ad ad

राजनीति


माओवादीका पदाधिकारी : टिकट पाएका १० मध्ये पाँच नेताले जित्दा अरू पराजित

माओवादीका पदाधिकारी : टिकट पाएका १० मध्ये पाँच नेताले जित्दा अरू पराजित

रुपक चौलागाईं
मंसिर ११, २०७९ आइतबार १५:५, काठमाडौँ

प्रतिनिधिसभातर्फका १६५ निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रले ४६ क्षेत्रमा उम्मेदवारी दिएको थियो। गठबन्धनका दलहरुबीच भागवण्डा मिलाउँदा माओवादी केन्द्रको भागमा परेका ४६ वटै सिटमा उम्मेदवारहरु खडा गरिएको थियो।

जसमध्ये यो समाचार तयार पार्दासम्म माओवादी केन्द्रले १७ स्थानमा विजय हासिल गरेको छ। यो भनेको उम्मेदवारी दिएको संख्याको ३६.१७ प्रतिशत हो।

परिणाम आउन बाँकी ९ क्षेत्रमध्ये ३ वटा स्थगित छन्। ती मध्ये एउटा क्षेत्र (दोलखा)मा मात्र माओवादी केन्द्रका उम्मेदवार छन्। मतगणना जारी भएका ६ क्षेत्रमा माओवादी केन्द्रले कहीँपनि अग्रता लिएको छैन्।

माओवादी केन्द्रले उम्मेदवार बनाएकाहरुमध्ये १० जना पार्टीका पदाधिकारीहरू थिए। गत पुसमा सम्पन्न महाधिवेशनबाट निर्वाचित २१ जना पदाधिकारीहरूमध्ये १० जनाले संघीय सांसदका लागि टिकट पाएका थिए। ती १० मध्ये ५ जनाले निर्वाचित हुँदा ५ जना पराजित भएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचित्रय वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र शक्ति बस्नेत, सचिव देवेन्द्र पौडेल निर्वाचित भएर संघीय संसदको ढोका खुला गरेका छन्।

महासचिव देव गुरुङ, उपमहासचिवत्रय मातृका यादव, पम्फा भुसाल र गिरिराजमणी पोखरेल, सचिव चक्रपाणि खनालले निर्वाचनमा पराजय व्यहोर्नपरेको हो।

अन्य पदाधिकारीमध्ये नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालाई पार्टीले टिकट दिएन। सचिवहरु लिलामणी पोख्रेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की, डिलाराम आचार्यले पनि टिकट पाएनन्। त्यस्तै, उपमहासचिव हरिबोल गजुरेल र कोषाध्यक्ष श्रीराम ढकाल पनि टिकट पाएका थिएनन्।

प्रचण्ड, गोरखा–२
अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन्। ०७४ को चुनावमा चितवन–३ बाट निर्वाचित भएका प्रचण्ड यो पटक निर्वाचन लड्नका लागि गोरखा पुगेका थिए। प्रचण्ड भारी मतान्तरसहित गोरखा–२ बाट निर्वाचित भएका हुन्।

प्रचण्डले २६ हजार १०९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३९ मत प्राप्त गरेका थिए। त्यस्तै, नेकपा एमालेका अब्दुर सलाम मियाले ७ हजार ३ सय ९५ मत प्राप्त गरेका थिए। 

प्रचण्ड ०६४ मा रोल्पा र किर्तीपुरबाट, ०७० मा सिराहबाट निर्वाचित भएका थिए। ०७४ मा भने प्रचण्ड चितवन–३ बाट निर्वाचित भएका थिए।

वर्षमान पुन, रोल्पा 
उपमहासचिव वर्षमान पुनले रोल्पाबाट आफ्नो जित निकालेका छन्। उनी दोस्रोपटक रोल्पाबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भएका हुन्। यसअघि विसं २०७४ मा भएको निर्वाचनमा पनि उनले सोही जिल्लाबाट विजयी भएका थिए।

संसदीय राजनीतिमा पुनको उनको तेस्रो विजयी यात्रा हो। विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा उनले ललितपुर क्षेत्र नं १ बाट विजयी भएका थिए। पुनले कूल ४१ हजार ७ सय १४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का पूर्णबहादुर बुढामगरले १६ हजार चार सय ८५ मत प्राप्त गरे।

जनार्दन शर्मा, रूकुम पश्चिम
अर्थमन्त्री समेत रहेका माओवादी उपमहासचिव जनार्दन शर्माले रूकुम पश्चिमबाट जित निकालेका छन्। उनले ३९ हजार ५४९ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९६१ मत पाएका छन्। ्

उनी यसअघिका सबै निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचि हुँदै आएका छन्। यसपटको जित उनको चौथो जित हो। शर्मासहित रूकुमपश्चिका दुवै प्रदेशमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जित निकालेका छन्।

शक्ति बस्नेत, जाजरकोट
माओवादी केन्द्रका सचिव रहेका शक्ति बस्नेत जाजरकोटबाट निर्वाचित भएका छन्। उनको यो लगातार तेस्रो जित हो। बस्नेतले एमाले उम्मेदवार निरज आचार्यलाई पराजित गर्दै जित निकालेका हुन्। आयोगका अनुसार बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरे।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरेका छन्। 

बस्नेत ०७० र ०७४ सालको निर्वाचनमा पनि जाजरकोटबाटै निर्वाचित भएका थिए। माओवादी संसदीय राजनीतिमा आएपछि बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइसकेका छन्।

देवेन्द्र पौडेल, बाग्लुङ–२
माओवादी सचिव देवेन्द्र पौडेल बागलुङ–२ बाट निर्वाचित भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका उनी २४ हजार ७७९ मतसहित विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु चालिसेले २० हजार १८० मत ल्याइन्।

पौडेल यसअघि ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। त्यसअघि ०६४ को निर्वाचनमा 

देव गुरुङ, लमजुङ
माओवादी महासचिव देव गुरुङ भने पराजित भएका छन्। उनी लमजुङबाट एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका हुन्। उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग ३ हजार १८८ मतले पराजित भएका हुन्। एमाले उपमहासचिव गुरुङ ३४ हजार ९६९ सहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा गुरुङले ३१ हजार ७८१ मत पाए।

गुरुङ ०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

मातृका यादव , धनुषा–१
माओवादी उपमहासचिव मातृका यादव पनि धनुषा–१ बाट पराजित भएका छन्। जनता समाजवादी पार्टीका दीपक कार्कीसँग उनी पराजित भएका हुन्।

कार्कीले २७ हजार ४३१ मत ल्याउँदायादवले २१ हजार ४८३ मत पाउँदा तेस्रो स्थानमा रहेको जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४६७ मत प्राप्त गरे। ०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका यादव ०६४ को निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् बनेका थिए। 

पम्फा भुसाल, ललितपुर–३
ऊर्जामन्त्री समेत रहेका उपमहासचिव पम्फा भुसालले पनि पराजय व्यहोर्न परेको छ। ललितपुर–३ बाट तेस्रो स्थानमा सीमित भएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुँदा भुसाल तेस्रो स्थानमा रहेर ८ हजार ७६९ मत प्राप्त गरेका छन्।

उनी ०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन्।

गिरिराजमणी पोखरेल, महोत्तरी–१
माओवादी उपमहासचिव गिरिराजमणी पोखरेलले पनि निर्वाचनमा पराजय भोगेका छन्। उनी एमाले उम्मेदवार लक्ष्मी महतोसँग महोत्तरी–१ बाट पराजित भएका हुन्। महतोले २४ हजार ४०१ मत पाए भने पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरे। यस क्षेत्रमा विगत १५ वर्षदेखि माओवादीका उपमहासचिव पोखरेल लगातार विजय हुँदै आएका थिए।

यसपटक भने उनको विजय यात्रामा महतोले ब्रेक लगाएकी छिन्। 

चक्रपाणी खनाल, कपिलवस्तु
माओवादी सचिव चक्रपाणी खनाल पनि पराजित भएका छन्। 

खनाललाई एमाले उम्मेदवार बलराम अधिकारीले कपिलवस्तु–१ बाट पराजित गरेका हुन्। खनालले१८ हजार ९ सय ३८ मत प्राप्त गर्दा एमालेका बलराम अधिकारीले ३४ हजार ६ सय ७५ मत प्राप्त गरेका हुन्। 

०७४ को निर्वाचनमा खनाल कांग्रेस नेता दीपकुमार उपाध्यायलाई पराजित गराउँदै सोही क्षेत्रबाट विजयी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .