‘४६ वर्षअघिको टुँडिखेलको स्वरुपले अझै पनि मलाई लोभ्याउँछ,’ आफू ६ वर्षको हुँदा देखेको टुँडिखेलको सुन्दरता विजय श्रेष्ठले अझै बिर्सेका छैनन्।
उनलाई सम्झना छ, त्यतिबेला चङ्गा उडाउन, कुस्ती खेल्न, फुटबल खेल्न, घाम ताप्न, साथीभाइ भेला भएर रमाइलो गर्न टुँडिखेल विशेष थलो थियो । त्यो थलो विस्तारै विभिन्न जात–जातिबीच सद्भाव, प्रेम र भाइचारा बढाउने स्थान बन्दै गयो।
यसरी सबैको प्रियस्थलको रुपमा विकास हुँदै गएको टुँडिखेलमाथि गिद्धे नजर लाग्यो। त्यो पनि सरकारी निकायकै। राजधानी काठमाडौंकै मुटुमा रहेको एकमात्र फराकिलो ठाउँको अतिक्रमण नरोकिएपछि टुँडिखेल बचाउन ‘अकुपाइ टुँडिखेल’ अभियान नै चलाउनुपर्ने भयो।
त्यो टुँडिखेल, यो टुँडिखेल
टुँडिखेल क्षेत्र लिच्छविकालमा प्रतिङ्गिरा देवी र बज्रभैरवले बज्रतुण्डी नामक देवीलाई दाइजो दिएको किम्बदन्ती छ। त्यतिबेला यसको नाम तुण्डी थियो। पछि टुँडिखेल रहन गयो। पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय हासिल गरेपछि यो सैनिकहरुको परेड खेल्ने मैदान बन्यो। अहिले पनि टुँडिखेलको एक भाग सैनिककै कब्जामा छ।
कुनै समय रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको थियो, टुँडिखेल। यसरी चार किलोमिटर लामो र तीन सय मिटर चौडा टुँडिखेल अहिले भने २०५ मिटर लम्बाइ र १५५ मिटर चौडाइ (खुलामञ्चतर्फ) र ३०० मिटर लम्बाइ र २५० मिटर चौडाइ (सैनिकमञ्चतर्फ) मा खुम्चिएको छ।
‘अबको केही वर्षमा त टुँडिखेलको नाम नै हराउने देखियो,’ अभियन्ता विजय भन्छन्, ‘त्यसैले अब हामी जाग्नुपर्छ भनेर टुँडिखेल बचाऊँ अभियानमा लागेका हौँ।’
खुलामञ्चतर्फको भागलाई काठमाडौं महानगरपालिकाले बसपार्कमा परिणत गरेको छ। सैनिक मञ्चतर्फको भूभागमा पनि भौतिक संरचना निर्माणका लागि गिट्टी–बालुवा थुपारेर कुरुप पारिएको छ ।
काठमाडौँ आउनेहरुका लागि पनि एउटा आकर्षण रहँदै आएको ऐतिहासिक टुँडिखेललाई जस्ताले बेरेर सर्वसाधारणका लागि अदृश्य बनाइएको छ। टुँडिखेल कुरुप बनेको छ।
भिडियोः
‘यो सरासर टुँडिखेलको अस्तित्व मेटाउने काम हो। खुला स्थानलाई भाडामा लगाएर पैसा कमाउने सरकारको रणनीति गलत छ,’ अर्का अभियन्ता आलोकसिद्धि तुलाधर गुनासो पोख्छन्, ‘अहिलेसम्म जे भयो भयो तर, २०७२ सालको भूकम्पपछि त हामीले टुँडिखेलको महत्व बुझ्नुपर्ने थियो। भूकम्पमा विस्थापित भएका हजारौँलाई आश्रय दिने टुँडिखेलको संरक्षण गर्नुपर्ने समयमा झन् मास्ने काम अब जनताले सहनु हुँदैन।’
अहिले केही व्यक्ति मिलेर जनस्तरबाट ‘अकुपाइ टुँडिखेल’ अभियान चलाएका छन्। अभियानको पहिलो चरणमा कात्तिक २३ गते बिहान ८ देखि १० बजेसम्म मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्ने कार्यक्रम छ।
स्वतन्त्रता दिवसको अवसर पारेर टुँडिखेललाई जनताको स्वामित्वमा ल्याउने अभियान सुरु हुन लागेको हो। पहिलो चरणअन्तर्गत सरकारलाई घच्घच्याउने र जनतालाई टुँडिखेलको महत्व बुझाउने काम गरिने अभियन्ताहरु बताउँछन्। त्यसपछि आन्दोलनका कार्यक्रम तय गरिनेछन्।
‘टुँडिखेल कमाई खाने भाँडो बन्दैन’
अभियानको मुख्य उदेश्य टुँडिखेललाई सार्वजनिक पार्कमा परिणत गर्नु हो। अर्थात्, यसलाई खुला, स्वच्छ, सुन्दर र सफा राख्नु रहेको अभियन्ताहरुको भनाइ छ।
‘खुलामञ्चबाट बस पार्क हटाउने र टुँडिखेल क्षेत्रलाई खाली गरेर पहिलेकै स्वरुपमा ल्याउने हाम्रो अभियानको उदेश्य हो,’ अभियन्ता विजय भन्छन्, ‘तत्काल यो काम सम्भव नभए पनि अल्पकालीन र दीर्घकालीन योजना बनाएर सम्बन्धित निकाय अघि नबढ्दासम्म हाम्रो अभियान रोकिँदैन।’
टुँडिखेलसँग मानिसहरुको धार्मिक, सांस्कृतिक र भावनात्मक सम्बन्ध पनि जोडिएका छन्। विभिन्न जातिका धार्मिक तथा सांस्कृतिक पर्वमा त्यहाँ विशेष कार्यक्रमसहित ती समुदायका मानिसको रमाइलो चहलपहल हुने गर्छ। बेलाबेलामा ठूला सांगीतिक कार्यक्रम पनि आयोजना गरिन्छ । यस हिसाबले टुँडिखेलको आफ्नै महत्व र आवश्यकता देखिन्छ।
धर्ना, आन्दोलन र राजनीतिक कार्यक्रमका लागि प्रख्यात खुलामञ्चमा यतिबेला पार्किङ गरिएका गाडी बाहेक केही देखिँदैन। २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापन गर्ने आन्दोलन र २०६२/६३ सालको गणतान्त्रिक आन्दोलनको केन्द्रबिन्दु टुँडिखेल नै थियो । त्यही ऐतिहासिक स्थलमा अहिले व्यापारिक भवन ठड्याउने काम भएको छ। अर्थात्, केही निकायले सो क्षेत्रलाई कमाई खाने भाँडो बनाएको छ। सरकार मौन छ।
तत्कालीन मेयर पीएल सिंहले २०४८ सालमा टुँडिखेलका पसललाई भृकुटीमण्डप सारिदिएका थिए। त्यसयता भृकुटीमण्डप व्यापारीको कब्जामा छ। अहिले खुलामञ्च र टुँडिखेललाई पनि त्यसैगरी व्यापारिक केन्द्र बनाउन लागिएको अभियन्ताहरुको आरोप छ।
‘हाम्रो अभियान भनेको १७५ वर्ष पहिलेदेखि हुँदै आएको टुँलिखेलको अतिक्रमणलाई उल्ट्याउने प्रयास हो,’ अभियन्ता आलोकसिद्धि प्रस्ट्याउँछन्, ‘टुँडिखेललाई व्यापारिक अखडा बनाएको हामी सहन सक्दैनौँ।’
प्रतिक्रिया