ad ad

समाज


चिकित्सकले आन्दोलन गर्दा जसले दुःख पाए...

चिकित्सकले आन्दोलन गर्दा जसले दुःख पाए...

तस्बिर : नेपालखबर


समृद्धा केसी
फागुन १, २०७९ सोमबार ७:३६, काठमाडौँ

‘डाक्टर सा'व थोरै ढिलो भएको त हो मलाई भित्र पस्न दिनुन। बुबालाई अलिक गाह्रो भइरहेको छ,’ बाराका नन्दलाल शाह यसरी आन्दोलित स्वास्थ्यकर्मीलाइ  पुकाररिहेका थिए।

यो दृश्य आइतबार वीर अस्पताल परिसरको हो। घडीले बिहानको ११ बजाउँदै थियो। वीर अस्पतालमा प्राङ्गणमा यत्रतत्र बिरामी र डाक्टरहरु छरिएर एकअर्कासँग गुनासो गर्दै थिए।

सेतो एप्रोन लगाएका डाक्टरले पाखुरामा कालो पट्टी बाँधेका थिए। उनीहरु अस्पतालको सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका थिए।

बाराबाट आएमा ३९ वर्षीय नन्दलाल साह वीर अस्पताल धाउन लागेको ६ महिना भयो। उनी यो अवधिभर १० पटक वीर अस्पताल आइसकेका थिए।

७९ वर्षीय बिरामी बुवा जगनाथ साहसहित शनिबार बाराबाट हिँडेका नन्दलाल आइतबार ११ बजे अस्पताल पुगेका थिए। बिहानै अस्पताल पुग्नु पर्ने थियो तर गाडीले ढिलो गरेपछि बल्लतल्ल ११ बजे आइपुगेका थिए।

नन्दलालले एउटा हातले बुबालाई समाएका थिए भने अर्को हातमा रिर्पोट थियो।


ढिलो अस्पताल पुगेका उनी अत्तालिँदै वीरको अ‍ेपीडीतिर जाँदै थिए। तर बन्द देखेपछि उनी अस्पतालकै प्राङ्गणमा रहेका डाक्टरलाई रिर्पोट देखाउन खोजिरहेका थिए।

तर डाक्टरले आज आन्दोलन छरिपोर्ट हेर्न मिल्दैन, ऊ त्यहाँ पढ्नु भन्दै उनलाई पन्छाउँछन्।। तर उनलाई सूचना पढ्नतिर भन्दा अस्पतालभित्र पस्न हतार थियो।

तर त्यहाँ पनि अस्पताल आज बन्द छ भन्दै सुरक्षागार्डले उनलाई रोक्छन्। तर उनी बुबालाई गाह्रो भएको बताउँदै डाक्टरले आज जाँचका  लागि बोलाएको तर्कसहित बहस गर्न थाल्छन्।

नन्दलालले अस्पताल ढिलो आएकाले भित्र पस्न नपाएको अनुमानसहित गाडीले ढिलो गरेर समयमा आउन नपाएको सफाइ पनि दिन्छन्।

‘बुवाको पिसाव थैलीमा पत्थरी र मासु पलाएको भन्दै अस्पताले अपरेशन गर्ने सल्लाहा दिएको थियो। तर ६ महिनासम्म पनि पालो पाएको छैन,’ उनले भने।


अस्पतालले २९ माघमा चेकअपका लागि पुनः बोलाएको उनले सुनाए। ११ बजे अस्पताल पुगेका नन्दलालले आधा घण्टाको भागदैडपछि मात्रै आन्दोन भइरहेको थाहा पाए।

‘बुबालाई गाह्रो पनि भएको छ, हिँड्न पनि सक्दैनन्, डाक्टरले आज आउनु भनेर बोलाएको थियो। आन्दोलन थाहा थिएन। रातभर गाडी चढेर त्यति दूरबाट आएको उपचार नै गर्दिएनन्’, उनले भने।

छेउमा बसेर डाक्टरको आन्दोलन हेरिरहेका उनले खासमा किन उपचार सेवा बन्द गरिएको भन्ने कुरा बुझेका थिएनन्।

आक्रोशित हुँदै उनले भने, ‘बिरामी बुवालाई लिएर आएको, गाडीमै  एकजनाको १२ सय टिकट पर्छ। आज उपचार नगरेर गएपछि पर्सि फेरि आउने। यहाँ बसे पनि लजमा हो। उपचारभन्दा बढी पैसा त आउने जाने र बस्नेमा हुन्छ।’

नन्दलाल जस्तै पिडामा परिरहेकी थिइन् सिन्धुपाल्चोककी टंककुमारी गिरी। लामो समयदेखि राति निन्द्रा नलाग्ने, सास फर्न गाह्रो  हुने र हात मुठी नपर्ने भएपछि आइताबर बिहान ८ बजे वीर अस्पताल पुगेकी थिइन्।


‘आज उपचार गरेर घर जानुपर्ने हो,’ उनले भनिन्, ‘अस्पतालमा आज उपचार नहुने रैछ। यहाँ आफन्त पनि  छैनन्, अब उपचार नगरेरै घर जाने त होला।’

हातमा पर्चा लिएर  सिन्धुपाल्चोका गणेश लामा वीर अस्पतालको प्राङ्गणबहिर बसेर नेपाल प्रहरीसँग जोड–जोडले कराइहेका थिए। 

उनी भन्दै थिए, ‘हिँड्ने एउटा, मार खाने एउटा दु:ख पाउने चाहिँ हामी। अस्पतालले बिरामी फर्काउन मिल्छ? उपचार नपाएर कोहJ बिरामी मर्यो भने त्यसको जिम्मा सरकारले लग्छ कि अस्पताले।’

जिल्ला अस्पतालले मधुमेह र उच्च रक्तचापको समस्या देखाएपछि वीर अस्पताल रिफर गरिएका उनी बिहानै ९ बजे अस्पताल पुगेका थिए। तर उपचार पाएका थिएनन्।

उनी भन्छन्, ‘यो हाम्रो पुरानो अस्पताल हो, जिल्लाभरका मान्छे औषधि गराउन आउँछन यसरी बन्द गरेर हुन्छ? गल्ती दुवैको होला। डाक्टर र सरकारले मिलाउनु पर्ने हो, राष्ट्रपति जनतनाको अभिभावक हो। डाक्टरले बिरामी बचाउनु पर्ने हो। तर हामी बिरामीले खोइ उपचार पाएको?’

बिरामी उपचार नपाएर रुदै कराउँदै बस्दा पनि डाक्टर हात बाँधेर बसेको भन्दै उनले गुनासो गरे।

बन्द गरे सेवा
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका समयमा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिधलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रोडमा निस्कीएको भन्दै उनीहरुमाथि प्रहरीले कुटपिट गरेको थियो।

स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटनालाई लिएर नेपाल चिकित्सक संघले शनिबार नै विज्ञप्ति जारी गरेको थियो।

विज्ञप्तिमा आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने जानकारी गराएको थियो।


यता वीर अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले सेवा ठप्प पार्ने घोषण गरेका थिए।

त्यही अनुसार नै आइतबार वीर लगायत देशभरका केहि अस्प्तालले सेवा बन्द गरेका थिए। तरसरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति भएपछि वीर अस्पतालले साढे १ बजे सेवा सुचारु गरेको थियो।

तर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का आवासीय चिकित्सकहरुको संस्था रेजिडेन्टर एसोसिएसन अफ न्याम्सले भने अझै आन्दोलन नछाडेको बताएको छ।

आन्दोललाई नेतृत्व गरेका एसोसिएसनका अध्यक्ष डा. शेषराज घिमिरेले भने सेवा बन्द गर्ने कार्यक्रम स्थगन भएको र आन्दोलन भने जारी नै रहेको बताए।

उनले ओपीडी सेवाहरु मात्र सञ्चालना ल्याए पनि  आन्दोलन भने जारी नै रहेको जानकारी दिए।

‘उहाँहरुले एक हप्ताको समय माग्नु भएको छ। हामीले चाहेका सम्पूर्ण कुराहरु लिखितमा दिएका छैनौं’ उनले भने, ‘तर त्यसलाई सम्बोधन हुने कुरा त्यो बुँदामा छन्। त्यही आधारमा अब छलफल हुने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .