काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली महिला फुटबल टिमलाई बधाई दिएका छन्। साफ महिला च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेसँगै मेयर शाहले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।
शुक्रबार साँझ घरेलु मैदानमा भएको खेलमा नेपालले भारतलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
मेयर शाहले साफ च्याम्पियनसिपमा सहभागी टोलीलाई भेट गरेको फोटो सेयर गर्दै भनेका छन्, ‘भारत बिरुद्द एतिहासिक जित को लागि बधाइ छ टिम नेपाल।’
नेपालले अब फाइनलमा बंगलादेशसँग भिड्नेछ। घरेलु मैदानमा भएको यो खेल हेर्नका लागि दर्शकहरुको उल्लेख्य उपस्थिति थियो।
यसअघि सन् २०१६ मा भएको हारको बदला लिने योजना नेपालको थियो।
सन् २०१६ मा भएको सेमिफाइनल खेलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि होडबाट टाढा भएको थियो।
Shares
प्रतिक्रिया