ad ad

समाज


शिक्षकबाटै किन हुन्छ दुर्व्यवहार?

शिक्षकबाटै किन हुन्छ दुर्व्यवहार?

मीना खड्का
जेठ १२, २०७९ बिहिबार ६:५३, काठमाडौँ

शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेपछि राजधानीको सेन्ट लरेन्स कलेज मंगलबार बिहानैदेखि तनावग्रस्त बन्यो। आफ्नो यौनेच्छा पूरा गरिदिए कलेजको शुल्कदेखि अरु कुरा छुट गराइदिने भन्दै विद्यार्थीलाई नराम्रो हर्कत गरेको पीडितको आरोप छ।

प्रहरीले कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र शिक्षक राजन पौडेललाई पक्रिएको छ। ती शिक्षकलाई कारबाहीको माग गर्दै बुधबार पनि विद्यार्थीले गौशाला प्रहरी वृत्तअगाडि प्रदर्शन जारी राखे।

शिक्षकविरुद्ध किटानी जाहेरीपछि प्रहरीले अनुसन्धान थालेको छ भने सेन्ट लरेन्स कलेजले दुवै जनालाई बर्खास्त गरिसकेको छ। यसअघि प्रशासनमा उजुरी गर्दा पनि कलेजले घटना गुपचुप राख्न खोजेको विद्यार्थीको आरोप छ।

मोरङको लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माध्यमिक विद्यालयमा सामाजिक र नैतिक शिक्षा पढाउने शिक्षक मनोज पौडेलले चैत ४ गते १३ वर्षीया छात्रालाई उनैको घरमा पानी खाने निहुँमा गएर यौन दुर्व्यवहार गरे।

ती शिक्षकले छात्रामाथि गरेको यौन दुर्व्यवहारको घटना त्यो पहिलो थिएन। यसअघि पनि बालिकाहरुमाथि गलत व्यवहार गरेको भन्दै स्कुलमा उजुरी परेको थियो। तर, स्कुल र प्रहरीले पनि घटना लुकाउन खोजेको हल्ला चलेपछि झडप भयो, गोली चल्यो र एक प्रहरी जवानको ज्यान समेत गयो।

पछिल्लो समय शिक्षकले छात्रालाई बलात्कार तथा यौन दुर्व्यवहार गरेका जघन्य प्रकृतिका घटनाहरु सार्वजनिक भइरहेका छन्। गत असोजमा विराटनगरमा गौरव साह नामक शिक्षकले ट्युसन पढाउने क्रममा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भयो। दुई वर्षअघि बालिकालाई ८ दिनसम्म होटलमा बन्धक बनाई करणी गरेको अभियोगमा पोखराबाट राजेश कनौडिया नामक शिक्षक पक्राउ परे।

वास्तवमा मुलुकभर यस्ता घटनाको तथ्यांक निकै डरलाग्दो छ। प्रहरी प्रधान कार्यालयको गत पाँच वर्षको तथ्यांकअनुसार आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा ८० भन्दा धेरै शिक्षक पक्राउ परेका छन्।

आर्थिक वर्ष ०७४/०७५ मा यस्ता बलात्कारका पाँच घटना प्रहरीमा दर्ता भएको थियो। ०७५/०७६ मा ११, ०७६/०७७ मा ४५, ०७७/०७८ मा १५ र यस आर्थिक वर्ष ०७८/०७९ को चैत १५ सम्म चार बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन्।

यीबाहेक बलात्कृत भएर पनि न्यायका लागि उजुरी नदिएका र यौन दुर्व्यवहार भोगेका घटना धेरै हुने गरेको प्रहरीको भनाइ छ। पछिल्लो समय वर्षौं पुराना यस्ता घटना पीडितले सामाजिक सञ्जालमार्फत पनि खुलासा गर्न थालेका छन्। 

‘आचरणहीनलाई शिक्षक बन्न दिनु हुँदैन’
विद्यार्थीलाई सही मार्ग देखाउनुपर्ने जिम्मेवारी बोकेका शिक्षकबाट नै किन छात्राहरु असुरक्षित छन् त? 

अयोग्य व्यक्तिलाई शिक्षक बनाउँदा यस्तो समस्या आएको  शिक्षाविद् डा. विद्यानाथ कोइरालाको तर्क छ।

‘नैतिकता नभएका, कुविचार भएका, गलत प्रवृत्ति भएका र बुद्धि नभएका व्यक्तिलाई शिक्षक बनाउँदा समस्या आएको हो,’ उनी भन्छन्, ‘शिक्षक सामान्य जागिर जस्तो भयो। जस्ताले पनि पढाउन पाउने भन्ने सोचका कारणले यस्ता समस्याहरु निम्तिएका छन्। बच्चालाई राम्रो सिकाउनुपर्छ, राम्रो बनाउँछु भन्ने शिक्षक भएनन्।’

खराब आचरण भएकालाई विद्यालयको ढोका बन्द गरिनुपर्ने उनी बताउँछन्। छात्रामाथिको यौनहिंसा न्यूनीकरणका लागि राष्ट्रिय तहको मानक बनाउनुपर्ने उनको भनाइ छ।

‘छात्राहरुलाई कहाँ नछुने, के नभन्ने, के नगर्ने भनेर शिक्षकलाई तालिम दिइनुपर्छ,’ उनी भन्छन्, ‘शिक्षकले दुर्व्यवहार गरे भने तुरुन्त भन्न बालिकाहरूलाई पनि सिकाउनुपर्छ। यसका लागि राष्ट्रिय तहको मानक बनाउनुपर्छ।’ 

अपराधीलाई चाँडै सजाय दिनसक्दा पनि दुर्व्यवहार घटाउन सहयोग पुग्ने उनको भनाइ छ।

‘समयमै पीडकलाई सजाय र पीडितलाई न्याय दिन सक्नु झन् महत्वपूर्ण हो,’ उनले भने, ‘एउटा अपराधीलाई कानुनअनुसार सजाय दिनसके त्यही डरले अर्को व्यक्तिले त्यस्तो गलत काम गर्ने आँट गर्दैन।’

कस्तो छ सजायको व्यवस्था?
अपराध संहिता २०७४ अनुसार १० वर्षभन्दा कम उमेरका बालिकालाई जबर्जस्ती करणी गरेको प्रमाणित भएमा १६ वर्षदेखि २० वर्ष सम्म जेल सजाय हुने व्यवस्था छ। त्यसैगरी १० देखि १४ वर्षसम्मका बालिकालाई जबरजस्ती करणी गरेको प्रमाणित भएमा १४ वर्षदेखि १६ वर्षसम्म जेल सजाय हुन्छ।

१४ देखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा दोषीलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको छ।

१६ वर्ष वा १६ वर्षभन्दा बढी अठार वर्षमुनिका बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुन्छ।

अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती गरेको प्रमाणित भए ७ वर्षदेखि १० वर्र्षसम्म कैद सजाय हुने प्रावधान छ।

तर, बलात्कारका घटनामा हाडनातामा बाहेक उजुरीका लागि एक वर्षको हदम्याद कानुनमा छ। पछिल्लो समय सो हदम्याद हटाइनुपर्ने आवाज उठ्न थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .