अहिले (बिहीबार बिहान ७ बजे) प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार देशका बाँकी प्रदेशमा भने यतिबेला पानी परेको छैन।
तर दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति पनि प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। अन्य स्थानमा भने पानी पर्ने सम्भावना देखिएको छैन।
महाशाखाले आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : प्रदेश १, मधेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना छ।
मनसुन बिदा हुने बेला भयो
मौसमविद् समीर श्रेष्ठका अनुसार पानी पार्ने प्रणाली मनसुन बिदा हुने बेला भएको छ। उनका अनुसार नेपालबाट मनसुन बाहिरिने सामान्य मिति अक्टोबर ३ तारिख हो। तर यसभन्दा केही दिन अघि पछि पनि हुन सक्ने उनले बताए।
उनका अनुसार आजसमेत तीन दिनलाई खासै वर्षाको सम्भावना छैन। ‘तर त्यसपछि वर्षाको सम्भावना छ’, उनले भने। उनका अनुसार दसैंको टीकाको दिनसम्म वर्षाको सम्भावना छ। तर त्यस्तो ठूलो वर्षाको सम्भावना नरहेको उनले जानकारी दिए।
Shares
प्रतिक्रिया