बंगालको खाडीमा बनेको ‘बुल-बुल’ नाम गरेको चक्रवातको प्रभावले अहिले नेपालमा मौसम बदली भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार उक्त चक्रवातको बादल अहिले नेपाली आकाशमा प्रवेश गरिरहेको छ। यसैकारण अहिले (शनिबार बिहान) देशका पूर्वी र मध्य क्षेत्रमा मौसम बदली भएको उनले बताए।
‘बुल-बुल नाम गरेको चक्रवात अहिले ओडिसा आसपास छ र यो बंगलादेशतर्फ सर्दै छ,’ नेपालखबरसँग मौसमविद् श्रेष्ठले भने, ‘यो अहिले नेपालभन्दा निकै टाढा छ, यसको बादल मात्र नेपाल आइपुगेको छ।’
यसले मौसम बदली मात्र गराउने तर वर्षा नगराउने भए पनि देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने सम्भावना रहेकाले त्यस क्षेत्रका बासिन्दा तथा त्यसतर्फ घुम्न जाने पैदलयात्री, पर्यटक तथा आराेहीले सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए।
मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ- उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा साथै उच्च हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।
यस्तै राति देशको पूर्वमा सामान्य बदली, मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।
प्रतिक्रिया