ad ad

समाज


सामाजिक सञ्जाल र सञ्चारमाध्यमले आत्महत्याको लहर निम्त्याइरहेको छ?

मान्छेले आत्महत्या रोज्नुको कारण र त्यसलाई रोक्ने उपाय
सामाजिक सञ्जाल र सञ्चारमाध्यमले आत्महत्याको लहर निम्त्याइरहेको छ?

समृद्धा केसी
माघ २८, २०७९ शनिबार १९:४३, काठमाडौँ

गत मंसिर १८ गते नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेले आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरिन्। 

बानेश्वर बस्दै आएकी पुष्पाले प्रेमी सुधन संग्रौलासँग इन्गेजमेन्ट गरिसकेकी थिइन्। उनीहरुबीच विवाहको तयारी पनि चलिरहेको थियो। तर यही बीचमा आएको खटपटले इन्गेजमेन्ट तोडियो। त्यसको भोलिपल्ट पुष्पाले सुधनको घरको गेटमा पुगेर आत्मदाह गरिन्।

पुष्पालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो। तर शरीर धेरै जलिसकेकाले पुष्पालाई बचाउने प्रयास सफल भएन। 

पुष्पाले आत्मदाह गरेको अर्को साता २५ मंसिरमा झापाकी ३० वर्षीया अर्की महिलाले यही बाटो रोजिन्। उनले पनि आफ्नै शरीरमा पेट्रोल छर्किन् र आगो लगाइन्। 

उपचारका क्रममा १५ पुसमा उनको मृत्यु भयो। त्यसपछि केही दिनको फरकमा यस्ता घटना लगातार दोहोरिए। 

२६ मंसिरमा मकवानपुरमा ३० वर्षीया महिलाले पेट्रोल छर्किएर आत्मदाह गरिन्। उपचारका क्रममा उनको ९ पुसमा ज्यान गयो।

त्यसयता माघ ५ र ६ गते काठमाडौं र कैलालीमा लगातार यस्तै घटनाको प्रयास भए। काठमाडौंका २८ वर्षीय पुरुष र कैलालीकी ६० वर्षीया महिला उपचाररत छन्। 

१० माघमा देशकै ध्यान तानिने गरी संसद् भवनअगाडि इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरे। 

उपचारका क्रममा उनको भोलिपल्ट मृत्यु भयो। प्रेमले आर्थिक संकट लगायत विभिन्न कारणले आत्महत्या गर्न बाध्य भएको भन्दै ६ हजार बढी शब्दको नोट सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। 

उनले शरीरमा पेट्रोल छर्किएर आगो लगाएको भिडिओ र आत्महत्याको नोट सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो। 

प्रेमले त्यसरी आत्मदाह गरेपछि कास्की, बाग्लुङ र जुम्लामा पेट्रोल छर्किएर आत्मदाहको प्रयास भएको प्रहरीले जनाएको छ। 

गत साउन देखि पुससम्म २ हजार ८४२ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांक छ। सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ६ सय जनाले आत्महत्या गरेका छन् भने मधेश प्रदेशमा ४ सय ६९ जनाले ज्यान दिए।

बागमती प्रदेशमा चार सय २९, प्रदेश १ मा तीन सय ९७, गण्डकी प्रदेशमा तीन सय ४४, कर्णाली प्रदेशमा एक सय २५ र सुदूपश्चिम प्रदेशमा दुई सय ४६ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।  

यसरी आत्महत्या गर्नेमध्ये थुप्रैले सार्वजनिक ठाउँ वा सबैको नजरमा पर्नेगरी दिएका छन्।

त्यस्ता दृश्य, घटनाको सम्पूर्ण विवरण सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट जति प्रचारप्रसार हुन्छ त्यति नै आत्महत्याको सोच बनाएर बसेकाले त्यसको सिको गर्ने मनोरोग विशेषज्ञ डा. बासुदेव कार्की बताउँछन्। 

पुष्पा र प्रेमले गरेको आत्मदाहको घटनालाई जिशेष गरेर सामाजिक सञ्जालमा भाइरल बनाएपछि श्रृंखलाबद्धरुपमा त्यही प्रवृत्तिका घटनाहरु घटेको उनको ठम्याइ छ।

‘आत्महत्याका घटनाहरु जब घट्छन्, हामी त्यसलाई अतिरन्जित तरिकाले बाहिर ल्याउँछौँ,’ उनले भने, ‘हामी कुनै पनि गाइडलाइनलाई पछ्याउँदैनौँ। घटनास्थलबाट जुन जुन कुराहरु बाहिर आउन मिल्दैन, ती पनि सार्वजनिक गर्र्छौँ। जसले गर्दा अर्को व्यक्तिलाई सोही तरिकाले आत्महत्या गर्न प्रोत्साहन मिल्छ।’

मनोरोग विशेषज्ञ डा. बासुदेव कार्की।

त्यस्तै, विश्व स्वास्थ्य संगठनको गाइडलाइनले आत्महत्याका घटनालाई वर्णन गर्नु हुँदैन भन्छ। तर नेपालमा यो गाइडलाइन कसैले पनि अनुसरण नगरेको क्लिनिकल मनोपरामर्शदाता सुभाषचन्द्र शर्मा बताउँछन्।

सबैभन्दा पहिला आत्महत्याको घटनाको दृश्यहरु वर्णन गर्दा त्यो असाध्यै छिटो फै भन्ने कुरा ख्याल गर्नु पर्ने उनको सुझाव छ। 

मनोपरामर्शदाता शर्मा भन्छन्, ‘एकै ठाउँमा जब ४/५ जना बच्चा राखिन्छ त्यहाँ एक जना बच्चा रुन थाल्यो भने अरु बच्चा पनि रुन थाल्छन्, वा एक जना बच्चा हाँस्न थाल्यो भने अर्को बच्चा पनि हाँस्न थाल्छ। यो भनेको मानवीय संवेदना हो, जो एक अर्कामा सजिलै र छिटो सर्छ। सरुवा रोग जस्तो कुनै भाइरस वा किटाणुबाट एक अर्कोमा सर्ने होइन कि भावनात्मक रुपमा जोडिएको संवेदना सर्छ।’ 

मान्छेले किन गर्छ आत्महत्या? 
एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा दैनिक २० जनाले आत्महत्या गर्छन् भने दुई सयभन्दा बढीले आत्महत्याको प्रयास गर्छन्। 

नेपाल प्रहरीको तथ्याङ्कअनुसार प्रत्येक वर्ष सरदर ४ हजार ६७४ आत्महत्याका मुद्दा दर्ता हुन्छन्। विश्वमा आत्महत्याको जोखिममा नेपाल सातौँ स्थानमा छ।

नेपालजस्ता विकासशील मुलुकहरुमा आत्महत्या गर्ने मुख्य कारण भनेको सामाजिक लाञ्छना, धार्मिक र आर्थिक कारण रहेको मनोरोग विशेषज्ञ डा. कार्कीले जानकारी दिए। 

आवेगमा आएर आत्महत्या गर्ने व्यक्तिको संख्या निकै रहेको उनले बताए। आत्महत्या गर्ने ९० प्रतिशतभन्दा बढी व्यक्ति डिप्रेसनबाट गुज्रिएको उनको भनाइ छ। आत्महत्या प्रत्यक्ष मानसिक स्वास्थ्यको अवस्थासँग जोडिएको हुन्छ।

‘कसैले आत्महत्या गर्छ भने त्यो कुरा उसको आनुवांशिक चरित्र, उसको परिवारको इतिहासमा अरुले पनि आत्महत्या गरेका थिए कि भन्ने कुरा उसको वंशाणुसँग जोडिएको हुन्छ,’ उनले भने।  

धेरै उदास हुने, मुडमा परिर्वतन आइहरने, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्ने जीवनप्रति रुचि नहुने, भविष्यप्रति कुनै आशा नराख्ने व्यक्ति डिप्रेसनको जोखिममा हुने र उनीरुले आत्महत्या गर्न सक्ने उनले बताए। 

‘आत्महत्या महामारीजस्तै फैलिरहेको छ। सामाजिक, संस्कृतिक, आर्थिक लगायत सबै कुराहरु निकै परिर्वतन भइरहेका छन्। हामी संयुक्त परिवारबाट एकल परिवारमा आइसकेका छौँ। संयुक्त परिवारमा बस्दा एक जनालाई दुःख पर्दा अर्कोलाई सहयोग हुन्छ तर एक्लै बस्दा मानिस सबैतिरबाट एक्लो भइरहेको छ। जसले मानिसलाई आत्महत्याको बाटोसम्म पुर्याइरहेको स्वास्थ्य विज्ञहरु बताउँछन्। 

दिमागमा सेरोटोनिक रसायनको कमीले पनि आत्महत्याको सोचलाई बढवा दिने विश्व स्वास्थ्य संगठनले जनाएको छ। 

मनोपरामर्शदाता शर्माका अनुसार डिप्रेसनमा पुगेका धेरैले आत्महत्याको सोच बनाएर बसिरहेका हुन्छन्। उनीहरुले त्यसलाई कार्यान्वयन गर्न सकिरहेका हुँदैनन्। तर यसरी आत्महत्याका घटनाहरु विभिन्न माध्यमबाट बाहिर आउँदा लुकेर बसेको सोचलाई प्रोत्साहन मिल्छ। 

विशेष मानिसहरुको भिडभाड हुने ठाउँ र नयाँ किसिमले सबैको नजरमा पर्ने गरी भएका आत्महत्याका घटनाका समाचारहरु बाहिर ल्याउँदा त्यही सोच बनाएर बसेका व्यक्तिलाई आत्महत्या गर्न प्रोत्साहन पुग्ने उनी बताउँछन्। 

क्लिनिकल मनोपरामर्शदाता सुभाषचन्द्र शर्मा।

‘आत्महत्याको अर्को कारण भनेको व्यक्तिलाई महत्वकांक्षी बनाउने समाज पनि हो,’ उनले भने, ‘समाजमा बनाएको नियममा बस्नु पर्ने हुन्छ। धेरै पढेको, आर्थिकरुपमा सम्पन्न, राम्रो जागिर गरेको हुनै पर्ने जस्ता सोचको विकास भएको छ। त्यो भएन भने हामी अपुरो हुन्छौं र डिप्रेसनको बाटोतिर धकेलिन्छौं र बिस्तारै आत्महत्याको बाटो तिर जान्छौं।’

सबैले एउटै कारणले आत्महत्या गर्छन् भन्ने नहुने डा. कार्कीले बताउँछन्। 

जैविक अवस्था, मनोसामाजिक अवस्था, आर्थिक अवस्थाले पनि आत्महत्यालाई निकै बढवा दिरहेको उनको बुझाइ छ। 

हामीले निम्त्याएको लहर
हामीले आत्महत्याका घटना विवरणहरु जति फैलाउछौँ, त्यसले उति नै आत्महत्यालाई प्रोत्साहन दिने भएकाले यसलाई एउटा लहर नै भन्न सकिने मनोपरामर्शदाता शर्माले बताए। 

उनी भन्छन्, ‘समाजमा त्यस्ता धेरै व्यक्तिहरु, आत्महत्याको सोच बनाएर बसिरहेका छन्। उम्लिने अवस्थामा रहेको पानीमा अलिकति आँच बढाइदियो भने त्यो उम्लिहाल्छ। यसरी उम्लिनै लागेर बसेका मानिसहरुलाई सानो आँच चाहिएको हुन्छ। यस्तै कुनै घटना बाहिर आयो भने त्यसलाई उमाल्दिने काम गर्छ।’  

‘आत्महत्यालाई वेभ बनाउनमा मिडियाले पनि ठूलो भूमिका खेल्छ,’ उनले भने। 

सामाजिक सञ्जाल र आमसञ्चारमाध्यमले आत्महत्या घटनास्थलको सबै दृश्यलाई विस्तृत रुपमा ल्यायो भने त्यो अझ बढी खतरनाक हुन्छ। 

‘हामीले मानिसले आत्मदाहको प्रयास गर्दै यसरी आगो लगायो भनेर भिडिओ, फोटो र हेडलाइन राख्यौँ भने कतिपयले म पनि यसरी नै भिडभाडमा गएर आगो लगायो भने सबैले चिन्दो रहेछ, चर्चित हुने रहेछु भनेर त्यसरी नै आत्मदाह गर्ने सोच बनाउन थाल्छन्,’ उनले भने।

आत्महत्याको विषय लेख्दा हरकोही निकै संवेदनशील हुनु पर्ने हुन्छ। सानो गल्तीले पनि त्यसले लहर नै निम्त्याउन सक्ने डा. कार्कीले बताए। 

उनी भन्छन्, ‘आत्महत्या गर्ने व्यक्तिको सबै चिनारी राख्नु हुँदैन। यो वेभ भनेको घटना बाहिर ल्याएलगत्तै बढ्छ। यदि हामीले विचार पुर्याएर आत्महत्या गर्ने व्यक्तिको पुरै चिनारी ल्याएनौँ भने त्यो वेभमा रुपान्तरण हुँदैन र धेरैको ज्यान जोगिन सक्छ।’ 

विश्व स्वास्थ्य संगठनले सन् २००८ मै आत्महत्याका समाचारहरु कसरी सम्प्रेषण गर्ने भनेर निर्देशिका बनाएको छ। डा. कार्कीले त्यसलाई नेपालीमा अनुवाद गरिरहेका छन्।

आमसञ्चारभन्दा सामाजिक सञ्जालले आत्महत्याका घटनालाई अतिरन्जित गरिहेको उनको अनुभव छ। 
 
मानसिक समस्या व्यक्तिगत कमजोरी होइन
मानिसहरु विभिन्न कारणले गर्दा डिप्रेसनमा जान्छन् र तिनले अन्तिम विकल्पका रुपमा आत्महत्या रोज्ने डा. कार्की बताउँछन्।

‘शरीरमा सानो समस्या आउनेबित्तिकै मान्छेहरु अस्पताल जाने गर्छन् तर दिक्क लाग्दा, कतै जान मनै नलाग्दा, उदासी बढ्दै जाँदा, एक्लै बस्न मन लाग्दा र हरेक कुरालाई नकारात्मक सोचिरहँदासम्म पनि हामी अस्पताल जान आवश्यक ठान्दैनौँ,’ डा. कार्की भन्छन्। 

मनोपरामर्शदाता शर्माको पनि विचार उस्तै छ। उनी भन्छन्, ‘समाजले डिप्रेसनलाई बहुलाको संज्ञा दिएकाले पनि मानिसहरु मानसिक समस्याको उपचार खोज्न मन गर्दैनन् र सबै खाले मानसिक समस्यालाई डिप्रेसन नै हो भनेर बुझ्दा पनि समस्या आइरहेको छ।’

डिप्रेसनले मानिसलाई बिस्तारै जीवनबाट कुनै आशा नै नराख्ने, जीवनमा केही गर्न सकिँदैन भन्ने सोच ल्याउने, आफ्नो कुनै महत्व नै छैन, बाँचेर सबैलाई दुःख दिएको छु र बाँच्नुभन्दा आफू मर्नु ठिक भन्ने सोचको विकास गर्ने उनी बताउँछन्।

 

आत्महत्या रोकथाम कसरी गर्ने?
डा. कार्की आत्महत्याको जोखिमलाई कम गर्न एउटा तत्कालीन र अर्को दीर्घकालीन रणनीति बनाउनुपर्ने बताउँछन्। तत्कालीन रणनीतिमा जोखिममा रहेका व्यक्तिहरुलाई आत्महत्याको सोच भनेको मानसिक समस्या होे र यसको समाधान आत्महत्या हुँदै होइन भन्ने बुझाउनु पर्छ। 

आम नागरिकले आत्महत्याको विषयमा विद्यमान जे बुझाइ छ, त्यो बुझाइ बदल्न निकै आवश्यक रहेको उनी बताउँछन्। 

‘जसरी मेरो तापक्रम हिजोसम्म ठिक थियो आज बढेर ज्वरो आयो भनेर हामी उपचार खोज्छौं र परिवारले पनि उपचार खोज्छ, त्यसरी नै आत्महत्याको सोचलाई पनि मनको स्वास्थ्य समस्या भनेर उपचार खोज्नु पर्छ,’ उनले भने। 

कसैले आत्महत्याको कुरा गरे त्यो कठिन अवस्थाको अभिव्यक्ति हो भनेर त्यसलाई राम्रोसँग सल्लाह दिएर समाधानको उपाय खोजिदिनुपर्छ।  

आत्महत्या गर्ने १० जनामध्ये ८ जनाले कोही न कोहीसँग यसबारे अभिव्यक्त गरेका हुन्छन्। त्यसैले समस्या सुन्नेले समाधानको बाटो खोज्न सघाउनुपर्ने उनको भनाइ छ।

‘दीर्घकालीन रणनीतिका रुपमा हरेकले विद्यालय र घरबाट मानसिक रुपमा कसरी स्वस्थ हुने लाइफ–स्किल सिकाउनु पर्यो, मानसिक स्वास्थ्य सेवाको पहुँच बढाउने, आत्महत्याका लागि प्रयोग गरिने सामग्री र स्थानलाई नियन्त्रणमा लिनु पर्यो र महत्वपूर्ण भनेको आमसञ्चारले आत्महत्याको विषयमा समाचार संकलन गर्दा अत्यन्तै जिम्मेवार हुने, आत्महत्या समस्याको समाधान होइन भनेर बुझाउन धेरै आवश्यक छ,’ उनले भने।

विभन्न अनुसन्धानले डिप्रेसनमा गएका व्यक्तिहरुमा आत्महत्याको सोच आएको छ भने नजिकको आत्मीय साथी वा आफ्न्तसँग समस्या सुनाउँदा उपचार र परार्मशभन्दा प्रभावकारी काम गर्ने देखाएको पनि उनले बताए।

आत्महत्या समस्याको समाधान होइन बरु समस्यासँग लडेर आवश्यक परेमा आर्थिक, सामाजिक र मानसिक रुपमा सहयोग संघसंस्था र सरकारसँग सहायता माग्नु पर्नेमा उनले जोड दिए।

नोट : आत्महत्या रोकथाम, आफ्नो मनमा भएका तनावको बारेमा कुरा गरेर मन हल्का बनाउन सहयोगी सञ्जाल पत्ता लगाउन, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको बारेमा थाहा पाउन पाटनस्थित मानसिक अस्पतालमा रहेको राष्ट्रिय हेल्पलाइन  ११६६ मा  २४ सै घण्टा निशुल्क फोन गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .