सिरहाको सानो गाउँबाट पढ्नका लागि करीब एक दशक अघि राजधानी काठमाडौँ पुगेका एक किशोर आज जनताबाट निर्वाचित सांसद (प्रतिनिधि सभा सदस्य) बन्न सफल भएका छन्।
जिल्लाको लहान नगरपालिका–२३ गाढामा एक सामान्य परिवारमा जन्मेका बब्लु गुप्ता मन्त्री बन्दा चर्चामा आएका थिए। करीब एक दशक अघि गाउँबाट पढाईका लागि काठमाडौँ छिरेका बब्लु सामाजिक अभियान्ता हुँदै कानुन बनाउने जनप्रतिनिसम्म पुगेको छ।
जेन–जी आन्दोलनपछि पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका बब्लु अहिले सिरहा क्षेत्र नम्बर १ बाट सांसदका रूपमा निर्वाचित भएका छन्। संसदमा जेन–जी प्रतिनिधि भएकोले पनि उनको यो संसदीय यात्राप्रति सो क्षेत्र मात्र नभई पुरै जिल्ला नै उत्साहित छन्।
उनलाई पहिचान दिलाउने मुख्य माध्यम हो, काठमाडौमा गरीब जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग गर्नु र सामाजिक सेवा अहोरात्र खटिनु। यसैबाट पहिचान बनाएका उनी अहिले नयाँ पुस्ताको राजनीतिक प्रतिनिधिका रूपमा उदाएका छन्।
२०५४ साउन ७ मा जन्मिएका बब्लु सामान्य परिवारमा हुर्किएका हुन्। उनका पिता बिसुन बनियाँ नेपाली कांग्रेसका सिरहा जिल्ला उपसभापति भइसकेका व्यक्ति हुन्। छोरा सांसद बन्दा निकै उनी खुशी छन्।
बनियाँ भन्छन् ‘नेपाली कांग्रेसमा मेरो जीवन नै बिताई दिएँ तर कहिलेपनि अवसर पाइन। चुनाव लड्ने इच्छा हुँदाहुँदै आर्थिक अवस्थाले न त अवसर पाएँ, न बलियो रुपमा पार्टीभित्र इच्छा देखाउन सकेँ। आज छोराले त्यो इच्छा पूरा गर्दा खुसी छु।
जन्मिएको गाउँमै बाल्यकाल विताएका बब्लु अध्ययनका लागि गुप्ता काठमाडौं पुगेका थिए। अहिले उनी जनस्वास्थ्य विषयमा स्नातक अध्ययनरत छन्। उनको सामाजिक यात्राको सुरुवात भने एक अप्रत्याशित घटनाबाट भएको थियो।
प्लस टु अध्ययनका क्रममा काठमाडौंमा एक वृद्धलाई गाडीले ठक्कर दिएको देखेपछि गुप्ता र उनका साथीहरूले उनलाई तुरुन्तै अस्पताल पुर्याएर उपचार गराउन सहयोग गरेका थिए। यही घटनाले उनलाई समाजसेवातर्फ प्रेरित गर्यो। त्यसपछि उनी बिरामीहरूका लागि रक्तदान अभियान चलाउने, वैदेशिक रोजगारीका नाममा ठगिएका मानिसहरूको उद्धार गर्ने जस्ता काममा सक्रिय भए।
व्यक्तिगत रुपमा समाजिक कार्य सहज नदेखिएपछि उनले २०७६ सालतिर ‘हन्ड्रेड्स ग्रुप’ नामक परोपकारी समूह स्थापना गरे । यो समूहमार्फत उनले ‘कपडा बैंक’को अवधारणा अघि बढाए। जस अन्तर्गत उनको समूहले प्रयोगमा आइसकेका तर उपयोग गर्न सकिने कपडाहरू संकलन गरेर असहाय र विपन्न व्यक्तिहरूलाई वितरण गर्दै आएको छ। यसले उनलाई निकै लोकप्रिय बनाएको हो।
काठमाडौंको अनामनगरबाट सुरु भएको सो अभियान पछि कर्णाली प्रदेशसहित देशका विभिन्न ठाउँमा विस्तार गरिएको छ। बाढी, पहिरो तथा कोभिड जस्ता अन्य विपद्का बेला पनि यो अभियान प्रभावकारी सहयोगी भूमिका खेलेको छ।
बब्लुले सामाजिक क्षेत्रमा अन्य धेरै नयाँ अवधारणाहरू पनि ल्याएका छन्। काठमाडौँ बसाईको क्रममा उनले गरीब जेहेन्दार विद्यार्थीहरुलाई किताब संगै निःशुल्क पढाईमा सहयोग गर्दै आएका छन्। उनकै नेतृत्वमा ‘किताब बैंक’को अवधारणा अनुसार पढिसकेका किताबहरू संकलन गरी अन्य विद्यार्थीलाई पढ्नका लागि उपलब्ध गराइन्छ।
त्यस्तै ‘प्रोजेक्ट शिक्षा’ नामक कार्यक्रममार्फत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई निःशुल्क शिक्षा उपलब्ध गराउन थाले। उनका अनुसार हाल यस कार्यक्रम अन्तर्गत सयभन्दा बढी निशुल्क विद्यार्थी अध्ययन गरिरहेका छन्।
कोभिड–१९ महामारीका बेला पनि गुप्ता सक्रिय रूपमा मैदानमा देखिएका थिए। २०७६ चैतमा लकडाउन सुरु भएपछि काठमाडौंको खुलामञ्च र रत्नपार्क क्षेत्रमा उनले निःशुल्क भोजन वितरण अभियान सुरु गरेका थिए। महामारीका कारण रोजगारी गुमाएर समस्यामा परेका सयौँ मानिसलाई त्यसले राहत दिएको थियो।
निर्मला पन्त हत्या प्रकरणदेखि कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाएको प्रकरण, उखु किसानको आन्दोलनलगायतका विभिन्न सामाजिक तथा राजनीतिक घट्नाहरुमा उनको सक्रिय सहभागिता थियो। जसकारण उनलाई भाडाको आन्दोलनकारी भन्ने नाम समेत त्यो बेला दिइएको थियो। उनलाई जुन रुपमा हेरिएपनि आफ्नो सामाजिक कार्यबाट कहिले पछि हटेनन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्न माग गर्दै गरिएको प्रदर्शनका क्रममा प्रहरीबाट घाईते हुनेगरी कुटाई समेत खाएका थिए। त्यस घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।
जेन–जी आन्दोलनमा गुप्ता
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा पनि गुप्ता अग्रपंक्तिमा देखिएका अभियन्ता मध्येका एक हुन् बब्लु गुप्ता। आन्दोलनका क्रममा घाइते भएकाहरूलाई सहयोग गर्न, पानी तथा सवारी साधनको व्यवस्था गर्न उनका ‘हन्ड्रेड्स ग्रुप’का सदस्यहरू सक्रिय रूपमा खटेका थिए। उनको यही सक्रियताका कारण अन्तरिम सरकारमा युवा तथा खेलकुद मन्त्री बनाइएको थियो।
मन्त्री हुँदा उनले सिरहाको लहानस्थित लामो समयदेखि अलपत्र अवस्थामा रहेको रामकुमार सारडा–उमाप्रसाद मुरारका स्मारक अस्पतालको जग्गा नामसारी प्रक्रिया अघि बढाउन पहल गरेका थिए। साथै सिरहा र धनुषालाई जोड्ने कमला पुल पुनर्निर्माण तथा नदी डाइभर्सन निर्माणका लागि पनि उनले पहल गरेका छन्। कमला पुल नहुँदा धनुषा र सिरहाका जनतालाई भइरहेको समस्या बारे अवगत गराउन उनले उर्जा मन्त्री कुलमान घिसिङ्गलाई नै निरिक्षणका लागि कमला पुलमा लगेका थिए।
सम्पन्न पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भारी मतान्तरले विजयी भएका छन्। सिरहा क्षेत्र नम्बर १ बाट उनले ४१ हजार ३ सय ३३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७ सय ८४ मत पाएका थिए भने नेकपा एमालेका रामशंकर यादव तेस्रो स्थानमा रहेका छन्।
गुप्ताले आफ्नो जितलाई सामाजिक अभियान, मन्त्रीका रूपमा गरेको काम र परिवर्तन चाहने जनताको चाहनासँग जोड्छन्। 'सामाजिक अभियन्ताका रूपमा र मन्त्रीका रूपमा मैले समाजमा गरेको योगदान नै मेरो जितको आधार हो,' उनको भनाई छ। उनले आजसम्म गर्दै आएका कार्यहरुलाई संस्थागत रुपमा अघि बढाउन राजनीतिक यात्रामा आएको बताए। उनी भन्छन् ‘जनताको माया, स्नेह र सहयोग सधैं पाइ नै रहेका थियौं। तर अब जनताले मलाई जिम्मेवारी दिएको छ। ती जिम्मेवारीलाई सुशासन र विकासका लागि आफू पूर्ण रूपमा समर्पित रहनेछु।’
राजनीतिमै आउनुपर्ने कारण के थियो? उनी भन्छन् ‘करीब एक दशकदेखि समाज सेवा गर्दै आएको छु । तर सबै काम सहयोगले नै सम्भव छैन। राज्यको सहयोग अपरिहार्य छ। अघिल्लो पटक मन्त्री भएपनि छोटो अवधिमा खासै केही गर्न सकेनौं। त्यो छोटो अवधिको मन्त्री पदमा गर्न नसकेका कामलाई पूर्णकालिन बनाउन संसदीय निर्वाचनमा भाग लिएँ।’ उनले कसैसँग कुनै दबाव वा प्रभावमा नपरी इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने बताए।
नयाँ पुस्ताको प्रतिनिधि मानिएका बब्लु एक शिक्षा र प्रेरणा पनि हो। अब उनले सडकबाट सुरु भएको परिवर्तनको आवाज संसदभित्र पनि प्रभावकारी रूपमा उठाउने अपेक्षा राख्न सकिन्छ।
Shares

प्रतिक्रिया