अहिले (बुधबार बिहान ७:१४ बजे) गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार मौसम भने देशभरै आंशिकदेखि सामान्यसम्म बदली भएको छ।
‘लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चाहिँ पूर्ण बदलीको अवस्था छ’, उनले भने, ‘त्यहाँ पानी पर्ने सम्भावना छ।’
मौसमविद् श्रेष्ठका अनुसार आज दिउँसो काठमाडौं उपत्यकामा पनि मौसम बदली र मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै राति पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना छ। नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनसमेत सामान्य प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया