ad ad

समाज


आजको अन्तिम उडान सफल भएको भए ‘क्याप्टेन’ बन्थिन् अन्जु

आजको अन्तिम उडान सफल भएको भए ‘क्याप्टेन’ बन्थिन् अन्जु

उजिर कार्की
माघ १, २०७९ आइतबार १५:४४, काठमाडौँ

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको जहाज वरिष्ठ क्याप्टेन कमल केसी र पाइलट अञ्जु खतिवडाले उडाएका थिए।

कमलले अन्जुलाई गाइड गरिरहेका थिए र मुख्य भूमिकामा थिइन् अन्जु। 

प्रशिक्षणका रुपमा उनको यो अन्तिम उडान थियो। यसअघि अन्जुले पाइलट बन्नका लागि गर्नु पर्ने सबै विमानस्थलमा उडान पूरा गरेकी थिइन्।

अन्तिम उडान भएकाले यो उडान सफल भएको भए उनी क्याप्टेन बन्ने पक्का थियो। क्याप्टेन बन्नैका लागि उनी वरिष्ठ क्याप्टेन तथा प्रशिक्षक केसीसँग पाेखराको उडानमा गएकी थिइन्।

क्याप्टेन केसीले नेपाल वायुसेवा निगमको जहाज पनि उडान गरेका थिए। केसीसँग क्याप्टेन अनुभव ३५ वर्ष लामो थियो। उनले यसअघि नै पनि धेरै पाइलटलाई क्याप्टेनका लागि प्रशिक्षण दिएका छन्।

अन्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेकी थिइन्। क्याप्टेन बन्नका लागि प्रशिक्षकसँग कम्तिमा एकसय घण्टा उडान भरेको हुनुपर्छ। 

प्रशिक्षक पाइलटको रुपमा रहेका केसीले आज अञ्जुलाई क्याप्टेनमा पास गराउने अन्तिम उडान गराइरहेका थिए। काठमाडौंदेखि नै अन्जुलाई कमलले देब्रेतर्फको जिम्मा दिएका थिए। जहाज उडान र अवतरणमा सबै भूमिका देब्रेतर्फबाटै हुने भएकोले मुख्य भूमिका नै यो उडानमा अन्जुले सम्हालेकी थिइन्। अन्जुले क्याप्टेन क्लियरेन्सको प्रमाण पत्र पाउने त्यही उडान दुर्घटनामा पर्यो। 

यती एयरलाइन्सको ९ एन–एएनसी एटीआर ७२ जहाज आइतबार बिहान पोखरा विमानस्थल नजिकै सेती खोचमा दुर्टघनामा परेको हो।

विमानमा चालक दलका चार सहित ७२ जना सवार थिए। विमानमा एयरहोस्टेस सिर्जना होङ्चुन र ओसिन आलेमगर थिए भने ५३ जना नेपाली, १५ जना विदेशी सवार थिए। 

विदेशी नागरिकमा पाँचजना भारतीय, रुसका चारजना, कोरियाका दुईजना, आयरल्याण्डका एकजना, अर्जेन्टिनाका एकजना, अष्ट्रेलियाका एकजना र फ्रान्सका एकजना सवार थिए।

१५ दिन अघि मात्रै उडान सुरु भएको अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार उडानको समयमा मौसमको कुनै समस्या थिएन। धमाधम उडान भइरहेका थिए। र सो जहाज पनि बिहान काठमाडौंबाट पोखरा पुगेर फर्किएको थियो। पोखराकै लागि यो दोस्रो उडान थियो। 

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त जहाजलाई अवतरणका अनुमति दिइसकेको थियो। सबै कुरा ठिक ठाकै हुँदा पनि विमान के कारणले दुर्घटना भयो भन्ने अनुसन्धान हुने ठाकुरले बताए।

सरकारले विमान दुर्घटना छानविन गर्न पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .