु गरे, ‘यो अभियोग नै दन्त्य कथाजस्तो छ प्रमाण केही पनि छैन। मिडिया ट्रायल र चोकमा कसले के भन्छ भन्ने छाडिदिऊँ श्रीमान्, विज्ञ बेन्चले प्रमाण हेरेर आदेश गर्ने हो।’

जाहेरवाला भुटानी शरणार्थी भइनसकेको र जाहेरवालाले नै आफूहरुलाई पनि शरणार्थी बनाएर पठाइदिनु भन्दै आएको तर्क गरे। गैरकानुनी काम गर्न जाहेरवालाले नै उत्साहित गरेकाले उनीहरुलाई पनि कारबाही गर्न माग गरे। 

तर उनले दुलाललाई भने कारबाही हुन नसक्ने जिकिर गरे। दुलालका वकिलले बहस थालेपछि यही मुद्दाका अभियुक्त सचिव टेकनारायण पाण्डे पनि नोट गर्न थाले। 

नजिकै रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण घरीघरी सचिव पाण्डेतिर हेर्थे। यही बेन्चमा रहेका आङटावाले टाउकोमा लगाएको पट्टी खोलेर कोटको गोजीमा राखे।

सचिवले नोट गरेको देखेर केही समयपछि उनले पनि थाले। टोपबहादुर रायमाझीकी कानुन व्यवसायी भने उनीसँगै थिइन्। घरीघरी रायमाझी उनीसँग कुरा गरिरहन्थे। इन्द्रजितकी वकिल ठिक अगाडि थिइन्। 

सबैले आफ्ना वकिलसँग सल्लाह गर्न थालेपछि उनी पनि चिया ब्रेकपछि पछिल्लो बेन्चमा सरिन्। तीन जना अटाउने बेन्चमा चार जना बसे। 

दुलालको पक्षमा बहस गरेका विश्वास आचार्यले अभियोग पत्रमा भनिए अनुसार रकम लिएकै भए पनि दुलालको भागमा ७२ लाख ९६ हजार ८ सय ३३ रुपैयाँ ३३ पैसा पर्ने बताए। तर दुलालले कसैसँग रकम नलिएको र सन्देश शर्माले बाहेक अन्य प्रतिवादीले पनि बयानमा नपोलेकोले सफाइ पाउने दाबी गरे। 

लिएकै भए पनि नगदै लिएको र त्यसको प्रमाण नभएकाले अदालतले दोषी ठहर गर्न नसक्ने उनको जिकिर थियो। दुलाललाई थुनामुक्त गरे न्यायाधीशको नाम स्वर्णिम अक्षरले लेखिने र ठूलो नजिर बन्ने दाबी गर्दै उनले बहस टुंग्याए। 

वरिष्ठ अधिवक्ता योगेन्द्र अधिकारीले पनि यो मुद्दाका प्रतिवादीलाई थुनामा पठाए अदालतको साखै नरहने भएकाले बचाउने आफूहरुले नै भएको दाबी गरे। मिडिया र अनुसन्धान अधिकारीप्रति उनी रुखो रुपमा प्रस्तुत भए। 

तर यसले अभियुक्तहरुले भने सहानुभूति पाइरहेको देखिन्थ्यो। अरु दिनभन्दा इजलासको पछिल्लो बेन्चमा छुट्टै उत्साह थियो। उनीपछि नरबहादुर योगी र राजन भट्टराईले दुलालको पक्षमा बहस गरे। अन्तिममा बहस गरेर भट्टराईले अभियोग सुन्नलाई रमाइलो भए पनि प्रमाणित हुने अवस्था नरहेको बताए। 

दुलालका तर्फबाट ६ वकिलले २ घण्टा बहस गर्दा दिउँसोको १ बज्यो। त्यसपछि इजलासमा अलमल भयो। प्रतिवादीका वकिलको सल्लाह अभियोग पत्रमा भएको रोलक्रम अनुसार नै गर्ने भन्ने थियो। 

पहिलो नम्बरमा रहेका दुलालका वकिलले पहिलो दिन लिनसक्ने आकलनसहित सानु भण्डारीका वकिल तयार थिएनन्। कतिपय वकिल एकभन्दा बढी प्रतिवादीका तर्फबाट थिए। 

न्यायाधीश न्यौपानेले निरन्तरता दिन भनेपछि सानु भण्डारीको तर्फबाट विनोद शर्माले बहस गर्न थाले। सानु भण्डारीले ४ जनासँग मात्रै रकम लिएको र त्यो पनि घरजग्गाको प्रयोजनको लागि लिएको दाबी गर्दै उनले फिर्ता गरिसकेको बताए। 

‘बाँकी जाहेरवालालाई मेरो पक्ष (सानु भण्डारी)ले चिन्दैनन्। चिन्दै नचिनेको मान्छेले कसरी पैसा दिन सक्छ श्रीमान्? चिन्दै नचिनेको मान्छेले विनाप्रमाण जाहेरी दिएपछि मेरो पक्षले आत्मादाह नगरेर के गर्ने?’ खरो बचाउमा उत्रिए शर्मा। 

अन्य अभियुक्तका वकिलको बहस टेकनारायण पाण्डे र आङटावा शेर्पाले टिपिरहेका थिए। बालकृष्ण घरीघरी टेकनारायणतिर हेर्थे। टेकनारायणले अर्को पन्ना भरिसकेका थिए। बालकृष्णको ठिक पछाडि थिए, उनी गृहमन्त्री हुँदाका निजी सचिव नरेन्द्र केसी। 

इजलासमा पनि उनी त्यही भूमिकामा प्रस्तुत भए। बालकृष्णले उनीसँग कानेखुसी गरे। त्यसपछि नरेन्द्रले पनि कागजको पन्नामा केही लेख्न थाले। अगाडि सानु भण्डारी र टंक गुरुङका वकिल बहस गरिरहेका थिए। 

इन्द्रजितलाई सानु भण्डारीले पैसा नदिएको र उनी यसरी पैसा लिनुपर्ने आर्थिक अवस्थाको पनि नभएको शर्माको दाबी थियो। छोराहरुको कमाइ र आफ्नो कमाइबाट पुग्दो आम्दानी रहेको शर्माले बताए। 

इन्द्रजितको आर्थिक अवस्थाबारे बताएपछि शर्माले टोपबहादुरको नाम लिन थाले। उनलाई पनि सानु भण्डारीले नै रकम दिएको अभियोगपत्रमा उल्लेख छ। त्यसको खण्डन गर्न उनले टोपबहादुरको पनि हैसियतबारे व्याख्या गरे। 

‘घुसै खानु परेको भए टोपबहादुरले ४० लाखमा चित्त बुझाउनु हुन्नथ्यो। २९ करोड उठाउँदा उहाँले यति मात्रै लिनुहुन्थ्यो होला त श्रीमान्?’ त्यसपछि उनले प्रेम राईले पैसा लिएको प्रसंग जोडे। अभियोग पत्रमा सानु भण्डारीले प्रेमकुमार राईलाई पनि पैसा दिएको भन्ने बयानमा उल्लेख छ। 

सानु भण्डारीले प्रहरी र सरकारी वकिलसामु दिएको बयान इजलासमा खण्डन गर्न थाले उनका वकिल। ‘२२४ पानाको अभियोग पत्रमा कहाँ पुष्टि हुन्छ, सानु भण्डारीको संलग्नता? अभियोग लगाउने पक्षले प्रमाण ल्याओस्,’ शर्माले नजिकै रहेकी सरकारी वकिललाई देखाउँदै भने। 

गणेश केसीलाई कार्यदलमा पठाएको भन्ने कुराको पनि उनले खण्डन गरे। केसीलाई पठाउन सक्ने भए भण्डारी आफैँ रिचार्ज कार्ड बेच्न छाडेर सदस्य बन्न जाने उनको तर्क थियो।

सानु भण्डारीबाट बरामद डायरी पनि प्रमाणका रुपमा पेस गर्न नमिल्ने उनको भनाइ थियो। भण्डारीकै घरजग्गा लिलामी हुन लागेको बताउँदै शर्माले एक घण्टा लामो बहस २ बजेपछि टुंग्याए। चर्को स्वरमा बहस गरेर उनी फर्किंदा सानु भण्डारीले हात माथि उठाएर बुढी औँला देखाउँदै बहस राम्रो गरेको संकेत गरे। 

खाजा ब्रेकपछिको बहस चुडामणि पोखरेलले सुरु गरे। उनले टंक गुरुङलाई चोख्याउँदै बहस अगाडि बढाए। 

‘टंक गुरुङलाई त कसैले पनि नगद दिएको छैन। खातामा पनि पैसा आएको छैन। १ करोड ४० लाख त घर बनाउँदाको ऋण छ। बैंकले घर लिलाम गर्न लाग्यो, २८/२९ करोड लिएको भए ऋण तिर्थे होला नि,’ पोखरेलले भने। 

उनको होटलमा कसैले आएर खाँदैमा बैठक गरेको भन्न नमिल्ने बताए। शिवप्रसाद रिजालले पनि अभियोगमाथि नै प्रश्न उठाए। 

उता बालकृष्ण खाँणसँग कानेखुसी गरेपछि नोट गर्न थालेका नरेन्द्रले एक पाना भरेर खाँणलाई दिए। खाँणले निकैबेर घोरिएर नरेन्द्रले लेखेको कुरा पढे। अनि पट्याएर गोजीमा राखे। 

अभियोग पत्रमा अपराधी करार गरिएको र सानु भण्डारीलाई नाइके भनिएकोमा रिजालले आपत्ति जनाए। उनले बहसका क्रममा जाहेरवाला कहाँ छन् भन्दै सोधेका थिए। अनि भने, ‘यी प्रतिवादीलाई थुनामा राखेर मुद्दा सल्टिन्छ भने सल्टियोस्।’

अधिवक्ता साधुराम सापकोटाले पनि सानु भण्डारीको तर्फबाटै बहस गरे। अभियोजन पक्षलाई उनले धृतराष्ट्रभन्दा खराब भएको आरोप लगाए। 

उनले प्रहरी र वकिलले गराएको बयानलाई अदालतले प्रमाणका रुपमा लिन नमिल्ने र स्वतन्त्र प्रमाणले पुष्टि गर्नु पर्ने बताए। उनले भने, ‘हिरासतमा गराएको प्रमाण त स्वयम् अभियोजन पक्षले पनि मानेको छैन। मानेको भए प्रेम राई र नैनकलाहरुको पनि नाम आएको थियो। उनीहरुलाई पनि प्रतिवादी बनाउनु पर्थ्यो नि। वादी पक्षले नै सानुको बयान मानेको देखिएन, छानीछानी मुद्दा चलाएको छ।’

मुद्दा पुर्पक्षका क्रममा अब सानु भण्डारीलाई छाड्दा फरक नपर्ने र नभाग्ने उनले बताए। अब अमेरिका भाग्न खोजे पनि अमेरिकाले नै भिसा नदिने उनले बताए। 

सापकोटाले बहस टुंग्याउँदै गर्दा न्यायाधीशले प्रश्न सोधे, ‘प्रतिवादी पनि जान खोज्ने, जाहेरवाला पनि जान खोज्ने आखिर के रहेछ अमेरिकामा?’

एक सांसद नेपाल फर्किनुभन्दा त्यहाँ काम गर्न थालेको उदाहरण दिँदै उनले जवाफ दिए। 

उता बहस टिपिरहेका आङटावा शेर्पाले गोजीमा रहेको पट्टी निकालेर टाउकोमा लगाए। उनको टाउको हिरासतमा परेकै रात फुटेको थियो। त्यतिबेला टाँका लगाएर बाँधिएको पट्टी अहिले फेटाजस्तो भएको छ। त्यो पट्टी उनी घरी लगाउँछन्, घरी कोटको गोजीमा राख्छन्। टाउकोको चोट खाटा बस्दै गएको देखिन्छ।

बहस भने सानु भण्डारीकै बचाउमा निरन्तर थियो। अधिवक्ता खडानन्द कँडेलले पनि अभियोजनमै प्रश्न गरे। ‘अवैध रुपमै विदेश पठाउन खोजेको हो भने मानव बेचबिखनको कसुरमा किन मुद्दा चलाइएन?’ कँडेलले प्रश्नसँगै आफैँ जवाफ पनि दिए, ‘किनभने यहाँ फण्डा छ।’ 

उनले यी प्रतिवादीलाई थुनामा पठाए राज्यले भात खुवाउनु पर्ने बताउँदै सरकारी पैसाले भात खुवाउनुभन्दा छाड्नु पर्ने तर्क गरे। 

टंक गुरुङको गुरु पनि हुँ भन्दै वरिष्ठ अधिवक्ता निरसिंह कुमार खत्रीले छोटो बहस गरे। उनले टंक साह्रै सोझो रहेकाले यस्ता कार्यमा उनी संलग्न हुनै नसक्ने दाबी इजलासमा गरे। न्यायाधीशले भने मुसुमुसु गर्दै सुनिमात्रै रहे। 

यसअघि सानु भण्डारीको पक्षमा एकघण्टा बहस गरेका विनोद शर्मा फेरि इजलासमा अघि बढे। ‘म टंक गुरुङकोमा पनि छु। अहिलेचाहिँ उनको तर्फबाट,’ उनले भने, ‘टंकले रेस्टुरेन्ट खोल्नु नै दुर्दशा भयो। उसलाई कुकमा जहाँ गए पनि एकसवा लाखको जागिर जसले पनि दिन्छ।’

कसैसँग पैसा नमागेको र बायोमेट्रिक गर्न पनि नजानेको र नगएको दाबी गर्दै टंक निरीह रहेको बताए। ‘यो मान्छे त सेतो टोपी लगाएर भात पकाउने मान्छे हो। अनि भात पकाउने मान्छेले भनेर कसैले देला त पैसा? भात पकाएर बसेको यो निरीहलाई फसाइयो।’

बहस सकेर अधिवक्ता शर्मा टंक गुरुङलाई भेट्न पछाडि पुगे। अनि टंकलाई भने, ‘मैले ठिक भनेँ होइन?’ 

जवाफमा टंक हाँसे। बिहीबार पनि प्रतिवादीकै तर्फबाट बहस हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .