ad ad

समाज


वन रक्षकको कुटपिटबाट घाइते महिलाको अवस्था गम्भीर, दोषीलाई प्रहरीले अझै पक्राउ गरेन

वन रक्षकको कुटपिटबाट घाइते महिलाको अवस्था गम्भीर, दोषीलाई प्रहरीले अझै पक्राउ गरेन

घाइते हर्कमाया अस्पतालमा


जनार्दन पोखरेल
पुस २२, २०७९ शुक्रबार २०:१९, सर्लाही

पाँच दिनअघि वन रक्षकको कुटपिटबाट गम्भीर घाइते भएकी बाराको कोल्हवी ८ नयाँ बस्तीकी हर्कमाया खड्काको बिगत तीन दिनदेखि वीरगञ्जस्थित प्रभु अस्पतालमा उपचार भइरहेको छ।

गएको आइतबार स्थानीय जंगलमा घाँस काट्न गएका तीनजना महिलालाई जिल्ला वन कार्यालयका सशस्त्र वन रक्षकले निर्घात कुटपिट गरेका थिए। 

वन रक्षकको कुटपिटबाट ३० वर्षीया हर्कमाया खड्का, सोही ठाउँकी ३५ वर्षीया सीता श्रेष्ठ र ३९ वर्षीया मैया श्रेष्ठ घाइते भएका थिए। घाइतेमध्ये खड्कालाई बढी चोट लागेको छ। अवस्था गम्भीर बनेपछि उनलाई उपचारको लागि गएको बुधबार वीरगञ्ज लगिएको थियो। 

दुई दिन आइसीयूमा उपचारपछि आज (शुक्रबार)  साँझ उनलाई नर्मल बेडमा सारिएको हर्कमायाकी नन्द सरु कार्कीले जानकारी दिइन्। 

आइतबार बिहान घाँस दाउरा काट्न जंगल गएको बेला आफूहरुमाथि बलात्कारको प्रयाससहित पाँचजना वन रक्षकले कुटपिट गरेका पीडित महिलाहरुले बताएका छन्। 

एकान्त जंगलमा घाँस काटिरहेको बेला वन रक्षक राम तपस्या साहले आफूलाई बलात्कारको प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा निर्घात् कुटपिट भएको पीडित हर्कमायाले बताएकी छन्। 

कुटपिटमा संलग्न साहलाई वन रक्षकहरु ढालबहादुर कार्की, प्रदीप शर्मा, वीरेन्द्र यादवसहितले साथ दिएका पीडित महिलाहरुको आरोप छ। 

पीडित पक्षले त्यतिबेलैदेखि कुटपिटमा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आएपनि प्रहरीले अझै आरोपीहरुलाई पक्राउ गरेको छैन।  

घटना भएकै दिन पीडित पक्ष दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय कोल्हबी पुगेका थिए। तर, त्यहाँको प्रहरीले उजुरी दर्ता नगरेपछि पीडित पक्ष सोमबार न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारा पुगेका थिए।

प्रहरी प्रशासनले दोषीलाई उन्मुक्ति दिनेगरी मुद्दालाई कमजोर बनाउन खोजेको आरोप पीडित पक्षको छ। पीडित पक्षले महिलाहरुमाथि बलात्कारको प्रयाससहित कुटपिट भएको जाहेरी दिन खोज्दा प्रहरीले सामान्य कुटपिटको मात्रै जाहेरी दिन दबाब दिएको पीडित पक्षको भनाई छ।

‘हाम्री भाउजुसहित गाउँका दिदीबहिनीमाथि आइतबार जंगलमा बलात्कारको प्रयाससहित कुटपिट भयो। सोमबार र मंगलबार हामीले दिनभरी इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा न्यायको लागि दौडधुप गयौँ। तर, हाम्रो पक्षमा बोलिदिने कोही भएनन्। उल्टै हाम्रै मान्छेलाई थुन्ने काम भयो। हामीले न्याय पाएनौँ,’ वन रक्षकको कुटपिटबाट घाइते हर्कमायाकी नन्द सरु कार्कीले नेपालखबरसँग भनिन्, ‘भाउजुको अवस्था गम्भीर बनेपछि बुधबार वीरगञ्ज लगेर प्रभु अस्पतालमा भर्ना गरेका छौँ।’

उनले महिलामाथि जंगलमा बलात्कारको प्रयाससहित निर्घात कुटपिट हुँदा पनि अपराधि पक्राउ नपर्नु दुःखद भएको बताइन्। 

‘कुटपिटमा संलग्न अपराधिहरु अहिले पनि अपिस र घर गरिरहेको हामीले सुनेका छौँ,’ कार्कीले भनिन्, ‘उनीहरु अझै पक्राउ परेका छैनन्। यो भन्दा दुखःद् पक्ष के होला? हामीलाई अब कसले न्याय देला?’

प्रहरीले मुद्दालाई फितलो बनाएर दोषीलाई जोगाउने काम गरिरहेको उनको भनाई छ। ‘कर्मचारी (प्रहरी) ले कर्मचारी (वन रक्षक)लाई बचाउने काम गरिरहेका छन्। हामीले न्याय नपाउने भयौँ,’ गुनासो गर्दै उनले भनिन्।

घटनाको भोलिपल्ट प्रहरीले कुटपिटमा संलग्न रामतपस्या साहलाई पक्राउ गरेको थियो। घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय सोमबार छलफल चलिरहँदा पीडित पक्षले प्रहरी कार्यालयमै साहमाथि कुटपिटको प्रयास गरेका थिए।

त्यहि निहुँमा मुद्दालाई फितलो बनाउने प्रयासमा प्रहरी लागेको पीडित पक्षको भनाई छ। ‘त्यतिबेला छलफल चलिरहेको ठाउँमा आवेशमा आएका गाउँका महिलाले प्रहरी कार्यालयमै साहलाई कुट्न झम्टिएको निहुँमा प्रहरीले पीडित पक्षकै जमुना खड्कालाई पक्राउ गर्यो,’ कार्कीले भनिन्, ‘उहाँलाई पक्राउ गरेपछि प्रहरीले हामीमाथि ब्ल्याकमेलिङ गर्यो। जमुना खड्कालाई छाड्ने शर्तमा उनीहरुले पक्राउ परेको रामतपस्या साहलाई पनि छाडे।’

पीडित महिलाहरुलाई न्याय दिलाउँछु : एपपी बोगटी
बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले महिलाहरुमाथि कुटपिटको घटनाले आफूलाई गम्भीर बनाएको बताए। उनले घटना हुँदा आफू जिल्लामा नभएको जानकारी दिए।

‘त्यतिबेला म बिदामा थिएँ,’ एसपी बोगटीले नेपालखबरसँग भने, ‘मंगलबार अफिस आएर घटनाको विषयमा बुझ्ने काम गरेँ। घटना गम्भीर रहेछ। त्यतिबेलै मैले पीडितलाई जाहेर लिएर आउनुस् भनेको थिएँ। अहिलेसम्म उहाँहरु आउनु भएको छैन।’

उनले आफूले आज पनि पीडितलाई जाहेरी लिएर जिल्ला प्रहरी कार्यालयमा आउन आग्रह गरेको बताए। ‘पीडित (हर्कमाया) उपचारको लागि वीरगञ्ज गएको मलाई जानकारी थिएन,’ उनले भने, ‘उहाँमाथि निर्मम ढंगले कुटपिट भएको रहेछ। त्यो घटनाले मलाई पनि असह्य भएको छ। दोषीमाथ कारबाही हुन्छ। हामी पीडितलाई न्याय दिलाउने छौँ।’

उनले सुरुमा प्रहरीले सामान्य कुटपिट र अभद्र व्यवहारमा मात्रै उजुरी दिन पीडित पक्षलाई भनेको स्वीकार गरे। ‘त्यतिबेला उहाँहरुले त्यो खाले जाहेरी दिन मान्नु भएन। अब पीडित पक्षले जबर्जस्ती करणी उद्योगकै जाहेरी ल्याए पनि हामी दर्ता गर्छौं,’ एसपी बोगटीले भने।
 
उनले पीडित पक्षबाट जाहेरी नआएकाले दोषीलाई पक्राउ गर्न नसकिएको बताए। जाहेरी नपरेको कारण पक्राउ गरेर पनि आरोपी रामतपस्या साहलाई छाडिएको बोगटीको भनाई छ।

‘जाहेरी पर्नासाथ म जिल्ला वन कार्यालयबाटै दोषीलाई उठाएर ल्याउने छु,’ बोगटीले भने।

यो घटनालाई आफूले गम्भीर रुपमा लिएको उनले बताए। ‘पीडित महिलाको चित्त नबुझी हामी घटनालाई सामसुम पार्नेतिर जाँदैनौँ। म पीडितलाई न्याय दिलाउने छु,’ एसपी बोगटीले भने, ‘त्यो विश्वास गर्नुस्,’ म न्याय मर्न दिन्नँ।’

बाराका जिल्ला वन अधिकृत (डीएफओ) विनोद सिंहले पनि महिलामाथि कुटपिटको घटनामा आफ्ना कर्मचारी दोषी देखिएको स्वीकार गरे। 

‘उनीहरु (वन रक्षक)ले चोट बेस्सरी लाग्नेगरी कुटेछन्। घटनामा संलग्न कर्मचारीलाई कारबाही हुन्छ। मैले बुझ्दा पीडित महिला पनि सभ्य परिवारका रहेछन्,’ उनले भने। उनले घटनामा संलग्न कर्मचारीलाई अहिले पनि आफूले लाइन हाजिरी गराइरहेको बताए।

बारामा घाँस काट्न जंगल गएका ३ जना महिलामाथि वन रक्षकद्वारा निर्घात कुटपिट

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .