ad ad

राजनीति


अदालतकै अगाडि अन्याय (फोटो/भिडिओ)

अदालतकै अगाडि अन्याय (फोटो/भिडिओ)

फोटो/भिडिओः विशाल कार्की/नेपालखबर


विशाल कार्की
भदौ १०, २०७९ शुक्रबार ८:३२, काठमाडौँ

बिहीबार दिउँसो २ बजे बबरमहलमा रहेको काठमाडौँ जिल्ला अदालत अगाडि पुग्दा फुटपाथ नै छेकेर स्कुटर र मोटरसाइकल पार्किङ गरिएको थियो। हरेक दिन पूर्वतर्फ रहेको बैंकको एटीएम बुथदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणसम्मै दुई पाङ्ग्रे सवारी साधनको पार्किङ फुटपाथ नै छेकेर गरिँदै आएको छ।

अदालत अगाडिको फुटपाथ कार्यालय समयमा पार्किङको थलो बनेको छ। पार्किङले फुटपाथ अवरोध हुँदा पैदल यात्रु सडकबाट हिँड्न बाध्य छन्। साँझसम्मै कर्मचारी र सेवाग्राहीले राख्ने स्कुटर र मोटरसाइकलले फुटपाथ ओगटेको हुन्छ। जसकारण पैदल यात्रु भने सडकमा हिँड्न बाध्य छन्।

बीच फुटपाथमा पार्किङ गरेको स्कुटर लिन एकजना कालो कोट लगाएकी महिला आइन्।

‘तपाईँ त कानून जानेको मान्छे हुनुहुँदो रहेछ, सर्वसाधारण मानिसहरु हिँड्ने ठाउँमा यसरी स्कुटर राख्नु भएछ है भन्ने नेपालखबरको प्रश्नमा उनले भनिन्, ‘म एड्भोकेट अनिता शर्मा हुँ। म एड्भोकेट हु र त मैले यहाँ पार्किङ गर्नुपरेको छ। हामी करिब १६ हजारमध्ये अधिकांश (वकिलहरु) काठमाडौँमा अभ्यास (बहस) गर्नुहुन्छ। बारको भवनले थेग्दैन। जिल्ला अदालतको अन्डरग्राउण्डमा पार्किङ छैन। हामीले यहाँ पार्किङ गर्नु बाध्यता हो, रहर होइन’

भिडिओः

अधिवक्ता शर्माले प्रतिप्रश्न गर्दै भनिन्, ‘हो पैदल यात्रुलाई यहाँ हिँड्न गाह्रो त भएको छ। तर हामीले सवारी साधन कहाँ राख्ने? फुथपाथको ठाउँ पार्किङले खाँदा पैदल यात्रु सडकमा हिँड्नु परेको छ। क्षमाप्रार्थी छु।’ 

फुटपाथ हिँड्ने ठाउँ नपाएर ढाकाटोपी र सेती सर्ट लगाएका वृद्ध सडक छेउ लागेर हिँडेका देखिए।

हिँड्न गाह्रो छ है भन्ने सवालमा उनले भने, ‘जताततै पार्किङ गरेका हुन्छन्। हामीले पढाउने कुरा भएन। कोही झोंक्की स्वाभावका हुन्छन् कराउन आउँछन्। यो त ट्राफिकले ध्यान दिनुपर्ने हो। यो समस्या त फेरि यहाँ मात्र होइन, जताततै यस्तै छ।’

अदालत गेटबाट निस्किएर त्यही पार्किङ गरेको मोटरसाइकल निकाल्न आएका विराज सापकोटाले अदालतको व्यवस्थापनप्रति आक्रोश व्यक्त गरे।

‘बरु पैसा लिएर पार्किङको व्यवस्था गर्नुपर्ने। सरसर्ती हेर्दा हाम्रै कमजोरी देखिन्छ। तर, हामीले कहाँ राख्ने त? विकल्पै छैन।’

यसैवीच, काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं जिल्ला अदालतलाई बेसमेन्ट पार्किङको नक्सा महानगरलाई बुझाउन पत्राचार गरिसकेका छन्।

काठमाडौं जिल्ला अदालत अगाडिका केही दृश्यहरु:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .