कालिकोटको तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जना पहिरोमा पुरिएका छन्।
आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्दा पहिरोमा पुरिएको खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
तिलाकर्णाली नदीमा लाश जलाउँदै गर्दा खसेको पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएको प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
उनका अनुसार घटनाबारे सोमबार बिहान मात्रै खबर आएको हो।
‘बिहा घटनाबारे जानकारी आएको हो। पहिरोमा पुरिएर १३ जना बेपत्ता भएको खबर आएको छ', उनले भने, 'त्यहाँ पहिरोमा परेर एक सय घर पनि जोखिममा परेका छन्। उनीहरुलाई सार्ने कोसिस हुँदैछ।'
रिमालका अनुसार बाढी र पहिरो लगातार आइरहेकाले बेपत्ता भएकाहरुको उद्धार र खोजी हुन सकेको छैन।
खबर आउनेबित्तिकै घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको उनले बताए।
शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको अन्तिम संस्कारका लागि तिलाकर्णाली नदीमा मलामी गएकाहरु पहिरोमा परेका हुन्।
त्यो गाउँका वडाध्यक्ष परमबहादुर शाहीसहित पहिरोमा परेका हुन्। लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा घटनास्थलमा पुग्न समस्या छ। घटनास्थलसम्म पुग्न करिब ४ घण्टा लाग्छ।
Shares
प्रतिक्रिया