ad ad

समाज


अमेरिकाबाट आएका राजनलाई आशिकाले भेटिन्, घर पुर्‍याउन सकिनन्

एकै परिवारका दुईभन्दा धेरै, जसले जहाज दुर्घटनामा ज्यान गुमाए
अमेरिकाबाट आएका राजनलाई आशिकाले भेटिन्, घर पुर्‍याउन सकिनन्

दुर्घटनामा ज्यान गुमाएका राजन र आशिका। तस्बिर : फेसबुकबाट


लक्ष्मी जि.सी
माघ ४, २०७९ बुधबार ७:५९, काठमाडौँ

पोखरा महानगरपालिका–२५ हेम्जाका राजन सापकोटा एक वर्षपछि नेपाल फर्किँदै थिए। डीभी लोटरीमार्फत दुई वर्ष अघिमात्रै उनी अमेरिका पुगेका थिए। एक वर्षअघि बिहे गर्न नेपाल आएका राजन आशिकासँग विवाह गरेर फेरि अमेरिका फर्किएका थिए।   

घरपरिवारसँग भेटघाट र बिहेको एक वर्षपछिको उत्सव (ज्युँती मेटेर) मनाएर फर्किने राजनको योजना थियो। श्रीमान् घर आउने खुसीमा आशिका उनलाई लिन एक दिनअघि मात्रै काठमाडौं आएकी थिइन्। 

श्रीमानसँगै घर जान उनले नै यती एयरलाइन्सको जहाजमा टिकट काटिन्। शनिबार राजन काठमाडौं आइपुगे। उनी अमेरिकाबाट फर्किएपछि यी दम्पत्ती आइतबार पोखरा फर्किँदै थिए। 

परिवारका सदस्य उनीहरुको बाटो हेरेर बसिरहेका थिए। तर, यती एयरलाइन्सको विमान पोखरा एयरपोर्टमा अवतरणअघि नै सेती खोँचमा दुर्घटनामा पर्‍यो। श्रीमानलाई भेट्ने धोको त आशिकाले पूरा गरिन्। तर छोरा बुहारी र छोरी–ज्वाईँलाई भेट्ने परिवारको सपना अधुरै रह्यो।
***
हेम्जाकै जितेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि विमान दुर्घटनामा परे। घरायासी कामको सिलसिलामा काठमाडौ आएका उनीहरुसँगै आइतबार बिहान पोखरा जाने कार्यक्रम बन्यो। 

परिवार नै काठमाडौ आएका उनीहरुले शनिबार मात्रै छोराछोरीलाई बसमा पोखरा पठाएका थिए। छोराछोरीलाई बसमा पठाएर सकुशल घरमा पठाए पनि आफूहरु पनि घर पुग्न सकेनन्। 
***
विमान दुर्घटनामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका उपाध्यक्ष त्रिभुवन पौडेल र रेडियो एपोष्टलका सञ्चालक अनिल शाहीको मृत्यु भएको छ। पोखरामा लामो समयदेखि पत्रकारिता गर्दै आएका पौडेल प्रेस सेन्टरको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए। 

उनी काठमाडौंमा आएको समयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पोखरा फर्कने कार्यक्रम थियो। तर प्रधानमन्त्रीसँगको भेट सम्भव नभएपछि उनले दिउँसोको टिकट बिहानलाई सारेर फर्किएका थिए। 

स्वर्गीय पत्रकार त्रिभुवन पौडेल

पर्वतको बिहादी गाउँ पालिका ५ का जमुना शर्मा, युवराज शर्मा, आरुबी शर्मा र वेबी शर्मा (आमा, छोरा, नाति, नातिनी) गरेर एकै परिवारका ४ जनाले ज्यान गुमाए।  

जमुना शर्मा तीन महिनादेखि काठमाडौंमा छोरासँग बस्थिन्। उनी आफ्नो बाबुआमाको चौरासी पूजाका लागि छोरा र नाति नातिनालाई लिएर पोखरा फर्किँर्दै थिइन्। 

परिवारका चार सदस्यलाई बुहारी सरु शर्माले काठमाडौ एयरपोर्टबाट बिदाइ गरेकी थिइन्। सरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टावर कन्ट्रोलर अफिसरका रुपमा काम गर्थिन्। 

उनी आफैँले टिकट काटेर श्रीमान्, छोराछोरी र सासूआमालाई पठाएकी थिइन्। उनी आफैं बिमानसम्म पुगेर परिवारलाई पोखरा पठाएकी थिइन्। तर त्यो बिदाइ नै उनीहरुका लागि अन्तिम बिदाइ बन्यो। 
***
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ उनकी श्रीमती डा. सोना र वर्षदिन पनि नपुगेको काखे छोरालाई लिएर पोखरा जाँदै थिए। दुई वर्ष अघिदेखि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत श्रेष्ठ दुई दिनको बिदा लिएर पोखरा जाने तयारीमा थिए। 

पोखरा महानगरपालिका–४ रामकृष्ण टोलका श्रेष्ठ दम्पत्ती रिफ्रेसमेन्ट र माघी मनाउन पोखरा जाँदै थिए। तीन वर्षअघि यी दम्पत्तीको विवाह भएको थियो। काठमाडौंको व्यस्तता र कोलाहलबाट टाढा रहन पोखरा लागेका श्रेष्ठ दम्पत्तीले आफन्तलाई कहिल्यै नमेटिने घाउ दिएर सधैँलाई बिदा भए।

दुर्घटनामा ज्यान गुमाएका श्रेष्ठ दम्पत्ति

माघीको दिन आइतबार बिहान १० बजेर ११ मिनेट जाँदा लोकगायिका निरा छन्त्यालले  फेसबुकमा माघे संक्रान्तिको शुभकामना दिइन्। 

निराले फेसबुकमा लेखेकी थिइन्, ‘माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

दुर्घटनाको अघिल्लो दिन निराले फेसबुकमा लेखेकी थिइन्, ‘छन्त्याल भवन काठमाडौंको माघी सकियो, अब भोलि पोखरामा रमाइलो गर्नुपर्छ। 

तर उनको यो सपना अधुरै रह्यो। निरा सवार विमान पोखरामा अवतरण हुनुअघि नै दुर्घटनामा पर्यो। उनले पनि ज्यान गुमाइन्। 

दुर्घटनामा ज्यान गुमाएकी गायिका निरा छन्त्याल

पोखरामा भएको विमान दुर्घटनामा एकै परिवारका धेरै सदस्यले ज्यान गुमाए। कुश्मा नगरपालिका–९ का अरुण पौडेल, प्रसिद्धि पौडेल (बुवा छोरी), वडा नं. १ का रचना काफ्ले, रिहान पौडेल (आमा छोरा), मोदी १ भुकदेउरालीका विजय गुरुङ छन्। 

विमानमा चालक दलका ४ र १५ जना विदेशी गरी ७२ जना यात्रु सवार थिए। तीमध्ये २५ महिला, ३७ पुरुष, ३ बालक र १ जना शिशु थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .