राजनीति


संघीय सरकारले विकास बजेट रोकिदिँदा समस्या भएको छ: मुख्यमन्त्री आचार्य

संघीय सरकारले विकास बजेट रोकिदिँदा समस्या भएको छ: मुख्यमन्त्री आचार्य

नेपालखबर
कात्तिक ८, २०८२ शनिबार २०:४४, अर्घाखाँची

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारद्वारा विकास बजेट रोकिँदा चालु आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयनमा समस्या भएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री आचार्यले सडक, पूर्वाधार, सहरी विकास, खानेपानीलगायत जनतासँग प्रत्यक्ष जोडिएका शीर्षकमा विनियोजित बजेट सङ्घीय सरकारद्वारा रोकिँदा काम अघि बढ्न नसकेको बताएका हुन्।

उनले भने, ‘सङ्घीय सरकारले बजेट रोक्का गर्दा सहरी विकास, खानेपानी, सडकका काम रोकिएका छन्। वर्तमान अवस्थामा बजेटबिना काम गर्न समस्या हुन्छ। अर्घाखाँचीको विकासको गति अहिले निर्णयले कहाँ पुर्‍याउँदैछ ? देशको विकास के हुँदैछ ? यो विषयमा सरोकार भएका सबै जवाफदेहिता हुनुपर्छ।’

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको तर्फबाट अर्घाखाँची जिल्लामा काम भइरहेका उल्लेख गर्दै भावी दिनमा उपलब्ध साधनस्रोतको सदुपयोग गरी जनताको आकाङ्क्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए।

केही व्यक्तिले सरकारी कार्यालयमा पुगेर धम्कीपूर्ण व्यवहार देखाउने तथा अराजक गतिविधि गरिरहेकामा चिन्ता व्यक्त गर्दै उनले स्थानीय प्रशासनलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे।

मुख्यमन्त्री आचार्यले भने, ‘निश्चित समूह केही व्यक्ति कार्यालय गएर कर्मचारीलाई धम्क्याउने र थर्काउने काम भइरहेको छ। अबिलम्ब त्यसलाई रोक्नका लागि ठोस् कदम चाल्न सरोकार भएका सबैलाई अनुरोध गर्दछु। यस्तो गर्न कसैलाई पनि छुट छैन। कर्मचारीको मनोबल घटाउने अधिकार कसैलाई पनि छैन। यो कार्य तुरुन्त रोकिनु आवश्यक छ।’

उनले आपसी भाइचारा र सम्बन्ध कायम राख्दै आएको सामाजिक सद्भावलाई अक्षुण राख्न सबै राजनीतिक दल, नागरिक समाज र सङ्घसंस्थाका प्रतिनिधिलाई सहयोग गर्न आग्रह गरे।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनालले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न सबै राजनीतिक दल दलिय स्वार्थभन्दा माथि उठेर एकै ठाउँमा उभिनु पर्नेमा जोड दिए।

उनहाँले कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनको तयारी गरिरहेको बताउँदै वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने उल्लेख गरे। उनले जनताका काममा गुणस्तरीय र पारदर्शी तवरबाट सेवा प्रवाहमा ध्यान दिन कर्मचारी र जनप्रतिनीधिलाई आग्रह गरे।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ठाकुरकुमार विकले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि देशका सबै बामपन्थी र प्रगतीशिल शक्ति एकै ठाउँमा उभिनुपर्ने बताए।

उनले बामपन्थी शक्ति फेरी एक ढिक्का भएर लड्नु पर्ने अवस्था आएको उल्लेख गर्दै नेपालको लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दलबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad