ad ad

राजनीति


‘अमेरिकी जासुसी विमानले दक्षिण चीन सागरमा व्यवसायिक विमानमाथि जोखिम सिर्जना गर्दैछ’

‘अमेरिकी जासुसी विमानले दक्षिण चीन सागरमा व्यवसायिक विमानमाथि जोखिम सिर्जना गर्दैछ’

नेपालखबर
साउन २८, २०७७ बुधबार ९:२७,

‘अमेरिकी सेनासँग धेरै किसिमका जासुसी विमानहरु छन् जुन व्यवसायिक यात्रुवाहक विमानजस्ता देखिन्छन्। ती बिमानहरु चीनको हवाई क्षेत्र नजिक प्रयोग हुन्छन्’ चिनियाँ जनमुक्ति सेनासँग नजिक रहेका एक स्रोतले एससीएमपीसँग भने।

चिनियाँ अधिकारीहरुका अनुसार पछिल्लो समय अमेरिकाले जासुसी विमानहरुको गतिविधि दक्षिण चीन सागरमा बढाएका छन्।

चिनियाँ अधिकारीहरुका अनुसार हालै ग्वान्झाउको एयर कन्ट्रोल राडर सिस्टमबाट इ–८सी जोइन्ट सर्भइलियन्स तार्गेट अट्याक राडर सिस्टम भएको व्यवसायिक विमान ९ हजार मिटर माथि उडेको पत्ता लागेको थियो।

उक्त विमान दक्षिण चीन सागरमाथि उडेको थियो। उक्त विमानलाई व्यवसायिक यात्रुवाहक विमान ठानिएको थियो। तर जब त्यो विमान ग्वाङदोङको छेउ हुँदै उड्यो त्यसपछि मात्र उक्त विमान अमेरिकी जासुसी विमान भएको पत्ता लागेको थियो।

दक्षिण चीन सागर विश्वकै व्यस्तमध्ये एक हवाई मार्ग हो। चीन र अमेरिकाबीचको विवाद बढ्दै गएको अवस्थामा अमेरिकी सेनाले जासुसी गर्नका लागि व्यवसायिक जस्तो देखिने विमान प्रयोग गर्दा यसले यात्रुवाहक विमानहरुमाथि जोखिम सिर्जना गर्ने विज्ञहरुले चेतावनी दिएका छन्।

अमेरिका र इजराइलले झुक्याउनको लागि यस्तो गतिविधि गर्ने गरेको जनाइएको छ। ताइवान नाभाल एकेडेमिका पूर्व प्रशिक्षक लु लि–सीका अनुसार सैन्य गतिविधि बढाउन पनि सेनाहरुले यस्ता चाल चल्छन्।

लु भन्छन्,‘युद्धले धोका दिन्छ। घुसपैठ गर्ने विमानलाई चिन्न नसक्दा जमीनबाट हानिएका मिसाइलले कयौं दुर्घटनाहरु निम्त्याएको छ।’

गत जनवरी ७ मा मात्र इरानी सेनाले युक्रेनको बोइङ ७३७ विमानलाई क्षेप्यास्त्रले हानेर खसाएको थियो। त्यसबेला १७६ जनाको मृत्यु भएको थियो। इरानी सेनाले अमेरिकी युद्धक विमानभन्दै उक्त विमानलाई खसाएको थियो।

सन् १९८३ मा रुसले पनि कोरियन एयरलाइन्समा आक्रमण गरेको थियो। त्यसबेला २६९ को मृत्यु भएको थियो। सोभियत एयर फोर्सले त्यसबेला अमेरिकी जासुसी विमान ठानेकाले आक्रमण गरेको जावाफ दिएको थियो।

दक्षिण चीन सागरको विषयमा पछिल्लो समय अमेरिका र चीनबीच चर्काचर्की परिरहेको छ। चीनले हालैमात्र यस क्षेत्रमा सैन्यअभ्यास गरेको थियो। तर चीनले दाबी गर्दै आएको यस जलक्षेत्रमा अमेरिकाले पनि सैन्य अभ्यास गरेपछि चीन अमेरिकासँग रुष्ट छ।

Beijing deploys 'necessary defenses' on disputed South China Sea ...

चीनले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिइरहँदा अमेरिकाले यस जलक्षेत्र चीनको नभएको बताउँदै आएको छ।

चीनसँगै ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्।

यसबीचमा अमेरिकाले हालै आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गरेको बताएको थियो।

चीनले विवादित मानिएको दक्षिण चीन सागरमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु पनि तैनाथ गरेको छ। दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्।

अन्तर्राष्ट्रिय अदालतले सन् २०१६ मा दक्षिण चीन सागरलाई चीनले दाबी गर्नु अवैधानिक र आधारहीन कार्य भएको बताएको थियो।

यसबीचमा अमेरिका लगायतका मुलुकले चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएका छन्।

चीनले भने दक्षिण चीन सागरको विषय आन्तरिक मामिला भएकाले यस विषयमा हस्तक्षेप नगर्न चेतावनी दिँदै आएको छ। एससीएमपी र एजेन्सीको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .